नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगबहादुरको बाटोमा हिँडेको आरोप लगाएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक ‘श्री ३ महाराजधिराज जंगबहादुर’को बाटोमा हिँडेको आरोप लगाएका हुन् । उनले भने, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनीहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखँे मैले । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं । केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नु भयो । त्यहीँबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो ।’ पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पु¥याएको पनि अध्यक्ष प्रचण्डले बताए ।

यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उनले बताए । संविधानले दिदगै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत बताए । उनले भने, ‘हाम्रो पार्टीभित्र विवाद चलेको पक्कैपनि हो । अन्तरसंघर्ष चलेको हो । त्यहाँ सही र गलतकोबीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले गुटवादी तरिकाले पार्टी विधि पद्धति भन्दा बाहिर गएर चल्नेका बीचको लडाइँ परेकै हो । तर त्यो पार्टी भित्रको संघर्ष थियो । पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलंकित हुनुभयो । उहाँले कलंकको टीका लगाउनुभयो । हामी फेरि एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो ।’

प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि प्रचण्डले बताए । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरि एकपटक लडने मुद्दा दिएकोले अव हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले दावी गरे ।

कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको विचारमा गम्भिर समस्या देखापर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताए । रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा वैचारिक संस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताए ।

२०४७ साल पछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताए । संविधान सभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको बताए । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको बताए ।

उनले प्रतिनिधि सभा नमरेको समेत तर्क गरे । संविधानले प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताए । प्रधानमन्त्री ओलीले गरेको प्रहार संविधान माथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता र समावेसी लोकतन्त्रको हक अधिकार माथिको भएको पनि प्रचण्डले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS