सप्तरी । नेकपा ओली समूहका नेता महेश बस्नेतले केही दिनभित्रै मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर चल्ने दाबी गरे ।

सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित पार्टी निकट युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले मधेशवादी दलमा ठूलो पहिरो जाने बताए ।

‘युवा संघको अभियानमा जसपाका ५ जना केन्द्रीय सदस्य प्रवेश गरेका छन्,’ बस्नेतले भने, “केही दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ । मधेशवादी दलमा निक्कै ठूलो पहिरो जानेछ । भुइँचालो जानेछ । र, नेकपामा प्रवेशको लहर आउनेछ ।’

आफ्नो कार्यक्रम हुन नदिन यहाँका नेताले गरेको प्रयासलाई उनले प्रचण्डले मांसाहारी आन्दोलन गर्ने आह्वानलाई स्वीकारेको उनले बताए ।

यही भएर कार्यक्रम नगर्न समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको उनले बताए । ‘हामी हलभित्र सीमित हुन सक्दैनौं । हामी ठूलो कार्यक्रम गर्न चाहन्छौं’ उनले भने ।

उनले लोकतन्त्रमा सभा, सम्मेलन गर्ने, पार्टी प्रवेश गराउने कामलाई स्वभाविक मान्न सकिने बताए । ‘यद्यपि विरोध गर्दा नारा लगाउन सकिन्छ,’ उनले भने, ‘तर यो मेरो बपौती हो यहाँ कार्यक्रम गर्न पाइँदैन भनेर कसैले भन्छ भने सावधान त्यो दिन फेरिसक्यो ।”

उनले नेकपालाई टिपरसँग तुलना गरे । ‘टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ उनले भने, ‘नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो । निहुँ नखोज्नुस् ।’

नेता बस्नेतको अगुवाइमा मोटरसाइकल र्‍याली र अन्तरक्रिया कार्यक्रम निर्धारण भएपछि प्रचण्ड–माधव समूहको नेकपाका नेता/कार्यकर्ताले हुन नदिने बताएका थिए । प्रहरीले कार्यक्रम बिथोल्न खोजेको भन्दै ७ जनालाई पक्राउ गरेको थियो ।

दुई पक्षको विवाद हेरेर जिल्ला समन्वय समितिले हल उपलब्ध नगराउने बताएपछि स्थानीय राज रंगशालामा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमस्थलमा व्याप्क सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीको घेराभित्रै उनीहरुले कार्यक्रम गरेका हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS