बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र ‘पठान’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

उनै, साहरुखले अब पुनेमा अर्को नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रको नाम ‘जवान’ राखिएको छ । यो चलचित्रलाई साउथका सफल निर्देशक एट्ली कुमारले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन शनिबारबाट पुनेको मेट्रो रेलवे स्टेशनबाट सुरु भएको छ । पुनेमा १० दिन छायांकन गरेपछि चलचित्रको टिमले मुम्बइमा काम सुरु गर्नेछ ।

यो चलचित्रमा साउथकी सुपरस्टार नायिका नयनताराले साहरुखसँग रोमान्स गर्नेछिन् । साथमा चलचित्रमा नायिका प्रियामणीको पनि अभिनय रहनेछ । साउथका निर्देशक र नायिका राखेर साहरुखले यो चलचित्रलाई विभिन्न भाषामा रिलिज गर्ने तयारी गरिरहेका छन् । चलचित्रलाई करिब आधा बर्ष लगाएर खिचिनेछ । चलचित्रको बजेट समेत उच्च रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चलचित्रमा साहरुख दोहोरो भूमिकामा देखिदैछन् । यो चलचित्र आर्मीको पृष्ठभूमीमा रहेर निर्माण गरिने मिडियाले उल्लेख गरेका छन् । शनिबार चलचित्रको छायांकन सुरु भएसँगै साहरुखको तस्वीर समेत सामाजिक संजालमा लिक भएको छ । जहाँ, साहरुख एक्सन दृश्यमा काम गर्ने तयारीमा रहेको वुझ्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS