मस्कुलर एट्रोफी र डिस्ट्रोफी मांसपेशीको संकुचन एवं अनुवांशिक विकारका कारण उत्पन्न हुने स्वास्थ्य समस्या हो । यो समस्या अहिले विश्वमा अत्यधिक कम मान्छेमा देखिए पनि यसबाट पीडित बिरामीको संख्या पछिल्लो समय बढ्दै गएको छ । मस्कुलर एट्रोफी मांसपेशीको संकुचन वा त्यसमा हुने क्षतिसँग सम्बन्धित छ । मांसपेशीको आकारमा पुग्ने हानिका अतिरिक्त मस्कुलर एट्रोफी मांसपेशीको कमजोरी र चोटपटकका कारण निम्तिने समस्या हो ।

मांसपेशी डिस्ट्रोफी भने एक दुर्लभ आनुवंशिक विकार हो । जसले स्वस्थ मांसपेशीको निर्माण गर्नका लागि अवरोध सिर्जना गर्छ । मांसपेशी डिस्ट्रोफीको सबै प्रकार आनुवंशिक उत्परिवर्तनको कारण हुने गर्छ ।

कस्तो मान्छेमा देखिन्छ समस्या ?

वीर अस्पतालका स्नायु रोग विशेषज्ञ प्रा. डा. राजीव झा मस्कुलर एट्रोफी सामान्यतया चोटपटक, दुर्घटना जस्ता कारणले निम्तिने समस्या बताउँछन् । यो बच्चाभन्दा ठूला मान्छेमा धेरै देखिने समस्या हो । उनका अनुसार स्पाइनल मस्कुलर डिस्ट्रोफी भने पूर्ण रुपमा अनुवांशिक कारणले सर्ने रोग हो । यो बढीजसो बच्चामा देखिने गर्छ ।

स्पाइनल डिस्ट्रोफीका लक्षणहरु

विभिन्न अध्ययन अनुसार विश्वका कुल एक लाख जनामध्ये १२ जनामा यस्तो समस्या देखिने गरेको छ । यसलाई सामान्यतया ८ प्रकारमा विभाजन गर्ने गरिन्छ । जुन निम्नानुसार छन् ।

१. मायोटोनिक डिस्ट्रफी

२. प्रोक्सिमल मायोटोनिक डिस्ट्रफी

३. डुकेज डिस्ट्रफी

४. बेकर डिस्ट्रफी

५. लिम्ब गइल डिस्ट्रफी

६. फेसियो स्केपुलो ह्युमरल टाइप डिस्ट्रफी

७. अकुलो टाइप डिस्ट्रफी

८. एमरी ड्रायफस डिस्ट्रफी रहेका छन् ।

यस्ता समस्याहरु सामान्यतया बच्चामा बढी हुन्छ । केहीकेहीमा वयस्क उमेरमा पनि यसको समस्या देखिन सक्छ । मांसपेशी सुक्नु, मांसपेसी कमजोर हुनु जस्ता लक्षणहरु यसमा देखिन्छ । यस्तो समस्या सुरुमा शरीरको कुनै कुनै भागको मांसपेशी सुक्ने वा मांसपेसी कमजोर हुन्छ भने बिस्तारै त्यो बढ्दै जान्छ । चिकित्सकहरुका अनुसार केवल मायोटोनिक डिस्ट्रफी टाइप –१ मा अंगको पछिल्लो भागमा कमजोरी हुन्छ । मांसपेशी कमजोर हुँदा यसको असर हृदय एवं श्वासप्रश्वास प्रणालीमा समेत पर्ने गर्छ । जसका कारण सासको प्रक्रिया समेत बन्द हुने गर्छ ।

उपचार कति सम्भव ?

इस्पाइनल डिस्ट्रोफीको उपचार विश्वमै अत्यधिक महँगो उपचार पद्धति भएको स्वास्थ्य समस्याभित्र पर्छ । यसको एउटै खोपको लागि २५ करोड रुपैयाँसम्म पर्ने र २ वटा खोप लगाउनु पर्ने आवश्यकता रहेको चिकित्सकहरु बताउँछन् । डा. झा विकसित मुलुकहरुमा पनि यस्तो रोगको उपचार कुनै संस्थागत सहयोगबाट बाहेक सम्भव नरहेको बताउँछन् । सबै अवस्थामा दुवै खोप लगाएको मान्छे पनि पूर्ण निको हुन्छन् भन्ने नरहेको विशेषज्ञहरु बताउँछन् । चिकित्सकहरु यो अनुवांशिक रोग भएकोले यस्तो समस्या भएका मान्छेले बच्चा जन्माउँदा उसमा पनि यो समस्या देखिने भएकोले बच्चा नजन्माउनु नै थप बिरामी नजन्माउनुको कारण हो ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS