नेकपाका नेता एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पार्टी विभाजनको कुनै औचित्य नरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा संबोधन गर्दै उनले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि आफूलाई जानकारी नदिएको उल्लेख गरेका हुन् ।

आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा पाएको अवस्थामा यदी आफू प्रधानमन्त्री भएको भए राजीनामा गर्ने बताए । उनले भने–‘अविस्वासको प्रस्ताव लगेको थाहा पाएको भए, म भए राजीनामा दिन्थँे, पार्टीको यो आन्दोलन अगाडि बढाउन आगामी दिनमा यो शिक्षाको विषय हुन्थ्यो ।’

९ महिनादेखि आलोचना गर्ने समूहको बैठकमा रहेर पनि आफूले अविस्वासको प्रस्ताव असफल गराउँदै आएको पनि उनले खुलासा गरेका छन् ।

प्रतिनिधिसभा विघटनबारे अहिले सर्वोच्चमा अदालतमा दर्जनौँ रिट रहेको र यो संवैधानिक विषय भएकोले संवैधानिक इजलासमा लगेको बताए । अब यो विषय अदालतले स्वीकार गरेकोले अब यो कदमलाई असंवैधानिक भन्नु अदालतको राजनीतिक रुपमा अपमान हुने उनको तर्क छ ।

उनले नेपालको कम्युनिष्ट पार्टीले संवैधानिक सर्वोच्चतालाई पालना गर्ने नीति रहेको बताउँदै संविधानको विषय आफू अनुकूल भएन भन्दैमा त्यसलाई बदानाम हुने किसिमले काम गर्न नहुने उनले बताए ।

उनले प्रधानमन्त्री ओली २०४३ सालदेखिको सहकर्मी भएको र सुधारका लागि आफूले धेरैपटक आग्रह गरेपनि नमानेको बताए । नेता गौतमले आफू विभाजित पार्टीको कुनै पक्षमा नरहेको उल्लेख गर्दै आजको दिन राष्ट्रिय सभामा बोल्दा खुसी हुनुपर्नेमा आफू दुःखी रहेको जिकिर गरे ।

उनले आफ्नो जीवनको दुई लक्ष्य गणतन्त्र नेपालको स्थापना गर्ने र नेपालका कम्युनिष्ट पार्टीहरुको एकीकृत गर्ने उद्देश्य रहेको बताउँदै ती दुबै लक्ष्य पूरा हुँदा खुसी भएपनि अहिले आएर पार्टी विभाजनको कुनै औचित्य नदेखेको बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS