गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।

नेकपा कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सरकार ज्येष्ठ नागरिकप्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र ज्येष्ठ नागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेशसभा सदस्य प्रभा कोइरालाले आफ्नो व्यक्तिगततर्पmबाट रु ५० हजार १५५ अक्षयकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS