शाक्य भन्छन्-समस्या पर्दा प्राविधिक लाइन काट्न डराए

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र मागअनुसार आपूर्ति गर्न बिजुलीको परिमाणअनुसार समस्या नरहेको बताउने गरेको थियो । तर, अहिले भने प्राधिकरण मागअनुसार आपूर्ति गर्न नसक्दा विगतमा पनि कुनै-कुनै क्षेत्रमा ‘फोर्स लोडसेडिङ’ गर्ने गरिएको दावी गर्दै यसलाई समान्य परिघटना भएको बताउन थालेको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सोमबार साँझ १४५७ मेगावाट बिजुलीको माग प्रणालीमा आयो । त्यहीबेला प्राविधिक कारणले मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको एउटा युनिट बन्द भइदियो, जसले प्रणालीमा ३० मेगावाट बिजुली घट्यो । माग उच्च रहेकै बेला आपूर्ति पनि कम भएपछि काठमाडौंमा भारतबाट आउने बिजुली ल्याइने खम्ति-लामोसाँघु प्रसारणलाइन ट्रिप भयो । लगत्तै ढल्केबर जनकपुर लाइन पनि प्रणालीबाट बाहिरियो । त्यही कारण उपत्यकाका अधिकांश क्षेत्रमा एकैपटक विद्युत आपूर्ति रोकियो । सोमबार प्रणालीमा मागअनुसार विद्युत आपूर्ति नभएकै कारण लाइन काट्नुपरेको शाक्यले अनलाइनखबरसँग बताए ।

प्राधिकरणका अनुसार कतिपय क्षेत्रमा स्थानीय ट्रान्सर्फमर र लाइनले माग नधान्दा पनि लाइन काटिने गरेको छ । तर सोमबारको घटनाले प्राणालीमा माग बढेको बेला कुनै पनि बेला प्राधिकरणले ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था आएको देखाएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पनि त्यसलाई सहजै स्वीकार गर्छन् । विगतमा लोड धान्न नसक्दा विभिन्न क्षेत्रमा पालैपालो लाइन काट्ने गरिएको दाबी गर्दै उनले भने, ‘विगतका वर्षहरुमा पनि आपूर्तिभन्दा बढी माग हुँदा एउटा क्षेत्रमा १०/२० मिनेट काटेर अन्य क्षेत्रमा बिजुली दिइन्थ्यो । यसपटक प्राविधिक साथीहरु आलोचनाको डरले लाइन काट्न हिच्किचाउनुभयो ।’

उनका अनुसार गत वर्षको तुलनामा विद्युतको माग बढेको छ । गतवर्ष पुस १३ गते १४०७ मेगावाटको पिक डिमान्ड रहेको थियो । सोमबार १४५७ मेगावाट पुगेको छ । माग बढ्दा मंगलबार साँझ पनि पाटन र बानेश्वरमा लाइन काट्नु परेको भन्दै उनले बेला-बेला फोर्स लोडसेडिङ हुने गरेको संकेत गरे ।

उनका अनुसार बानेश्वर क्षेत्रमा धेरै माग आउँदा अब सबस्कोटेसन लोड आधा-आधा भाग लाग्ने गरी ‘बससेयर’ गर्ने तयारी छ । त्यसो भएमा माग धान्न नसक्ने अवस्था आए एउटा क्षेत्रको लाइन काटिनेछ । त्यसबाहेक एउटा फिडरमा समस्या आउँदा अर्को सबस्टेसनबाट पनि लाइन लिन सकिने गरी प्रणाली व्यवस्थापन गर्ने शाक्यले बताए ।

उनका अनुसार अहिले काठमाडौं उपत्यकामा ४०० मेगावाटको हाराहारीमा माग छ ।

विद्युत भारप्रेषण केन्द्रको तथ्यांक भने शाक्यको भन्दा फरक छ । भारप्रेषण केन्द्रका अनुसार गत वर्ष यही बेला ४२४ मेगावाटसम्म बिजुलीको माग पुग्थ्यो भने अहिले ३७४ मेगावाटको हाराहारीमा मात्रै काठमाडौंमा पिक (उच्च) माग छ । यो वर्ष कोरोना महामारीले धेरै ठूला होटल र रात्री व्यवसायहरु नखुलेकाले उपत्यकामा गतवर्षभन्दा कम विद्युत माग रहेको भएको केन्द्रका एक अधिकारी बताउँछन् ।

भारप्रेषण केन्द्रका अनुसार गत वर्ष पुस १३ मा देशभर १३२६ मेगावाटको पिक लोड थियो, यो वर्ष बढेर १४३४ मेगावाट पुगेको छ । त्यसमध्ये धेरै बिजुली खपत काठमाडौं उपत्यकामा हुन्छ ।

काठमाडौंमा माग घटेका बेला प्रणालीमा समस्या आउनु र माग धान्न नसक्ने परिस्थिति बन्नुलाई प्राधिकरणकै अधिकारीहरुले नै व्यवस्थापकीय कमजोरी भन्ने गरेका छन् । उनीहरुका अनुसार पछिल्ला दिनमा चुहावट पनि बढेको छ, जसले दिनहुँ फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको छ ।

गत वर्ष र यसवर्षको बिजुलीको माग र आपूर्तिको तुलना

 

तपाईको प्रतिक्रिया

RELATED POSTS