८ अर्बको आईपीओ कति पर्ला भागमा ?

काठमाडौं । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

यस अघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजारले आईपीओका लागि आवेदन दिएका थिए । ८ अर्ब रुपैयाँको आईपीओका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रकमको माग भएको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । आवेदकहरुको संख्या हेर्दा प्रति ५० कित्ता भन्दा धेरै आवेदन दिनेहरुलाई आवेदन ५० कित्ताको हाराहारीमा सेयर पर्ने देखिएको छ ।

नेपाली सेयर बजारमा उल्लास

यस बैंकले नेपाली सेयर बजारको इतिहासमै ठूलो आईपीओ निष्काशन गरेको हो । बैंकको आईपीओले सेयर बजारमा उल्लास नै ल्याएको सिडिएस एण्ड क्ल्यिरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्य बताउँछन् ।

‘१० कित्ता आईपीओ पाउन पनि निकै गाह्रो परिरहेका बेला ८ अर्बको आईपीओ आउनु नै लगानीकर्ताहरुका लागि खुसीको कुरा बन्यो, यसले सेयर बजारमा उल्लास छाएको छ’ उनले भने, ‘यसले नयाँ रेकर्ड मात्रै राखेको छैन, सेयर बजारप्रतिको आकर्षणमा पनि राम्रै वृद्धि हुने पक्का भएको छ ।’

पछिल्लो समय प्रविधिका कारण पनि निकै सहज भएको सीईओ आचार्य बताउँछन् । केही समय अघिसम्म आवदेन दिनकै लागि पनि निकै सास्ती बेहोर्नु पर्ने अवस्था थियो । बैंकमा गएर दिनभर लाइन लाग्नु पर्ने बाध्यता अब हटिसकेको छ ।

‘मेरो सेयर’ नामक सुविधा ल्याएर सीडीएसले घरबाटै आईपीओका लागि आवेदन दिने व्यवस्था ग¥यो । तर, सिस्टममा समस्या आइरहने कारणले गर्दा मेरो सेयरबाट आवेदन दिन पनि ठूलै समस्याको सामना गर्नु पर्ने अवस्था थियो । केहीदिन अघिसम्म सर्भर डाउन भइरहने समस्या मेरो सेयरमा थियो ।

तर यस पट त्यस्तो समस्या नआएको सीईओ आचार्यले बताए । निफ्राको आईपीओ सर्वसाधारणको निकै राम्रो सहभागीता हुने अनुमान सीडीएसले पहिले नै गरेको थियो । मेरो सेयरबाट आवेदन दिदा विगतको जस्तो समस्या नआओस भनेर सिस्टममा विशेष ध्यान दिइएको सीईओ आचार्यले बताए ।

‘निफ्राको आईपीओ आवेदनमा समस्या नहोस भनेर सिस्टम मर्मतमा निकै ध्यान दियौं, कुनै समस्या नआओस् भनेर हामीले निकै खट्यौं’ उनले भने ‘जे होस् हामी सफल भयौं, लगानीकर्ताहरुको निकै राम्रो सहभागिता पाउदा खुसी छौंँ ।’

निफ्राको आईपीओले नेपाली सेयर बजारमा जागरण नै ल्याएको आचार्यले बताए । सेयर बजार नबुझ्नेले पनि अहिले निकै चासो दिएको उनी बताउँछन् । प्राथमिक बजारमा धेरै जाखिम नहुने भएका कारण पनि आकर्षण निकै राम्रो देखिनु खुसीको कुरा भएको उनले बताए ।

पूर्वाधारमा लगानी गर्न जन्मिएको निफ्रा

सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा देखिएको सहभागीताले निकै खुसी लागेको निफ्राका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले बताए । अलि अगाडि पर्याप्त आवेदन पर्दैन कि भन्ने चिन्ता बैंकलाई थियो ।

तर पछिल्लो समय सेयर बजारप्रतिको बढ्दो आकर्षणले सबै सेयर ‘सब्सक्राइब’ हुन्छ भन्नेमा बैंक ढुक्क नै रहेको डेपुटी सीईओ पाण्डेले बताए ।

आवेदन पनि अनुमान गरिए अनुसारकै परेकाले निकै खुसी लागेको उनले सुनाए । पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै नेपालका अन्य बैंकहरुको भन्दा ठूलो पुँजीको निफ्रा स्थापना गरिएको दुई वर्ष पुग्न लागेको छ ।

पूर्वाधार विकासलाई गति दिने मुख्य उद्देश्य लिएको इन्फ्रास्ट्रक्चर बैंकले २८ माघ २०७५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएर २०७५ फागुन २२ बाट वित्तीय कारोबार शुरु गरेको थियो ।

सानो निक्षेप नलिने यो बैंकले हालसम्म ८ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । यसमध्ये धेरै कर्जा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको छ । कोरोना महामारीबीच पनि जलविधुत् परियोजनाहरुमा कर्जाको माग भएको बैंकले जनाएको छ । बैंकका अनुसार, जलविद्युत् पछि सौर्य ऊर्जा, सिमेन्ट र होटल उद्योगमा लगानीको माग छ ।

यो बैंकले हालसम्म ११० मेगावाटका चारवटा जलविद्युत् आयोजनामा ५ अर्ब ४० करोड र २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा एक अर्ब कर्जा लगानी गरेको छ । त्यस्तै, सिमेन्ट उद्योगमा एक अर्ब ५० करोड र निर्माणाधीन पाँचतारे होटलमा ४५ करोड रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

बैंकका डेपुडी सीईओ पाण्डे गत वर्षको करिब ४ अर्ब लगानी पाइपलाइनमा रहेको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब हाराहारी लगानी माग भएको छ ।

पूर्वाधार विकासलाई गति दिन र विकासका अन्य क्षेत्रमा हुने वित्तीय अभाव न्यून गर्न सरकार, बाणिज्य बैंकहरु, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, सार्वजनिक तथा निजी कम्पनी र प्रतिष्ठित व्यवसायीहरु समेतको लगानीमा निफ्रा स्थापना भएको हो ।

निफ्राको अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ छ । चुक्ता पुँजी भने २० अर्ब तोकिएको छ । चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेकोमा सर्वसाधारणलाई आठ अर्ब रुपैयाँको साधारण सेयर जारी गरी चुक्ता पुँजी २० अर्ब पुग्ने भएको हो । बैंकमा सरकारसहित संस्थापक सेयरनीहरुको स्वामित्व ६० प्रतिशत छ ।

आईपीओ जारी भइसकेकाले अब सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत हुने भएको छ । यो बैंकले एक करोड रुपैयाँभन्दा कम निक्षेप लिँदैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS