नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले आफूले गुटबन्दी नगर्ने बताएका छन् । उनले विगतमा आफूले पार्टी एकताको लागि भूमिका खेल्दा अनावश्यक आरोप लगाइएको पनि गुनासो गरे ।
शनिबार राजधानीको नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता गजुरेलले आफू ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको भएपनि सफल हुन नसकेको बताए ।
‘ठूलो जोखिम लिएर एकताको पक्षमा लागेको थिएँ। तर सफल हुन सकिएन’, फेरि पनि पार्टी एकतामै जोड दिँदै उनले भने, ‘पार्टी एकता भएन भने त्यसले अहिलेसम्मका उपलब्धि गुम्छ । हामीले पार्टीलाई एक राख्न सकेनौं। देश विदेश तथा नेताहरू कै कारणले पनि यो अवस्था आइपुग्यो।’

उनले आफू ओली समूहतिर कहिल्यै नगएको पनि दावी गरे । उनले भने, ‘म कतै गएको पनि छैन आएको पनि छैन । हिजो जहाँ थिए त्यहीँ छु। समान दुरीमा बसेर मैले एकता जोगाउन लागेँ। दुबै अध्यक्षको आलोचना र कमिकमजोरीलाई मैले केलाउने काम गरेको हुँ।’

पार्टी विभाजन हुन नहुनेमा जोड दिँदै गजुरेलले फेरि पनि एक पटक प्रचण्डलाई भेटेर मिल्न दवावका लागि गम्भीर छलफल गर्ने बताए । ‘अस्ति प्रचण्डले फोन गरेर भन्नुभयो- मैले तपाईँलाई त्यति कै आशंका गरेको रहेछु। मैले एक अर्को अध्यक्षलाई भेट्दा मैले प्रष्ट रूपमा सबैलाई उनीहरुको कमजोरीका बारेमा भनेको थिएँ। म अब पनि गुटबन्दी त गर्दिनँ। अब म एकपटक प्रचण्डससँग गम्भीर रूपमा कुराकानी गर्ने तयारीमा छ। आज भेट्न जाँदै पनि छु। उहाँसँग आज गम्भीर रुपमा मैले कुरो गर्दैछु।’

बाबुराम भट्टराईको बहिर्गमनपछि आफूले पार्टीमा कुनै गुटबन्दी नगरेको उनको भनाइ थियो । गजुरेलले प्रचण्डले आफूलाई सभामुखका लागि अफर गरेको स्मरण गर्दै तर आफूलाई कुनै पद नचाहिएको बताए ।
तर पार्टी एकतालाई जोड दिँदै पहल गर्दा आफूमाथि बालुवाटारमा मन्त्री खान गएको आरोप लगाइएको भन्दै असन्तुष्टि पोखे ।

‘म कहिल्यै गुटबन्दीमा लागिनँ, मैले पार्टीमा पनि अहिले कुरो उठाइ रहेको छु’, उनको गुनासो थियो, ‘बिडम्बना के भयो भने यो बिचमा बालुवाटारमा मन्त्री खान गयो भनेर प्रचार गरियो। मैले दुवै अध्यक्षको आलोचना र विरोध गर्दै आएको हुँ। प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि पनि विरोध गरेको हुँ । ओलीलाई दुवै पदबाट हटाउने विषयमा पनि विरोध गरेको हुँ। स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा पनि केपी शर्मा ओलीको विरोध गरेकै हुँ।’

नेकपा विभाजित भएपछि गजुरेल प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS