काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने एमसीसी टोलीलाई जवाफ दिएको छ ।

एमाले अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर जसपा नेताहरुकहाँ पुगेको टोलीलाई उक्त जवाफ दिइएको हो । नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलपछि जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गरेर प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जानकारी दिएका छन् ।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल ! प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी !’ भट्टराईले लेखेका छन् । छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए ।

बिहीबार एमाले अध्यक्ष ओलीलाई भक्तपुर बालकोटस्थित निवासमा र नेकपा (एस) का अध्यक्ष नेपाललाई सिंहदरबारमा भेट गरेका थिए ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार नेपाल आएको एमसीसीको उच्च नेतृत्वले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS