काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रचण्ड नेपाल समूहलाई सयुक्त आन्दोलनको एजेण्डा प्रस्ट्याउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहद्वारा आयोजित राजनीतिक पार्टीहरूसँगको अन्तर्क्रियामा गजुरेलले एकताबद्ध भएर जाने विषयमा आन्दोलन के का लागि भन्ने कुरा प्रस्ट पार्न आग्रह गरे ।

‘ओलीले चालेको कदम अदालतले उल्ट्यायो भने तपाईंहरु के गर्नुहुन्छ ? संसद पुनस्स्थापना भयो भने आन्दोलन गर्नुहुन्छ? तपाईंहरुको आन्दोलन केका लागि ?,’ उनले सोधे ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिलेको व्यवस्थामा पनि त्रुटि रहेको पनि गजुरेलले बताए । ‘आज ओलीलाई गाली गरिरहेका छौं । यसको ओली जिम्मेवार पनि हुन् । तर, यो ओलीले मात्रै गर्दा भएको हो ? ओली मात्रै दोषी होइनन् । व्यवस्थामा पनि त्रुटि छ । ओलीलाई दोषीको भार त दिनुपर्छ । तर,हामीले हाम्रा दृष्टिकोण फराकिलो पारौं,’ उनले भने ।

उनले चुनाव र संसद् पुनःस्थापनाबाहेक अर्को विकल्प पनि रहेको र त्यसतिर ध्यान दिन आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटकालको घोषणा गर्ने आशंका व्यक्त गरेका छन् । उनले संकटकाल लागे ठूलो प्रतिगमनको सामना गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS