दुख, पीडा, तनाव, उदासी मानसिक विकार हुन्, जसले हामीले कहिल्यै राम्रो गर्दैन । यस्ता कुराले मानसिक रुपमा हामीलाई कमजोर बनाउँछ । जब हामी मानसिक रुपमै कमजोर हुन्छौं, शारीरिक रुपमा पनि हामी तन्दुरुस्त र सक्षम हुन सक्दैनौ ।

हरेक समस्याको लागि अरुलाई दोष दिनभन्दा पहिले अन्र्तमनको ऐनामा आफूलाई हेरेर आफ्नो कमजोरीहरु पत्ता लगाउने कोसिस गर्नु पर्छ । यदि हामीले आफ्नो मनलाई नियन्त्रण गर्न सिक्यौं भने मात्रै आफूभित्र परिवर्तन भएको महसुस गर्न सक्छौं ।

आजकाल सामान्य बोलचालीमा पनि धेरै मानिसहरुको मुखबाट ‘टेन्सन’, ‘स्ट्रेस’ र ‘डिप्रेसन’ जस्ता नकरात्मक शब्द बारम्बार सुनिन्छ । प्रश्न उठ्न सक्छ हाम्रो जिन्दगीमा साँच्चै यति धेरै तनाव छ त ?

साँच्चै नै यस्ता कुनै समस्या छन् भने पनि के यसबाट छुटकारा पाउन सकिँदैन ?

हामी सबैले सामान्य जिन्दगीलाई किन यति धेरै जटिल किन बनाइरहेका छौं भनेर एकपटक शान्त दिमागले सोच्नुपर्ने बेला आएको छ । मनमा शान्ती पाउन सबैभन्दा सजिलो छ, यसको लागि नकरात्मक विचारबाट टाढा रहेमा मात्रै पुग्छ ।

हामीले आफ्नो डिक्सनेरीबाट ‘स्ट्रेस’ शब्दलाई सँधैको लागि बाहिर निकाल्न पर्छ किनभने आजकाल आफूभन्दा ठूलाको कुरा सुनेर घरमा साना बच्चाहरु पनि ‘म धेरै तनावमा छु’ भन्न थालेका छन् ।

बिनाकारण यस्ता नकरात्मक कुराहरु बारम्बार दोहोर्याउने हो भने यसले अन्तिममा तनाव निम्त्याउन सक्छ ।

पूर्विय सँस्कृतिमा मन्त्रको शक्तिलाई धेरै महत्वपूर्ण मानिन्छ । मन्त्र सकरात्मक उर्जाले भरिपूर्ण हुन्छ । यसलाई बारम्बार उच्चारण गरेमा सुन्ने मानिसहरुले पनि राम्रो महसुस गर्छन् ।

बारम्बार मन्त्र उच्चारण गर्नाले मानिसहरुको मनोबल बढ्छ । जसरी मन्त्रले हाम्रो जीवनमा राम्रो असर गर्छ त्यसरी नै तनाव र डिप्रेसनजस्ता नकरात्मक शब्द पनि बारम्बार दोहोर्याएमा पुरै वातावरणमा नकरात्मक उर्जा सञ्चार हुन्छ ।

हामी किन क्रोधित हुन्छौं ? हामी सबैले जीवनमा कुनै न कुनै यस्तो परिस्थितीको सामना गरेको हुन्छौं जतिखेर इच्छाहरु धेरै हुन्छन् तर केहि पनि पुरा हुँदैन ।

अर्को स्थिती यस्तो पनि हुन्छ जब हाम्रो अगाडि नचाहेको स्थिती र नचाहेको मानिसहरु आउँछन् हामीलाई त्यत्तिकै रिस उठ्छ ।

एकपटक अरु कुराहरु बिर्सेर आफ्नो बच्चाको बारेमा सोच्नुहोस् । के उनीहरुले तपाईको हरेक कुरा मान्छन् ? मान्दैनन भने सोच्नुहोस्, जब हाम्रो बच्चाहरु त हामीले चाहे अनुसार चल्दैनन् भने अरु नातेदार, साथी वा सहकर्मीसँग किन यस्तो आशा गर्ने ?

अलगअलग परिवारबाट आउने मानिसहरुको संस्कार र विचारमा कुनै समानता हुँदैन । यसै फरकको कारणले पनि अरुसँग तालमेल मिलाउन धेरै मुस्किल हुन्छ ।

व्यक्तिको राम्रो वा नराम्रो संस्कारले उनीहरुको हरेक निर्णयमा प्रभावित बनाउँछ । परिवारमा पतिपत्नी बीचमा पनि यसै कारणले वैचारिक मतभेद हुन सक्छ । यसै कारणले अफिसमा सँगै काम गर्ने मानिसहरु बीच आपसी तालमेल हुँदैन ।

सबैको स्वभाव एकजस्तो हुँदैन भन्ने थाहा हुँदाहुँदैससाना कुराको लागि आपसमा विवाद बढाएर आफ्नो महत्वपूर्ण समय, उर्जा र मनको शान्ती किन नष्ट गर्ने ?

आजकाल धेरै मानिस आफै परिवर्तन हुनको सट्टा अरुको व्यवहारलाई नियत्रण गर्ने कोसिस गर्छन् । यसले उक्त व्यक्तिमा कुनै बदलाव आउँदैन तर नियन्त्रण गर्न खोज्ने मानिसको मन भने तनावग्रस्त हुन्छ र विस्तारै डिप्रेशनको शिकार हुन सक्छन् ।

यस्ता मानिसहरुलाई अरुको बारेमा रातदिन सोचेर आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई कति धेरै नोक्सान गरिरहेका छु भन्ने अलिकति पनि हेक्का हुँदैन ।

त्यसैले अरुको कारण तनावग्रस्त र क्रोधित हुन हुँदैन भन्ने कुरा सबैले सम्झिनुपर्छ । हामीले अरुबाट धेरै आशा पनि राख्नुुहुन्न । किनभने कसैले हाम्रो अपेक्षाअनुसार व्यवहार गरेन भने बिनाकारण हाम्रो मनमा रिस र तनाव पैदा हुन्छ ।

घर, कार्यालय जहाँ भए पनि यदि कसैले नराम्रो व्यवहार गरेर तपाईको मनोबल तोड्ने कोसिस गर्छ र भने उ सँग बहस गरेर आफ्नो उर्जा नष्ट नगर्नुहोस् । उनीहरुसँग विवाद गर्दा उनीहरुको जस्तो नकरात्मकता तपाईमा पनि देखिन्छ ।

याद गर्नुभएको छ, जब कहिलेकाँहि रिसको झोँकमा कसैलाई गाली गर्नुहुन्छ तर, पनि यसले उसलाई केहि पनि छुँदैन । हामी कसैलाई एक मिनेट गाली गर्छौं तर, यसले उल्टै दिनभर हाम्रो मन अशान्त हुन्छ र किन यस्तो भइरहेको छ भनेर हामी सोच्न सक्दैनौं ।

वास्तवमा हामीले गरेको हरेक राम्रो र नराम्रो काम हामीसँगै आउँछ । यसको विपरित यदि कसैलाई प्रेम र सम्मान गर्छौं भने स्वतः हाम्रो मन खुसी रहन्छ र अरुको आर्शिवाद पनि मिल्छ ।

हामी सबै एकअर्कासँग राम्रो वा नराम्रो व्यवहारको माध्यमले जोडिएका हुन्छौं । यदि तपाई दिनभर खुसी रहन चाहनुहुन्छ भने अरुलाई सम्मान र प्रेम गर्नुहोस् ।

हामीलाई खुसी पाउन अरु केहि गर्ने जरुरी नै पर्दैन, राम्रो काम नै हाम्रो खुसीको आधार हो । यदि तपाईले आफ्नो अन्तर्मनलाई राम्रोसँग चिहाउनुभयो भने तनाव मनको भित्र नै रहेको पाउनुहुन्छ ।

यदि तपाई वास्तवमा आफ्नो वरिपरिका मानिसहरुको राम्रो चाहनुहुन्छ भने आफ्नो मनको प्रतिक्रियामा ध्यान दिनुपर्छ । अरुको कुनै पनि व्यवहारमा तपाईको प्रतिक्रिया गलत हुन हुँदैन ।

सन्तुलित व्यवहारले वरिपरिका तनावमा बाँचिरहेका मानिसहरुलाई पनि खुसी हुने कला सिकाउनु नै सुखमय जीवनको आधार हो । यो पारिवारिक मात्रै हैन व्यावसायीक सम्बन्धमा पनि लागु हुन्छ । माहौललाई सकरात्मक बनाउन सबैले नीजि स्तरमा प्रयास गर्नुपर्छ ।

सहि रुपमा मनमा परिवर्तन ल्याउन कम्तिमा पनि पन्ध्र बीस दिनसम्म योजनाबद्ध ढंगले अभ्यास गर्नु जरुरी पर्छ ।

एक डायरीमा आफूलाई आवश्यक कार्य र सन्तुलित व्यवहारको एक चेकलिस्ट बनाउनुहोस् र राती सुत्न अगाडि त्यसै चेकलिस्टको माध्यमले आफ्नो हरेक राम्रो नराम्रो व्यवहारलाई इमान्दारीपूर्वक मुल्याङ्कन गर्नुहोस् ।

साथै हरेक दिन बिहान र राती सुत्नभन्दा पहिले ‘म एक स्वस्थ र प्रसन्न व्यक्ति हुँ’ ‘मेरो शरीरको प्रत्येक कोष सकरात्मक उर्जाले भरिएको छ’ जस्ता वाक्य मन्त्रको रुपमा मनमनै दोहोर्याउनुहोस ।

यस अभ्यासले तपाईको मनमा नयाँ उत्साहको सञ्चार हुन्छ र मु्स्किल हालतमा पनि सँधै खुसी रहन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS