काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले यस्तो बताएका हुन् । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद् भवन क्यापिटल हिलमा हिंसात्मक प्रदर्शन गरेका थिए ।

ट्रम्पले बुधबार भएको हिंसात्मक प्रदर्शनको पनि निन्दा गरेका छन् । उनले उक्त आक्रमणलाई जघन्य आक्रमणको संज्ञा दिँदै यस किसिमको आक्रमणले अमेरिकाको प्रजातन्त्रलाई अशुद्ध बनाएको बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ । मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्बाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रित भएको छ ।’

बुधबार भएको हिंसात्मक प्रदर्शनपछि अमेरिकामा ट्रम्पमाथि यस किसिमको प्रदर्शनको लागि उक्साएको भन्दै तत्काल उनलाई पदबाट हटाउनुपर्ने माग उठेको थियो । डेमोक्रेटिक पार्टीका नेताहरुले अमेरिकी कंग्रेसका अध्यक्ष तथा उपराष्ट्रपति माइक पेन्ससँग संविधान परिवर्तनको लागि आग्रह गर्दै राष्ट्रपतिलाई तत्काल पदबाट हटाउने प्रयास गरेका थिए । यद्यपि पेन्ससँग उनीहरुको सम्पर्क हुन सकेन ।

यसअघि ट्रम्पले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका थिए । तर, उनले स्पष्ट प्रमाण भने पेश गर्न सकेका थिएनन् । यद्यपि बिहीबारको भिडियो सन्देशमा भने उनले आगामी राष्ट्रपतिमा बाइडनलाई स्वीकार गरेका हुन् ।

‘तपाईँहरुको राष्ट्रपतिको रुपमा सेवा गर्न पाउनु मेरो लागि जीवनभरको सम्मान हो’, ट्रम्पले भनेका छन्, ‘मेरा सबै समर्थकहरु निराश हुनुहुन्छ भन्ने मलाई थाहा छ । तर, म तपाईँहरुलाई भन्न चाहन्छु कि हाम्रो अविश्वसनीय यात्रा बल्ल सुरु भएको छ ।’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS