काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले सभामुखका कारण संसदमा नाराबाजी गर्नुपरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको तीनवटा बैठकमा लागातार नाराबाजी गरेर बाहिरिएपछि नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमालेका सांसदहरुले यस्तो बताएका हुन् ।

एमालेका सांसद गोकुल बास्कोटाले शुक्रबार प्रतिनिधिसभामा के पेश भयो त्यो आफूलाई थाहै नभएको बताए । सभामुखले दलहरुलाई असमान व्यवहार गरेका कारण नाराबाजीमा केन्द्रित हुनुपरेको उनको प्रष्टीकरण छ । ‘त्यो कुर्सीमा बसिरहँदा सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो,’ उनले भने ।

एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका संसदीय मर्यादा बाहिर रहेको बताइन् । सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ काम गरेको उनको टिप्पणी छ ।

कार्यव्यवस्था परामर्श समितिमा छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिइकन संसद चलाउन खोजे त्यो सफल नहुने उनको चेतावनी छ ।

एमाले सांसद चौधरी नाराबाजीका बीच बजेटको प्रतिस्थापन विधेयक पेश हुन थालेपछि रोस्टममा जान खोजेकी थिइन् । यसबारे उनको भनाइ छ, ‘प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेकाले त्यो प्रयास गरेको हो ।’

एमालेकी सांसद रेखा कुमारीले त गृहमन्त्रीको माइक नै तानेर रोष्ट्रमतर्फ फ्याँक्न खोजेकी थिइन् । यसबारे पत्रकारले राखेको जिज्ञासामा उनले सभामुख र अर्थमन्त्रीको कदम असंवैधानिक रहेकाले आफूले उनीहरुलाई नै हान्न गृहमन्त्रीको माइक तानेको बताइन् ।

सभामुखको सशक्त विरोध कायम राख्ने पनि उनको भनाइ छ । ‘सभामुखले मर्यादामा राख्न सक्नुभएन । त्यसको हामीले सशक्त विरोध गर्नुपर्छ,’ उनले भनिन् ।

एमालेसँग छलफल गरेको भए हुन्थ्यो : सुरेन्द्र पाण्डे

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले ‘सबै दलको सहमतिमा प्रतिस्थापन विधेयक ल्याएको भए राम्रो हुन्थ्यो,’ भन्ने टिप्पणी गरे ।

‘संसदभित्र सहमति लिएर विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको सरोकारको विषय हो यो, यसकारण एमालेसँग पनि छलफल गरेको भए हुन्थ्यो,’ उनले भने ।

संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भने आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको बताए । प्रतिस्थापन विधेयकले आर्थिक अराजकतालाई नियन्त्रण गर्ने र मितव्ययिता कायम गर्ने उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले बजेट विनियोजन भएको तर कुनै काम नहुने खालको योजनालाई हटाइएको उल्लेख गरे । आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अर्थमन्त्री शर्माको दाबी छ । ‘आर्थिक वृद्धि ७ प्रतिशतमा स्वतः पुग्नेछ’ शर्माले भने ।

तपाईको प्रतिक्रिया

RELATED POSTS