नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले संसदीय मूल्य मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको विरोधका बीच सभामुखले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । उनले भने–‘संसदीय परिपाटीको घोर उल्लंघन र सामान्यतया संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दल उठे मात्रै पनि संसद चल्दैन । हामीले पनि पहिला त्यही चलन बसाएको हो । हामीले विरोध गर्दागर्दै पनि सभामुखले यसरी सदन चलाउनु उनको गुरिल्लापनको व्यवहारिक प्रमाण हो ।’

उनले अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत बजेटमा के ल्याइयो भन्ने कुरा ठूलो नभएको बताउँदै संसदमा विधि के अपनाइयो भन्ने कुरा मुख्य भएको बताए । यसरी संसदमा प्रस्तुत हुनु घोर तानाशाही प्रवृत्ति भएको बताए । साथै उनले अहिले बजेटमा थपिएका केही कुराले जनतामा खास असर प्रभाव नपर्ने समेत उल्लेख गरे ।

उनले सरकार र सभामुखको प्रवृत्तिविरुद्ध एमालेले निरन्तर प्रतिवाद गर्ने बताए । उनले भने– ‘हामी निरन्तर यो सरकार, अहिलेको सभामुख र अहिलेका जतिपनि गैरसंवैधानिक क्रियाकलाप छन् त्यसका विरुद्ध निरन्तर लडिरहन्छौँ ।’ प्रमुख सचेतक भट्टराईले सदन अगाडि बढानुपूर्व सभामुखले छलफल, सहमतिका लागि कुनै प्रयास नगरेको उनले बताए । उनले जबसम्म एमालेको प्रश्नको उत्तर आउँदैन तवसम्म विरोध भइरहने बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS