प्रचण्ड-नेपाल समूहलाई जनता सामु माफी माग्न नागरिक अगुवाहरुको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको ‘बा’ प्रवृत्तिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् । उनले भने-‘त्यो प्रवृत्तिले कोही र कहीँ बाँकी राख्दैन। ‘बा’ संस्कृतिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा छ।’

बिहीबार नेकपाको आयोजनामा नागरिक समाजका अगुवाहरुसँग भएको अन्तर्क्रियामा नेता नेपालले ओलीको ‘बा प्रवृत्ति’विरुद्ध आफूहरुले संघर्ष गरिरहेको बताए । ‘म पहिले नै ओली प्रवृत्तिबाट आजित भएको थिए । तर बेदना सुनाउने र देखाउने ठाउँ थिएन’ उनले भने, ‘भित्र पनि समस्या थियो। बाहिर भन्न पनि नहुने पार्टीका कुरा। वेदना कहाँ सुनाउने ? तर, आज समयले तपाईं र मेरा ती वेदना साझा भएका छन्। बाँडिरहेका छौं।’

प्रधानमन्त्री ओलीसँग भन्दा पनि उनको प्रवृत्तिसँग आफ्नो लडाइँ भएको उनले बताए। उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’

आफूहरु कम्युनिष्ट भएपनि ‘उग्रवामपन्थी’ नरहेको उनको भनाई थियो। उनले भने, ‘कुनै समय हामीमा उग्रवामपन्थता थियो । त्यो उहिल्यै बागमतीमा बगाइसक्यौं । बगेर गइसकेको छ।’ त्यस्तो प्रवृत्ति भएका व्यक्ति भने सबै पार्टीमा भेटिने नेपालले बताए । त्यसैले त्यो प्रवृत्तिविरुद्ध एक्लाएक्लै नभई साझा मोर्चा बनाउनुपर्नेमा उनले जोड दिए।

नेपालले भने, ‘अब हामी साझा झण्डामा जानुपर्छ। साझा सरोकारको विषय भएकाले सबैको मोर्चाबन्दी हुनुपर्छ। संघीयताका, लोकतन्त्रका, संविधानका हिमायती एक ठाउँमा हुनुपर्छ।’ आफूले केपी ओली प्रवृत्तिले कुनै दिन संकटमा पार्ने ठानेर संसद्मा ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ’ भनेर बोलेको नेपालले स्मरण गराए ।

०७५ असोज ११ मा संसद्मा सम्बोधन गर्दा नेता नेपालले भोला रिजालले लेखेको गीत जोड्दै ‘मेरो देश डुब्न लाग्यो, किनारा लगाइदेऊ । सपुत छौ कि कोही माझी बचाइदेऊ’ भनेर भनेका थिए । त्यो समय ओलीको सरकार सञ्चालन गर्ने तौर तरिकाले आफूलाई त्यस्तो महशुस गराएको उनको भनाई थियो ।

उनले भने, ‘उहाँको सरकार सञ्चालनको तौरतरिका देखेर मैले संसद्‌मा भनेको थिएँ, मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही यो देश बचाइदेऊ। यो भनेबापत ओलीले खेदेको खेद्यै गर्नुभयो।’

नेपालले पार्टीको झण्डामा नभएर साझा झण्डामा आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए । ‘हाम्रो पार्टीको झण्डामा होइन साझा झण्डामा आन्दोलनमा जाऔं’ उनले भने। राजा ज्ञानेन्द्रविरुद्ध ६२–६३ को आन्दोलनमा पनि आफूहरु नागरिक समाजसँगै रहेको उनले बताए। उनले भने, ‘सबैलाई एउटै क्याटागोरीमा नराख्नुस्। सबैलाई एउटै ड्याङका मूला नठान्नुस्।’

जनता सामु माफी माग्न नागरिक अगुवाहरुको सुझाव

तर कार्यक्रमका वक्ताहरू पूर्व सभामुख दमनाथ ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीनेशचन्द्र देवकोटा, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, नागरिक अगुवा कृष्ण पहाडी, अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानव अधिकारकर्मी मोहना अन्सारी, राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्व मुख्यसचिव लिलामणि पौडेल, सम्पादक तथा लेखक नारायण वाग्लेलगायतले पार्टी एकतायता नेकपाका तर्फबाट भएका कमीकमजोरी र गल्तीप्रति जनतासामू माफी माग्नुपर्ने धारणा राखेका थिए ।

नेकपाको विभाजित घटककै ब्यानरमा जनता सडकमा आउन मुस्किल हुने उनीहरुको भनाइ थियो । सरकार गठनयता नेकपाको काम नै झगडा सिर्जना गर्ने र मुलुकलाई त्यसैमा अल्झाउने भएकाले पार्टीको कलहका कारण प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्न पुगेको बुझाइ जनतामा रहेको उनको मत थियो । प्रधानमन्त्रीको कदमबाट संविधानको ठाडो उलङ्घन भएको कुरा जनताका बीचमा स्थापित गराउनुपर्नेमा उनीहरुको जोड थियो ।

पूर्व सभामुख ढुंगानाले राजनीतिक संकट आउँदा मात्रै विज्ञहरुलाई सम्झिएको भन्दै राजनीतिक दलहरुको प्रवृतत्तमाथि नै प्रश्न गरे । उनले प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ भन्ने आफ्नै दलका नेताहरुलाई थाहा नहुने अवस्था कसरी भयो त्यसको जवाफ नेताहरुले दिनुपर्ने उनले बताए । नेता नेपालको आह्वानप्रति लक्षित गर्दै ढुंगानाले भने, ‘हामीलाई किन बोलाउनु भो ? तपाईले उत्तर दिन नसक्नुहोला। फोहोर गर्ने तपाईहरु अनि नागरिक समाजले सफा गर्नुपर्ने ?’

ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्ने दिन आउनुको कारणमा प्रचण्ड नेपाल पनि जिम्मेवार रहेको उनको भनाई थियो। उनले भने, ‘बारम्बार संविधान किन तोडिदैछ ? ओलीसँगै तपाई पनि जिम्मेवार हो। यो सत्तामा रहेको प्रधानमन्त्री र सत्ता बाहिर रहेका पूर्व प्रधानमन्त्रीबीचको लडाइँ हो। नेकपा भित्र पदमा रहेका र नरहेकाहरुको लडाइँ हो।’

त्यस्तै मानवअधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समीक्षा गरी गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाव दिए । गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि उनले बताए । प्रधानमन्त्री ओलीले आफू पतन हुँदै लोकतन्त्रलाई पनि पतन गराउने हुनु कि भन्ने खतरा रहेको पहाडीको आशंका थियो । सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको समेत पहाडीको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि दाहालले असंवैधानिक कदमको विरुद्धमा सबै दल एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाव दिए । सबै दल एक भए मात्रै संविधान र लोकतन्त्रको रक्षा गर्न सकिने उनको भनाई थियो । मानवअधिकारकर्मी मोहना अन्सारीले स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउने अधिकार विस्तारै कुण्ठित हुने अवस्था आउन लागेको बताइन् ।

अहिलेको विकसित राजनीतिक घटनाक्रमले संवैधानिक संकटतर्फ देश धकेलिरहेको उनको भनाई थियो । अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले प्रधानमन्त्रीले आफ्नो नैतिकता देखाउन नसकेको आरोप लगाए । प्रधानमन्त्रीमा देखिएको हठका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको क्षेत्रीको भनाई थियो ।

पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुक अस्थिरता र संवैधानिक संकटतर्फ जाने खतरा बढेको बताए । राजनीतिक दलहरुले सरकारमा बसेका बेला पारदर्शी ढंगले सरकार सञ्चालन गर्छन् वा गर्दैनन् भन्ने कुरालाई हेरेर अबको दिनमा हुने आन्दोलनमा जनताले साथ दिने वा नदिने कुराको निर्धारण हुने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS