काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुने यो कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

एक दिनको मुख्यमन्त्री बनाउने उद्देश्य के हो ?

उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।

उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बन्ने भएपछि सृष्टि गोस्वामी अहिले सामाजिक सन्जालमा भाइरल भएकी छन् । उनले सामाजिक सन्जालमै एक बयान जारी गर्दै भनेकी छन्, ‘एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाउँदा म एकदम खुसी छु । मैले खासगरी बालिका सुरक्षासँग सम्बन्धित सुझावहरु उत्तराखण्ड सरकारलाई दिनेछु ।’

यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो । उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्दछ । जसमा प्रदेशका अलग अलग स्थानबाट छात्राहरुले सहभागीता जनाउँछन् र आफैंले विधानसभा सन्चालन गर्दछन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS