मलयाली अभिनेत्री रजनी चांडी सोसल मिडियामा आफ्ना ग्ल्यामसर तस्बिरका कारण चर्चामा छिन् । यसको एउटै कारण यो हो कि ६९ वर्षको उमेरमा ग्ल्यामरस कपडामा उनका तस्बिर जुन सुरुमा त भाइरल भए तर पछि सोसल मिडियाका ट्रोल्स उनको पछाडि नै परे ।

गृहिणीबाट अभिनेत्री बनेकी रजनी चांडी साधारणतया साडी लगाउँछिन् तर यो फोटोसुटका लागि उनले फेसनेबल जिन्स, शर्ट डेनिम, जम्पसुट र लङ्ग ड्रेसको प्रयोग गरेकी छिन् । केही तस्बिरमा उनी आफ्नो बगैंचाको ताजा सेतो गुलाबबाट बनेको ताज पनि देखिएकी छिन् ।

केरलमा महिलाहरु साडी र लामो स्कर्ट लगाउँछन्, यस्तोमा रजनी चांडीका यी तस्बिरमा भारतीय महिलाले उनलाई बोल्ड एण्ड ब्यूटिफूल भनिरहेका छन् । हुन त यो फोटोसुट उनको आफ्नै विचार भने होइन । बीबीसी हिन्दीसँगको कुराकानीमा रजनीले बताए अनुसार फोटोसुटको आइडिया २९ वर्षकी फोटोग्राफर आथिरा जोयको थियो जो केही भिन्न काम गरिरहेकी छिन् ।

अथिरा जोयले यो आइडियाबारे बताउँदै रजनी चांडी उनकी आमाभन्दा नितान्त भिन्न देखिने र उनको यही स्वरुपले नै फोटोसुटको आइडिया आएको बताएकी छिन् । अथिरा जोय भन्छिन्, ‘भारतीय महिला आफ्नो जीवन विवाह र परिवार पाल्ने बन्धनमा नै बिताउँछन् । ६० वर्षपछि त उनीहरुको आफ्ना केही पनि इच्छा हुँदैनन् । उनीहरु हजुरआमा, जिजुआमा बनिसकेका हुन्छन् ।’

अथिराकी आमा ६५ वर्षकी हुन् । उनकी आमा एक साधारण भारतीय महिलाजस्तै हुन् जो ६० वर्षको उमेर पार गर्ने बित्तिकै स्वास्थ्य समस्याको चपेटमा आउने गर्छन् ।

अथिराले भनिन्, ‘तर रजनी एकदम भिन्न छिन् । उनी आफ्नो ख्याल राख्छिन् । उनी पूर्ण रुपमा फिट, बिन्दास, सुन्दर र फेसनेबल छिन् । उनको उमेर ६९ को भइसकेपनि उनी मनबाट मजस्तै २९ वर्षकी नै हुन् ।’

जीवनको आनन्द उठाउने प्रेरणाः

केरलको परम्परागत समाजमा रजनी चांडी सधैं भिन्न देखिँदै आएकी छिन् । दशकौं मुम्बईमा बसेपछि सन् १९९५ मा उनी केरल सरेकी थिइन् । उनका श्रीमान् मुम्बईमा विदेशी बैंकमा काम गर्दथे । ती दिनमा जब रजनी जिन्स लगाएर वा लिपिस्टिक लगाएर घरबाट निस्किन्थिन् तब उनलाई मानिसहरुले अचम्मको दृष्टिकोणले हेर्दथे । उनका अनुसार त्यतिबेला एक पटक स्लिभलेस ब्लाउज लगाउँदा मानिसहरुले तथानाम भनाई सुन्नु परेको थियो ।

तर पछिल्ला केही वर्षमा उनले आफ्नो गैरपरम्परागत कामका लागि चर्चा बटुलिन् । सन् २०१६ मा ६५ वर्षको उमेरमा उनले एक मलायली कमेडी ड्रामा ‘उरु मुथासी गदा’ बाट अभिनयको दुनियाँमा कदम राखिन् । त्यसपछि उनले दुईवटा फिल्ममा काम गरिसकेकी छिन् । त्यसपछि उनी अघिल्लो वर्ष बिग बसको मलयाली संस्करणमा पनि देखिइसकेकी छिन् ।

रजनीका अनुसार उनले यो फोटोसुट यसकारण पनि गरिन् ताकि वृद्ध–वृद्धाले आफ्नो जीवनको आनन्द उठाउने प्रेरणा पाउन सकून् ।

रजनी चांडी भन्छिन्, ‘धेरैजसो युवा जोडी आफ्नो बालबच्चाको पालनपोषणमा जीवन बिताउने गर्छन् । उनीहरु आफ्नो इच्छालाई खासै महत्व दिँदैनन् । पछि उनीहरुलाई महसुस हुन्छ कि सपनालाई पछ्याउनका लागि अब उमेरले साथ दिँदैन, किनभने उनीहरुलाई लाग्छ कि समाजले के भन्ला ? मेरो मान्यता यो छ कि जबसम्म तपाईंले कसैलाई हानी पुर्याउनु हुन्नँ तबसम्म तपाईंले आफ्नो इच्छा अनुसार काम गर्नुपर्छ ।’

रजनीका अनुसार उनी अहिले जे पनि गर्छिन्, रमाइलोका लागि गर्छिन् । उनले भनिन्, ‘मैले परिवार र समाजप्रतिको जिम्मेवारी पूरा गरिसकेकी छु । अब म त्यहि गर्छु जसबाट मैले आनन्द पाउँछु । म ड्रम बजाउन सिकिरहेकी छु । उत्कृष्ट ड्रमर बन्ने लक्ष्य छैन । म आनन्दका लागि मात्रै सिकिरहेकी छु ।’

उनले यो फोटोसुट पनि आनन्दका लागि गरिन् । उनले भनिन्, ‘डिसेम्बरको महिनामा अथिराले मलाई फोटोसुट बारे सोधेकी थिइन् । वेस्टर्न पहिरन लगाउन कतै हिच्किचाहट नै छैन भनेर पनि सोधेकी थिइन् । म युवावस्थामा सधैं त्यस्तै कपडा लगाउँथे, अहिले लगाउन मलाई किन हिच्किचाहट, त्यसैले मैले छैन भनेँ । मैले यो पनि बताएँ कि स्विमसुटमा पनि मैले तस्बिर खिचाएकी थिएँ ।’

रजनी चांडीलाई अथिराको प्रस्ताव रोचक लाग्यो । किनभने विदेश यात्राका बेला उनलाई वृद्धाहरु पनि निकै आकर्षक लाग्दथ्यो ।

रजनीले भनिन्, ‘मैले अथिरालाई भनेँ कि म फोटोसुट त्यतिबेला मात्रै गर्नेछु जब मलाई मेरा श्रीमानले अनुमति दिन्छन् । अथिराले मेरा श्रीमानलाई सोध्दा उनले ‘यो उनको जीवन हो, यदि उनी गर्न चाहन्छिन् भने यसमा मेरो कुनै आपत्ति छैन’ भन्नुभएछ ।’

तर एक स्थानीय बुटिकबाट अथिराले कपडा लिएर आइन् तब रजनी अचम्मित भइन् । रजनीले भनिन्, ‘ग्ल्यामरस कपडा लगाएको थुप्रै वर्ष भइसकेको थियो तर जब मैले लगाएँ तब म चाँडै नै सहज भएँ ।’

प्रशंसा र आलोचना दुबैः

अघिल्लो महिना कोच्चिस्थित रजनीको शानदार घरमा अथिराले २० तस्बिर खिचिन् । यी तस्बिर अघिल्लो हप्ता फेसबुक र इन्स्टाग्राममा आए र ती तस्बिरमाथि स्थानीय मिडियाको नजर अडियो । त्यतिबेला देखि रजनीले प्रशंसा र आलोचना दुबै खेपिरहेकी छिन् ।

हज्जारौं मानिसहरुले रजनीको प्रशंसा गर्दै कमेन्ट गरेका छन् । मानिसहरुल लेखेका छन्, ‘तपाईंले प्रमाणित गरिदिनुभएको छ कि उमेर एक नम्बर हो । ’ कतिले उनलाई बोल्ड बताए त कतिले ब्यूटिफूल । कोही अक्क न बक्क भए त कतिलाई रजनी हट लाग्यो । कतिले उनको आत्मविश्वासका लागि उनलाई बधाई पनि दिए । कतिले रजनी चांडीको नम्बर पनि पाए र मानिसहरुले ह्वाट्सएपमा उनलाई लेखे, ‘आन्टि तपाईं असाध्यै राम्री देखिनुभएको छ ।’

तर चाँडै नै आलोचना सुरु भए । रजनीले भनिन्, ‘मानिसहरुले मलाई ‘तिमी अहिलेसम्म मरेकी छैनौ’ भनेर सोधे । एकजनाले मलाई घरमा बसेर बाइबिल पढ्न सल्लाह दिए । कतिले यो उमेर देह देखाउने उमेर नभएको र यतिबेला पूजा पाठ गर्नुपर्ने सल्लाह दिए । एकजनाले म पुरानो अटोरिक्सा हुँ र यसमा रङ लगाउँदा म नयाँ हुन नसक्ने पनि बताए ।’

रजनी चांडीले विशेषगरी दुईवटा तस्बिरमा नकारात्मक टिप्पणी पाएकी छिन् । एउटा तस्बिरमा राजनी काटेको–च्यात्तिएको (रग्ड) जिन्समा खुट्टा फैलाएर बसिरहेकी छिन्, त्यसमा उनको थोरै क्लिभेज पनि देखिएको छ । जबकी दोस्रो तस्बिरमा उनले सर्ट डेनिम लगाएकी छिन् ।

रजनीले भनिन्, ‘शर्ट डेनिम ड्रेस यसकारण बेकारको थियो किनभने त्यसमा मेरो खुट्टा देखिएका थिए । तर मेरा खुट्टा सुन्दर छन् त्यसैले मलाई यसमा कुनै चिन्ता छैन ।’

यद्यपि, उनले स्विकार गरिन् कि लगातारको ट्रोलिङ र नकारात्मक कमेन्टले उनीमाथि असर पार्यो र धेरैजसो कमेन्ट महिलाको तर्फबाट नै आएको थियो ।

रजनी चांडीले भनिन्, ‘धेरैजसो युवा पुरुष पाका उमेरका महिलालाई कामुकताको दृष्टिकोणले हेर्दैनन् । उनीहरु उमेर ढल्केका महिलालाई पाउने लोभ पनि राख्दैनन् । तर धेरैजसो नकारात्मक कमेन्ट महिलाका थिए, यो देखेर अचम्म लाग्यो ।’

‘मलाई लाग्छ कि यो इर्ष्याका कारण भएको हुनुपर्छ । ४० देखि ५० वर्षका ती महिला जसले आफ्नो ख्याल राख्न पाएनन् उनीहरुलाई यी वृद्धा महिला राम्रो देख्दा कसरी सहन होला ।’

रजनी चांडीले आफ्ना पुराना दिनका तस्बिर पनि सोसल मिडियामा पोस्ट गरेकी छिन् ।

‘सबै महिला महिलावादी हुँदैनन्’

समाचार वेबसाइट आर्टिकल १४ की जेन्डर एडिटर नमिता भंडारेले महिलाको नकारात्मक कमेन्टमा भनिन्, ‘हुनसक्छ यो ईर्ष्याका कारण नै भएको होला तर यो बिर्सनु हुँदैन कि सबै महिला महिलावादी हुँदैनन् । हाम्रा आमा, हजुरआमाहरु नै पितृसत्तात्मक व्यवस्थाका महान वाहक हुँदै आएका छन् ।’

संसारभरी जब महिलाको उमेर बढ्दै जान्छ तब उनीहरुले उमेर र सेक्स दुबै मोर्चामा मार झेल्नुपर्छ तर पश्चिमी देश झैं भारतमा वृृद्धाहरुले हमला झेल्नुपर्दैन ।

नमिता भन्छिन्, ‘मेरो मान्यता यो कि भारता उमेर बढ्दा महिलाले थोरै फाइदा पाउँछन् । हाम्रा आमा, हजुरआमाहरुले परिवारमा विशेष दर्जा पाउनुहुन्छ । हामीले उहाँहरुलाई आदर सम्मान दिन थाल्छौं किनभने उहाँहरु रुढिबादी परिम्परासँग बाँधिनुहुन्छ । यदि उहाँहरु विधवा हुनुहुन्छ भने सेता कपडा लगाउनुहुन्छ र उहाँहरुलाई सेक्सुअलाइज गरेर देखिँदैन । यस्तोमा यदि जब कोही हजुरआमा, आमाले क्लिभेज वा खुट्टा देखाउनुहुन्छ भने उहाँहरुले रुढिवादलाई परिवर्तन गरिरहनभएको छ । उहाँहरु दायराबाट बाहिर निस्किरहनुभएको छ । यस्तोमा उहाँहरुले आलोचना त झेल्नै पर्छ ।’

रजनी चांडीले कहिले पनि सोचेकी थिइनन् कि उनको तस्बिर भाइरल हुनेछ र उनलाई ट्रोल गरिनेछ । रजनी चांडी भन्छिन्, ‘वास्तवमा म निकै मुखर छु । सायद यसैकारण मानिसहरुले मलाई मन पराउँदैनन् । तर मैले मानिसहरुलाई भनिदिएको छु कि ममाथि समय बर्बाद गर्नुको साटो आफ्नो समय, देश, दुनियाँ वा पृथ्वीलाई उत्कृष्ट बनाउनतर्फ किन खर्च गर्नुहुन्नँ ?’

 

तपाईको प्रतिक्रिया

RELATED POSTS