काठमाडौं । एउटा मोटरसाइकल किनेको मान्छेले केही दिन मोटरसाइकलमा यात्रा गरिसकेपछि कार चढ्ने अभिलाषा राख्छ । उसले व्यक्त गरोस् नगरोस् या आफ्नो क्षमतालाई हेरेर मनमा खेलेको कुरालाई भुलाउने प्रयास गरे पनि उसले आफूले मोटरसाइकलमा चढ्दा पाएको सुखलाई कार चढ्ने अभिलाषाका कारण मारिरहेको हुन्छ । जसले गर्दा मान्छे जहिलै दुःखी हुने गर्छ ।

हामी सामान्य मोबाइल चलाइरहँदा स्क्रिन टच मोबाइल बोक्ने इच्छा राख्छौं । स्क्रिन टच मोबाइल बोकेपछि हामीले आइफोन या त्यस्तै थप विलासी सामानको अभिलाषा राख्छौं । त्यो पूरा भयो भने हामीले फेरि त्योभन्दा ठूलो कुराको खोजी गर्छाैं र पूरा भएन भने त्यसैमा चिन्तित भएर बस्छौं । तर यसरी सधैं दुःखको शृङ्खलालाई कहिलेसम्म पछ्याइरहने ?

हामीले कहिले आफ्नै कारणले दुःख पाउँछौं भने कहिले अन्जात तरिकाले पनि दुःख पाउने गर्छाैं । हामी हिँड्दै गर्दा बाटोमा दुर्घटनामा पर्छाैं भने त्यो हाम्रो कारणले हुने गर्छ । तर ती सबैलाई पूर्वीय दर्शनले तीन किसिमको दुःखको रुपमा वर्गीकरण गरेको छ । पूर्वीय दर्शनको महत्वपूर्ण अंग मानिएको सांख्यले मान्छेको जीवनमा आउने त्रिविध दुःखको परिकल्पना गरेको छ । त्यही तीन किसिमको दुःखको अत्यन्ताभाव अर्थात् निवारण नै प्राणीमात्रको मुख्य उद्देश्य हो भन्ने सो शास्त्रको मान्यता छ ।

सांख्यको मतानुसार तीन किसिमको दुःख

१.आधिभौतिक

२.आधिदैविक

३. आध्यात्मिक

आधिभौतिक दुःख

हामी बाटोमा हिँड्दै गर्दा कतै केही दुर्घटना भयो, हामीलाई कतै वन्यजन्तु लगायतले आक्रमण गरेर दुःख उत्पन्न गराइरहेको हुन सक्छ । यस्तै वाह्य कारणले हाम्रो शरीरमा हुने दुःख आधिभौतिक दुःख हो । त्यस्ता वाह्य कारणले हामीमा एउटा नयाँ दुःखको सिर्जना गर्छ । यो मात्रै आधिभौतिक दुःख होइन, हाम्रो शरीरले भोग्ने सबै किसिमका दुःखहरु आधिभौतिक दुःख अन्तर्गत् गर्छ ।

आधिदैविक दुःख

कहिले अतिवृष्टि हुन्छ त कहिले अनावृष्टि हुन्छ । कहिले असिनाले सबै बालीनाली सखाप कनाइदिन्छ त कहिले चट्याङ परेर मान्छेको जीवन नै हरण भइरहेको हुन सक्छ । यी कुनै पनि विपत्तिहरु हाम्रो वशमा छैन र यसलाई हामीले दैवीप्रकोपको रुपमा लिन्छौं । यसैबाट उत्पन्न दुःखलाई नै हामीले आधिदैविक दुःखको रुपमा लिने गर्छाैं ।

आध्यात्मिक दुःख

जुन दुःख शरीरभित्र नदेखिने गरी उत्पन्न हुन्छ, त्यसलाई आध्यात्मिक दुःखको रुपमा मान्ने गरिन्छ । ईष्र्या, द्वेष, लोभ, मोह, क्लेश, रोगादि दुःख हाम्रो आध्यात्मिक दुःखभित्र पर्छ । यसको समाधानको लागि हामीसँग चिन्तन र दर्शनको साधनाको विकल्प छैन ।

हामी हिजोआज आधुनिक दुनियाँमा रमाउने गरेका छौं । विज्ञानले हाम्रो जीवनलाई सहज बनाएको छ । हामी सारा विश्वलाई एउटा आँगनको रूपमा घरमै बसीबसी देख्न सक्छौं । तर त्यसले हामीलाई खुसी दिन सक्छ त ?

यस्ता प्रविधिले हामीलाई खुसी दिन सक्छ । तर यस्ता खुसीहरु क्षणिक हुन्छन् । जस्तो हामीलाई एउटा ठूलो मोबाइल बोक्ने इच्छा जारी हुन्छ । त्यो इच्छा पूरा नभएसम्म मनमा दुःख उत्पन्न हुन्छ । तर जब हामीले त्योभन्दा महँगो मोबाइल देख्दैनौं त्यतिबेलासम्म मात्रै हाम्रो खुसी बाँकी रहन्छ । अर्काे त्योभन्दा राम्रो मोबाइल देख्नेबित्तिकै हामीमा आशक्ति सुरु भइहाल्छ । त्यसैले हामीले क्षणिक सुख नभई दीर्घकालीन सुखको खोजी गर्नुपर्छ भन्ने मान्यता हो । त्यसको एउटै बाटो भनेको मुक्तिको बाटो हो ।

के यी तीनै दुःखलाई पुरुषार्थ गर्न सकिन्छ ?

समयको हिसाबले दुःख तीन किसिमको हुन्छ– भूत, वर्तमान र अनागत (भविष्य) । केवल अनागत (भविष्य)को दुःखलाई मात्रै पुरुषार्थ(निवारण) गर्न सकिन्छ । किनकि भूत व्यतित भइसक्यो र वर्तमान केही समयमा नै व्यतित हुनेवाला छ । त्यसैले यी दुवै स्वयं नाश हुने विषयलाई भुलेर केवल अनागत(भविष्य)को दुःखलाई मात्रै नाश गर्न सकिन्छ ।

सांख्य दर्शनले कारणको नाश हुनुले कार्यको समेत नाश हुने भन्दै दुःखको निवारणभन्दा पनि दुःख के कारणले उत्पन्न भएको छ ? त्यसको निवारणको उपाय सोच्नुपर्ने बताउँछन् । यसै सन्दर्भमा महर्षि पतञ्जलिले समेत भनेका छन्– हेयं दुःखमनागतम् । अर्थात् दुःखको जरैदेखि निवारण गर्नको लागि हामीले अनावश्यक आशक्तिलाई दूर गर्नुपर्छ । आफूसँग नभएको विषयलाई सोचेर अनावश्यक चिन्ता लिने होइन कि आशक्ति त्यागेर हिँड्नु आवश्यक रहेको बताइन्छ ।

दृश्यपदार्थ दुःखको दीर्घकालीन औषधि होइन

सांख्यले दृश्य पदार्थ अर्थात् हामीले देखेको विषयलाई अनागत(भविष्य)को दुःखको दीर्घकालीन औषधि मान्दैन । उदाहरणको लागि हामी आगो या कपडाको सहयोगमा शितलाई भगाउने गर्छाैं । हामीलाई न्यानो महसुस हुन्छ । तर आगो या कपडाबाट टाढा भएपछि फेरि चिसो सुरु हुन्छ । त्यसैले यी सबै दुःखका क्षणिक औषधिहरु हुन् ।

दर्शनले यही दीर्घकालीन सुखलाई मुक्तिको रुपमा मान्ने गर्छ । प्रत्येक बुद्धिमान मान्छेले दृष्ट पदार्थलाई छाडेर मोक्षको लागि प्रयत्न गर्नुपर्छ, यही नै मान्छेको उद्देश्य हो । सुख क्षणिक छ त्यसैले मोक्षमार्फत् दीर्घकालीन सुख पाउन सकिन्छ भन्ने मान्यता हो ।

सांख्य दर्शनले नै दुःख जीवको स्वभाविक गुण होइन भन्छ । किनकि जुन गुण स्वभावबाटै हुन्छ, त्यो गुणीबाट अलग हुन सक्दैन । दुःख जीवको स्वभाविक गुण होइन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS