काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा आइबरसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले अंक तालिकामा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

मार्थिन ब्रेथवेइटेले पेनाल्टी गुमाउनु अनि एक गोलले मान्यता नपाएपछि बार्सिलोनाले बइबरसँग घरेलु मैदानमै १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । आइबरले ला लिगामा पहिलो पटक क्याम्प नोउमा अंक जोड्न सफल भएको हो ।

 

घरेलु मैदानमा भएको खेलमा आठौं मिनेटमै बार्सिलोनाले अग्रता लिने अवसर पाएको थियो । तर मार्टिन ब्रेथवेइटेको पेनाल्टी प्रहार पोष्टभन्दा बाहिर गयो । यस्तै २५औं मिनेटमा ब्रेथवेइटेले नै गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । पहलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन ।

५७औं मिनेटमा किकेले गोल गर्दै आइबरलाई पहिले अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमपछि बार्सिलोनाका ओसमान डेम्बेलेले जुनियर फिर्पोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल नहुँदा बार्सिलोना अंक बाँड्न बाध्य भयो । १५ खेलबाट २५ अंक जोडेको बार्सिलोना छैटौं स्थानमा छ । बार्सिलोना शीर्ष स्थानमा रहेको एट्लेटिको र रियल मड्रिडभन्दा अझै ७ अंकले पछि छ ।

आइबर १६ खेलबाट १६ अंकसहित १५औं स्थानमा छ ।

त्यसअघि सेभियाले भियारियाललाई २-० ले पराजित गर्दै चौथो स्थानमा उक्लँदा बार्सिलोना एक स्थान तल झरेको हो ।

सेभियालाई घरेलु मैदानमा जित दिलाउन लुकास ओकमपास र युसु एन नेसय्रीले १-१ गोल गरे । सेभिया १४ खेलबाट २६ अंकसहित चौथो स्थानमा उक्लेको छ । १६ खेलबाट २६ अंक नै रहेको भियारियल पाँचौ स्थानमा छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS