११ सेप्टेम्बर, २००१ मा अमेरिकाले इतिहासकै सबैभन्दा ठूलो विदेशी आतङ्ककारी हमलाको सामना गर्नुपर्यो । अल कायदाले यो हमला गरेको थियो । बिन लादेन र आक्रमणको योजना बनाउनेहरुका लागि यो केवल आक्रमणमात्रै थिएन । उनीहरुका लागि यो ठूलो लक्ष्यको एउटा सुरुवाती चरणमात्रै थियो । त्यस्तो परिवर्तनकारी हिंसाको सुरुवाती चरण जसले नयाँ ऐतिहासिक युगतर्फ निर्देशित गर्नसक्थ्यो ।

धर्मबाट प्रेरित भएपनि बिन लादेनको लक्ष्य भूराजनीतिक थियो । तत्कालीन विश्व व्यवस्थालाई हटाउने र धर्मका आधारमा सबै मुस्लिमहरुलाई जोडेर साझा धार्मिक–राजनीतिक व्यवस्था, जसलाई ‘उम्मा’ भनिन्छ, पुनस्र्थापित गर्ने मिशनमा अलकायदा थियो । लादेनकै शब्दमा ‘निर्णायक धक्का’ दिएर यस्तो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उनको विश्वास थियो । यस्तो धक्काले मुस्लिम बाहुल्य राज्यबाट सैनिक निकाल्नका लागि अमेरिकालाई बाध्य बनाउनेछ र जिहादीहरुलाई आफै आफ्ना तानाशाही सरकारविरुद्ध लड्न खुला मैदान मिल्नेछ भन्ने लादेनलाई लागेको थियो ।

अमेरिकी सेनाले २०११ मेमा बरामद गरेका लादेनका दस्तावेजहरुमा विश्वलाई हेर्ने उनको दृष्टिकोण र सेप्टेम्बर ११ को हमला समावेश छ । पाकिस्तानी शहर अबोट्टावादस्थित लादेन लुकेर बसेको घरमा घेरा हालेर अमेरिकी सेनाले उनलाई २ मे, २०११ मा मारेको थियो । त्यसपछिका वर्षहरुमा अमेरिकी सरकारले केही दस्तावेजहरु बिस्तारै सार्वजनिक गर्दै गयो, तर धेरैजसो दस्तावेजहरु गुप्तचरकै नियन्त्रणमा रहे ।

नोभेम्बर २०१७ मा सीआईएले थप ४ लाख ७० हजार डिजिटल फाइल सार्वजनिक ग–यो, जसमा अडियो, फोटो, भिडियो र टेक्स्ट समावेश छ । दुईजना रिसर्च एसिस्टेन्टहरुको सहयोगमा मैले ती फाइलहरुमध्ये ९६ हजारभन्दा धेरै फाइल अध्ययन गरेँ, जसमा ६ हजार पृष्ठ लामा अरबी दस्तावेज पनि पर्छन्, यी दस्तावेजहरु अलकायदाका सदस्यहरुबीच २००० देखि २०११ बीच भएका अन्तरिक कुराकानीका रेकर्ड हुन् । मैले तीन वर्षसम्म यसबारे विश्लेषण गरे । यी दस्तावेजहरुमा बिन लादेनका नोट, सहयोगीहरुसँगका उनका पत्र, उनको परिवारले लेखेका पत्र पर्छन् । त्यसैगरी, तत्कालीन समय अबोट्टाबादमा रहेका लादेन परिवारका सदस्यहरुका नोट पनि २ सय २० पृष्ठ लामो पुस्तकमा छ ।

यी दस्तावेजहरुले लादेनको दिमागको झल्को दिन्छन् र अमेरिकाले सुरु गरेको ‘आतङ्कवादविरुद्धको युद्ध’ उनको आँखाबाट हेर्दा कस्तो छ भन्ने पनि देखाउँछ ।

९/११ सम्म आइपुग्दा लादेनले अमेरिकामा आक्रमण गर्नेबारे सोचेको दशकौँ भइसकेको रहेछ । आक्रमणको धेरै वर्षपछि आफ्नो परिवारका सदस्यहरुसँग कुराकानी गर्दा सन् १९८६ मै अमेरिकामा आक्रमण गर्नेबारे सोचेको लादेनले बताएका छन् । उनले भनेका छन्, ‘प्यालेस्टाइनीहरुको चित्कारलाई सम्बोधन गर्नका लागि अमेरिकामा जिहादीहरुले आक्रमण गर्नुपर्छ ।’

अमेरिकी समर्थनकै कारण प्यालेस्टाइनी भूमिमा ईजरायल खडा भएको लादेनको बुझाइ थियो । प्यालेस्टाइनीप्रति लादेन गम्भीर थिए, उनीहरुको पीडाबारे उनी प्रायः आफ्नो सहयोगीहरुलाई बुझाउँथे र भन्थे, ‘हामीले जिहाद सुरु गर्नुको कारण यही हो ।’

प्यालेस्टाइनीहरुकै मुद्दाले विश्वभरका मुस्लिमहरुलाई एक गराउने गरेको छ, उनीहरु विदेशी कब्जा र दमनको पीडामा रहेको चित्रण लादेनले गरेका थिए । १९९६ मा आफैले सार्वजनिक गरेको ‘जिहादको घोषणा’ नामक दस्तावेजमा लादेनले चेच्न्या, ईराक, कास्मिर र सोमालियाका मुस्लिमहरुप्रति सदासयता देखाउँदै लेखेका छन्,‘उनीहरुको रगत चुसिएको छ ।’

‘विश्वभरका मेरा मुस्लिम दाजुभाइ,’ उनको घोषणा थियो, ‘दुई पवित्रभूमी र प्यालेस्टाइनका दाजुभाईहरु, तपाईंहरुसँग सहयोगको आग्रह गर्दैछन् र शत्रुविरुद्ध लड्न भन्दैछन् । तपाईंका शत्रु ः ईजरायली र अमेरिकीहरु ।’

यो संगठित लडाइँ उम्मालाई फेरि ब्युँताउने पहिलो कदम हुनेछ भनेर लादेन विश्वस्त थिए । आफ्नो बोलीलाई व्यवहारमा उतार्न लादेन तयार छन् भन्ने चाँडै देखियो । १९९८ मा अलकायदाले केन्या र तान्जानियामा रहेका अमेरिकी दूतावासमा बम बिस्फोट गरायो र यसमा २ सय २४ जनाको ज्यान गयो । ४ हजारजनाभन्दा धेरै घाइते भए ।

यी हमलापछिको अन्तर्राष्ट्रिय चर्चाबाट लादेन थप हौसिए र थप महत्वाकांक्षी बने । १२ अक्टुबर २००० मा अलकायदाले बम हालेर पठाएको एउटा सानो डुङ्गाले अमेरिकी जहाजलाई ठोकिदियो । यमनस्थित अडेन बन्दरगाहमा इन्धन हाल्न गएका बेला यो जहाज विस्फोटमा परेको थियो, घटनामा १७ जना अमेरिकी जलसेनाको मृत्यु भयो ।

लगत्तै, लादेनले उम्मा पुनस्र्थापना गर्ने दिशामा यस आक्रमण टर्निङ प्वाईन्ट साबित हुने घोषणा आफ्नो समर्थकहरुसामुु गरे । २००२ मा बिन लादेनले मिलाएर राखेका हस्तलिखित कागजहरु अबोट्टावादमा फेला परेका छन्, जहाँ सेप्टेम्बर ११ हमलाको योजना कसरी फुर्यो भन्ने पनि उल्लेख छ ।

यस कागजातअनुसार अक्टुबर २००० को अन्तिम साता, अर्थात् अमेरिकाको पानीजहाजमा विस्फोट गराएको केही सातापछि नै लादेनले अमेरिकी भूमिमै आक्रमण गर्ने योजना बनाएका थिए । आक्रमण गर्नुको कारणबारे पनि यस कागजले बोलेको छ, जसअनुसार ‘निन्दनीय शासकहरु तथा अमेरिकी सर्वोच्चतावादबाट सिंगो मुस्लिम विश्व शासित भइरहेको’ उल्लेख छ । ‘९/११ को आक्रमण यस गलत भगवान्को डर तोड्न र अमेरिकीहरु अजय छन् भन्ने मिथ्यालाई ध्वस्त गर्ने मनसायका साथ’ तयार गरिएको उक्त कागजातमा उल्लेख छ ।

आक्रमणको दुई सातापछि बिन लादेनले अमेरिकालाई अल्टिमेटन दिँदै एउटा छोटो विज्ञप्ति निकालेका थिए । ‘अमेरिकीहरुका लागि मसँग केही शब्द मात्रै छ । म भगवान्को कसम खाएर भन्छु, न अमेरिका न त त्यहाँ बस्ने कसैले नै त्यतिबेलासम्म सुरक्षित हुन पाउँछ जतिबेलासम्म प्यालेस्टाइनमा बस्नेका लागि सुरक्षा मिल्दैन र जतिबेलासम्म यी धर्मविहीन सैनिकहरुले मोहम्मदको भूमि छाड्दैनन्,’ उनले भनेका थिए ।

यस आक्रमणले ठूलो तरङ्ग सिर्जना ग–यो । र, त्यसपछिका वर्षहरुमा विश्वका हजारौं मुस्लिम युवाहरुले बिन लादेनको पाइला पछ्याए । तर, बिन लादेनका चिट्ठीपत्रहरु पढ्दा विश्वकै सबैभन्दा कुख्यात आतङ्ककारीले समेत आफ्नो सीमा कतिसम्म छ भन्ने विषयलाई नजरअन्दाज गरेका थिए भन्ने थाहा हुन्छ ।

बिन लादेनको जन्म सन् १९५७ मा साउदी अरेबियामा भएको थियो । उनका बाबु धनाढ्य थिए । उनको कन्स्ट्रक्सन कम्पनीले साउदी शाही परिवारका ठूला दरबारमात्रै होइन, मक्का र मदिनाको पुनर्निर्माण समेत गरेको थियो । लादेनले बिलासी जीवन बिताए । उनलाई नपुग्दो केही थिएन । उनको इच्छा मुस्लिम विश्वका राजनीतिक घटनाक्रमहरुको हिस्सा बन्ने थियो ।

जिहादी बनेपछिका सुरुवाती वर्षमा उनी १९८० मा अफगानिस्तानमा भएको लडाइँमा सहभागी भए, सोभियतको कब्जाबाट अफगानिस्तानलाई मुक्त गराउने अभियानमा उनले विद्रोही मुजाहिद्दिनलाई आर्थिक सहयोग र संगठित गर्ने काम गरेका थिए, यसक्रममा आफ्नो परिवारबाट व्यवसाय र व्यवस्थापनबारे केही सिकेको छु भनेर देखाउन उनी सफल भए ।

र, लादेनका दस्तावेजहरुले इस्लामिक इतिहासबारे उनी राम्रो जानकार छन् भन्ने देखाउँछ, विशेषगरी नबी मोहम्मदका सातौं शताब्दीका सैन्य अभियानहरुबारे उनी जानकार छन् भन्ने देखिन्छ । तर, आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धबारे उनमा खासै ज्ञान देखिन्न ।

९/११ को हमलामा पनि यसको झल्को मिल्छ । जहाँ, धेरै कुराहरुमा गलत हिसाब निकालियो, अमेरिकाले यस घटनापछि युद्ध छेड्छ भनेर लादेनले कहिल्यै अनुमान लगाएका रहेनछन् ।

बरु, आक्रमणपछि अमेरिकी जनताहरु त्यसरी नै सडकमा आउनेछन्, जसरी भियतनाम युद्धताका आएका थिए, र उनीहरुले सरकारसँग मुस्लिम बाहुल्य देशबाट सेना निकाल्न माग गर्नेछन् भन्ने लादेनको अनुमान थियो । तर, यसविपरीत राष्ट्रपति जर्ज डब्ल्यु बुस र उनले घोषणा गरेको ‘आतङ्कवादविरुद्धको युद्ध’ का पक्षमा अमेरिकीहरु उभिए । अक्टुबर २००१ मा अमेरिकी नेतृत्वको गठबन्धनले अलकायदाको खोजी गर्दै अफगानिस्तानमा हमला ग–यो, र तालिबानी सत्तालाई अपदस्थ ग–यो, यो सत्ताले १९९६ देखि अल कायदालाई संरक्षण दिइरहेको थियो । यतिबेला बिन लादेनसँग आफ्नो संगठनलाई जोगाउने कुनै योजना थिएन । अर्थात्, लकायदाका लागि ९/११ को हमला महँगो बनिदियो ।

तालिबानी सत्ता ढलेपछि यो समूह पनि क्षत–विक्षत भयो, यस समूहका शीर्ष नेताहरु या त मारिए वा बन्दी बनाइए । जीवित भएकाहरु अफगानिस्तानसँग सीमा जोडिएका पाकिस्तानका ग्रामिण इलाकाहरुमा शरणार्थी बनेर बसे । लुक्नु, उनीहरुको जीवनको नियति बन्यो ।

उनीहरुबीचको चिट्ठीपत्रले २००१ पछि बिन लादेन बाँचुन्जेलसम्म अलकायदाले फेरि कहिल्यै विदेशी भूमिमा आक्रमण गर्नसक्ने क्षमता बनाउन नसकेको विषय उजागर गर्छ । हुनत ः यो समूहले नोभेम्बर २००२ मा केन्यामा आक्रमण गरेको थियो, तर यहाँ आक्रमण गर्ने जिम्मा पाएका व्यक्तिहरु २००० को अन्त्य वा २००१ को सुरुवातमै पूर्वी अफ्रिका पुगिसकेका थिए, अर्थात् यो योजना अल कायदाले तालिबानको संरक्षण पाएकै समयको थियो ।

२०१४ मा बिन लादेनका उत्तराधिकारी अयमान अल जवाहिरी ईस्लामिक स्टेट (आईएसआईएस) लाई अवैध ठहर गर्नुपर्ने अवस्थामा पुगिसकेका थिए, यो जिहादी समूहले अलकायदालाई उछिनेको थियो र अमेरिकी सर्वोच्चताविरुद्ध मुस्लिमहरुलाई उचालिरहेको थियो ।

तर, पनि पछिल्ला दुई दशकमा अतिवादीहरुका साना समूहले विश्व राजनीतिमा पारेको प्रभावलाई नजरअन्दाज गर्न भने असम्भव छ । बिन लादेनले विश्वलाई परिवर्तन गरेका थिए, तर यो परिवर्तन उनले चाहेजस्तो भएन ।

अन्य आतङ्कवादीहरुलाई पत्र

तालिबानको पराजयपछि पाकिस्तान गएका धेरै अलकायदाका लडाकु र नेताहरु त्यहाँ पक्राउ परे । यस्तै, नियती व्यहोर्नुपर्ने त्रासका कारण अलकायदाका बाँकी नेता र बिन लादेनको परिवारका धेरै सदस्यहरु २००२ को सुरुवातमै सीमा पार गरेर ईरान गएका थिए । त्यहाँ सुन्नी मिलिसियाहरुले उनीहरुलाई नक्कली कागजात बनाउन र घर भाडामा लिन सहयोग गरे । तर, २००२ को अन्त्यसम्ममा ईरानी अधिकारीहरुले यीमध्ये अधिकांशको खोजी गरिसकेका थिए र उनीहरुलाई जमिनमुनि गोप्य रुपमा कैद गरिएको थियो ।

त्यसपछि उनीहरुलाई उच्च सुरक्षासहितको कम्पाउन्डमा लगियो, उनीहरुका महिला आफन्त र बालबालिकालाई पनि उनीहरुसँगै लगिएको थियो ।

२००८ मा लादेनका छोरा साद ईरानबाट भागे, ईरानी अधिकारीहरुले अल कायदाका बन्दीहरुलाई कसरी दुख दिन्छन् भन्नेबारे उनले बाबुलाई पत्र लेखेका थिए । बन्दीहरुको स्वास्थ्यमा अधिकारीहरुले कसरी नजरअन्दाज गरिरहेका छन् र उनीहरुको मानसिक समस्या कसरी बढिरहेको छ भन्ने विषय यस पत्रमा स–विस्तार उल्लेख छ ।

जतिबेला सादकी गर्भवती श्रीमतीलाई सुत्केरी गराउन अस्पताल लैजानुपर्ने थियो, त्यतिबेला जेलका अधिकारीहरुले बेवास्ता गरेका थिए । पेटभित्र शिशु चल्न बन्द हुँदा पनि उनलाई अस्पताल लगिएन र अन्तत, उनी मृत शिशुलाई जन्म दिन बाध्य भइन् ।

अल कायदाका बन्दीहरुलाई यातना दिएर आनन्द लिन र बन्दीहरुको साहस तोड्न ईरानीहरु पोख्त भएको सादले लेखेका थिए । लिबियाका जिहादी नेता अबु उन्स अल सुबायी पनि ईरानकै जेलमा थिए । उनी अन्ततः २०१० मा रिहा भए । त्यसयता उनले लादेनलाई पत्र लेख्दै ईरानलाई ‘महान् सैतानको शासन’ भनेका छन् । चरम यातना पाएपछि आफुले बन्धक बनाउनेहरुसँग भीख माग्दै अन्यत्र कुनै देशमा पठाइदिन आग्रह गरेको समेत उनले उक्त पत्रमा उल्लेख गरेका छन् । यातना चरम भएपछि उनले ‘बरु ईजरायलमै पठाइदेऊ’ भनेका थिए ।

जतिबेला यस्ता घटनाहरु भइरहेका थिए, त्यतिबेला लादेनलाई यसबारे जानकारी थिएन । अबोट्टावाद पेपर्सले देखाएअनुसार अफगानिस्तानमा अमेरिकी सेनाले आक्रमण गरेपछि लादेन एकाएक गायब भएका थिए, उनी त्यसपछि तीन वर्षसम्म अल कायदाको कमाण्डमा थिएनन् । यद्यपि, उनले यस समयमा पनि विज्ञप्ति जारी गर्ने गरेका थिए । कुवेत, पाकिस्तान, रुस, ट्युनिसिया र यमनमा भएका जिहादी आक्रमणहरुको उनले समर्थन गरेका थिए ।

२००४ मा मात्रै लादेनले अल कायदाका दोस्रो तहका नेताहरुसँग आफ्नो सम्पर्क सुरु गरे । उनी अन्तर्राष्ट्रिय आतङ्कवादको नयाँ अभियान सुरु गर्नका लागि आतुर थिए । सम्पर्क पुनस्र्थापना भइसकेपछि पठाएको पहिलो पत्रमा उनले ९/११ को न्युर्योक हमलाजस्तै अर्को हमला गर्ने खाका तयार भएको उल्लेख गरेका छन् ।

यस्तो आक्रमण गर्न अति कठिन भएमा रेलवे लाईनमा निशाना बनाउने वैकल्पिक योजना पनि उनीसँग थियो । उनका सहयोगीहरुले पनि तत्कालै जवाफ पठाएका थिए ः अलकायदा क्षतिग्रस्त भइसकेको छ र यस्तो आक्रमण गर्ने प्रश्नै आउँदैन ।

सेप्टेम्बर २००४ मा तौफिक नामका दोस्रो तहका एक नेताले लादेनलाई पत्र पठाएका छन् । जहाँ उनले अमेरिकाले अफगानिस्तान आक्रमण गरिसकेपछि अवस्था कति गाह्रो बनेको थियो भनेर लेखेका छन् । ‘हाम्रो प्रताडना र समस्याहरु हृदयविदारक थिए । हाम्रा कमजोरी, असफलता र लक्ष्यहिनता हैरानीपूर्ण थिए,’ उनले लेखेका थिए । बिन लादेनको अनुपस्थितीले संकटलाई थप मलजल गरेको उनको पत्रमा उल्लेख थियो । ‘हामी मुस्लिमहरुलाई बेइज्जत गरियो र हाम्रा भूमिहरु कब्जा भए । हाम्रा स्रोतहरु खोसिए । आम रुपमा जिहादी र विशेषगरी हामी अलकायदामाथि यही भयो,’ पत्रमा उल्लेख छ ।

दोस्रो तहका अर्का नेता खालिद अल हबिबले लादेनलाई लेखेको पत्रमा पनि उनको तीन वर्षे अनुपस्थितिमा लडाइँको मैदानमा निकै थोरैमात्र उपलब्धि भएको उल्लेख छ । उनले केवल तीनवटा आक्रमणको गणना गर्दै ती आक्रमण पनि रकेट र टाढाको दूरीबाट संभव भएको उल्लेख गरेका छन् । अर्का एक जिहादीले लेखेको पत्रमा पाकिस्तानले जिहादीहरुमाथि अति दबाब बढाएपछि विदेशमा अलकायदाले गर्ने आक्रमण रोक्नुपरेको उल्लेख छ ।

हबिबले लेखेको पत्रमा ९० प्रतिशत तालिबानी पनि अमेरिकी डलरमा बिकेको उल्लेख छ । सबै यतिमै खतम नभएपनि, तालिबान र अलकायदाप्रति सद्भाव राख्नेहरु बिकिसकेको लादेनले बुझेका थिए ।

अल कायदालाई जीवन जल

तर, यही समय बिन लादेन आफ्नो सम्पर्कलाई पुनस्र्थापित गर्न सफल भएकाले अलकायदाका कामहरु सुरु भए । अमेरिकी गठबन्धनले तालिबानलाई अफगानिस्तानको सत्ताबाट हटाइसकेपछि बुसको आतङ्कवादविरुद्धको युद्ध दोस्रो चरणमा पुग्यो । अमेरिकाले २००३ मा इराकमाथि हमला ग–यो । यो देशमा धर्मनिरपेक्ष शासक सद्दाम हुसैनले शासन गरिरहेका थिए, उनले जिहादीहरुलाई घृणाको दृष्टिले हेर्थे ।

अमेरिकी नेतृत्वको गठबन्धनले सद्दामको क्रुर शासनको अन्त्य ग–यो, तर, सँग–सँगै ईराकी सेनाको पतन र अन्य निरपेक्ष सरकारी संयन्त्रहरुमा रिक्तता सिर्जना पनि गरायो । अमेरिकी हस्तक्षेपपछि ठूलो रुपमा यहाँ साम्प्रदायिक दंगा सुरु भयो । सुरुवातमा, यसको मार अल्पसंख्यक अरब सुन्नीहरुले व्यहोर्नुप–यो । जो सद्दाम हुसैनको समयमा सत्तानिकट थिए ।

अलकायदा र अन्य जिहादी संगठनहरुलाई यो परिस्थिति जीवन जल सरह बन्यो । उनीहरु सुन्नी समुदायको रक्षकका रुपमा आफुलाई उभ्याउन सक्षम थिए । लादेनलाई २००४ मा लेखेको पत्रमा हबिबले भनेका छन्,‘भगवान्ले जब हाम्रो प्रताडना र बेसाहारा अवस्थाबारे जान्नुभयो, तब उहाँले हामीलाई जिहाद र समग्र उम्माको ढोका ईराकमा खोल्नुभयो ।

हबिबले विशेषगरी अबु मुसाब अल जर्कावीको उदयबारे संकेत गरेका थिए । यी जोर्डनी जिहादीको चर्चा ईराकमा अमेरिकी हस्तक्षेपपछि चुलिएको थियो । २००४ सम्म आइपुग्दा लादेन नभएर जर्कावी नै विश्वको सबैभन्दा शक्तिशाली जिहादी समूहका नेता थिए ।

हिंस्रक जिहादप्रतिको साझा प्रतिबद्धतालाई अपवादका रुपमा लिने हो भने उनीहरुबीच धेरै मतभिन्नताहरु थिए । लादेन धनी परिवारबाट थिए । गरिबीमा हुर्किएका जर्कावी धार्मिक अतिवादीमात्र थिएनन्, अपराधी र लुटेराका रुपमा जेल सजायसमेत काटिसकेका थिए ।

दुईबीच ठूलो खाडल भएपनि आफ्नो समूह जमात अल तौहिद वाल जिहादलाई अलकायदामा मिसाउन जर्कावी आतुर थिए । बिन लादेनलाई पठाएका शृंखलाबद्ध पत्रहरुमा जर्कावीले आफ्ना समर्थकहरु ‘बाबुको छोरा रहेको’ उल्लेख गरेका छन् । बाबु भनेर उनले बिन लादेनलाई संकेत गरेका हुन् । उनले आफ्नो समूह अलकायदाको शाखामात्रै रहेको पनि उल्लेख गरेका छन् । उनले ईराकमा रहेका सबै जिहादी समूहहरुलाई एकिकरण गर्ने प्रयास गरिरहेको विषयमा पनि अलकायदाका नेताहरुलाई आश्वस्त गराएका छन् ।

जार्कावीको लगावले लादेनलाई दंग बनायो । ‘ जमात अल तौहिद वाल जिहादसँगको एकता अद्भूत हुनेछ,’ लादेनले आफ्ना सहायक जवाहिरी र तौफिकलाई पत्र लेखेका थिए,‘यस विषयलाई गम्भिर ध्यान दिनुहोला । जिहादीहरुको प्रयासलाई एकीकरण गर्ने दिशामा यो महत्त्वपूर्ण कदम हो ।’

डिसेम्बर २००४ मा बिन लादेनले एकिकरण प्रक्रियालाई औपचारिकता दिए । उनले जार्कावीलाई नयाँ समूह ‘अल कायदा ईन मेसोपोटामिया’ को नेता तोके । यस समूहलाई पश्चिमा मिडियाहरुले प्रायः ‘अलकायदा ईन ईराक’ भन्छन् ।

जार्कावीको पहलमा अन्ततः सोमालिया, यमन र उत्तर अफ्रिकाका जिहादी समूहहरु अलकायदासँग जोडिए ।

यी समूहहरु प्रत्यक्ष रुपमा अल कायदामार्फत जन्मिएका थिएनन् । तर उनीहरुको नेतृत्वले अन्तर्राष्ट्रिय जगत्मै त्रास छर्ने अलकायदा ब्रान्ड लिनुमा धेरै फाइदा देख्यो । विशेषगरी, उनीहरुले आफ्ना समर्थकका आँखामा आफ्नो अवस्था मजबुत भएको देखाउन चाहन्थें र अन्तर्राष्ट्रिय मिडियाको ध्यान पनि खिच्न सक्थें । यस्तो गर्दा चन्दा उठाउन र नयाँ समर्थकहरुलाई भित्र्याउन सजिलो हुने उनीहरुको आशा थियो । यसले काम ग–यो । अलकायदाबाट दिक्क बनेका विश्वभरका आतङ्कवाद नियन्त्रण गर्ने निकायहरुले पनि प्रायः सबै जिहादीहरुलाई एउटै छातामुनि राख्छन् । यस्तो गर्दा अल कायदाको प्रचार भइरहेको विषयलाई भने कतिले ख्याल गरेनन् ।

यसरी, अलकायदाको संगठन टुक्रा–टुक्रा भएपनि यसैको नामबाट आतङ्ककारी गतिविधि गर्ने समूहहरुमार्फत यो ब्रान्ड बाँच्यो । जार्कावीसँग लादेनको गठजोडपछि यो लहर सुरु भएको थियो । २००७ को सूरुवातमा साउदी जिहादी धर्मगुरु बिसर अल बिसरले अल कायदाका एक नेतालाई पत्र लेखेका थिए । उनले यो गठजोडको उदाहरण दिदैं ‘अलकायदामाथि भगवान्ले कृपा गरेको’ भनेर लेखेका थिए । ईराकमा जिहादीहरुले विजय हासिल नगरेको भए अलकायदा अन्त्य पनि हुनसक्ने पत्रमा उल्लेख थियो । ‘यो भगवान्को बाटोमा त्याग गरेका जिहादका मानिसहरुलाई त्यसको मुल्य चुकाउने भगवान्को शैली हो,’ ईराकमा बढ्दो प्रभावबारे उनले लेखका थिए ।

परिस्थिति बिग्रियो

बिन लादेनलाई आफुसँग गठजोड गरेका समूहहरुले अमेरिकाविरुद्ध आक्रमण गर्नेछन् भन्ने लागेको थियो । ‘उनीहरुको सफलताले मुस्लिमहरुको नैतिकता बढाउनेछ र उनीहरु त्यसबापत जिहादप्रति थप व्यस्त र सहयोगी हुनेछन्,’ लादेनले जवाहिरी र तौफिकलाई डिसेम्बर २००४ मा लेखेको पत्रमा उल्लेख छ ।

तर लादेनको हिसाब फेरि गलत निस्कियो । आफ्नो नियन्त्रणमा नरहेका समूहहरुलाई अलकायदाको ब्रान्ड दिने निर्णय गलत देखियो । ईराकका जिहादी समूहहरुलाई आफ्नो ब्यानरमा एकजुट गर्न जार्कावी असफल भए । ईराकको सबैभन्दा स्थापित जिहादी समूह अन्सर अल सुन्नाले उनीसँग एकीकरण गर्न मानेन ।

यसभन्दा धेरैअघि लादेन र उनका समर्थकहरुले नयाँ सहयोगीहरुबाट प्राप्त चिट्ठीमा उल्लेख गरिएका गुनासाहरु पढेका थिए । ‘अन्सर अल सुन्नाले मेरो विषयमा भ्रम फैलाइरहेका छन्,’ जार्कावीले एक पत्रमा उल्लेख गरेका थिए, ‘उनीहरु म अन्तर अल जवाबिरीजस्तै बन्दैछु भन्दैछन् ।’ (अन्तर अल जवाबिरी अतिवादी अल्जेरियन समूहका नेता हुन्, जो २००२ मा मारिएका थिए । जिहादीहरु समेत उनलाई एकपक्षीय र क्रुर नेता ठान्छन् । )

‘के तपाई कल्पना गर्नसक्नुहुन्छ ?’ उनले आक्रोशपूर्वक लेखेका छन् । अलकायदाका लागि उनको आक्रोशभन्दा ठूलो चिन्ता उनको समूहको जथाभावी आक्रमण थियो । यस आक्रमणमा परेर ठूलो संख्यामा ईराकीहरुले ज्यान गुमाए, विशेषगरी सिया मुस्लिम निशानामा थिए ।

बिन लादेन चाहन्थे अमेरिकीहरुलाई घाइते बनाएर वा मारेर अलकायदा हेडलाईन बनोस् । उनी ईराकी नागरिकलाई मार्न चाहँदैन थिए, चाहे ती सिया नै किन नहुन् । ईराक यतिबेला विश्वव्यापी जिहादको केन्द्रमा थियो, पाकिस्तानका ग्रामिण इलाकामा लुकेर ईराकका सैन्य समूहहरुलाई एकीकृत गराउन अल कायदाका नेताहरुलाई सकस प–यो ।

बरु, विभाजन अझै बढेर गयो । जवाहिरीले जार्कावी र अन्सर अल सुन्नाबीच मध्यस्थताको प्रयास पनि गरेका थिए, तर सफल भएनन् । सुन्नाले स्पष्ट शर्त राखे ः मेसोपोटामियामा अलकायदाको शैली सुधार्ने हो भनेमात्रै जर्कावीसँग एकता हुनसक्छ ।

तत्कालीन समय अलकायदाको विदेश सम्बन्ध हेर्ने अतिया अब्द अल रहमानी जार्कावीको नेतृत्वबाट खुसी थिएनन् । उनले बिन लादेनलाई पत्र लेखे, ‘हामीले हाम्रो भाइलाई उनका आफ्नै विश्लेषणका आधारमा एकलौटी निर्णय लिएर काम गर्न दिन हुँदैन ।’

अतियाले जार्कावीलाई लेखेको पत्र २००५, डिसेम्बरमा अमेरिकी गुप्तचरहरुले फेला पारेका थिए । जहाँ अतियाले जार्कावीसँग आक्रमण कम गर्नुपर्ने तर्क गरेका छन् । ‘आक्रमणको संख्या घटाउनुपर्छ । अहिलेको दैनिक आक्रमणलाई घटाएर आधा वा अझै कम गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण विषय जिहादलाई निरन्तरता दिने हो र लामो युद्धको हाम्रा लागि लाभ हो,’ अतियाले लेखेका छन् ।

२००६ मा अमेरिकी हवाई हमलामा जार्कावी मारिएपछि अलकायदाको अवस्था थप खराब बन्यो । बिन लादेन र अल कायदाका कुनै नेतासँग कुनै सल्लाह नगरी जार्कावीका उत्तराधिकारीहरुले आफैलाई ‘ईस्लामिक स्टेट अफ ईराक’ (आईएसआई) को नेता घोषणा गरे । २००७ मा आईएसआईका नेताहरुले सामुहिक रुपमा अलकायदाका पत्रहरुको जवाफ पठाउन बन्द गरे । एक हिसाबले यो मौनता ईराकी जिहादीहरुले आफ्नो प्रभाव गुमाउँदै गएको संकेत पनि थियो । यतिबेला अमेरिकी सेनाले पनि आतङ्कवादीहरुलाई तह लगाउनका लागि लागि सुन्नी आदिवासी शेखसँग देखावटी सम्बन्ध स्थापित गरिरहेको थियो ।

छायाँमा अलकायदा

अलकायदाको व्यवस्थापकीय कमजोरी ईराकमा मात्रै सिमित थिएन । २००९ मा यमनमा जिहादीहरुको समूहले आफैलाई अरेबियन प्रायदीपको अलकायदा (एक्युएपी) घोषणा गरे । उनीहरुले अलकायदाको मूल नेतृत्वलाई खबर नै गरेका थिएनन् । उनीहरुले बिन लादेनप्रति प्रतिबद्ध रहेको सार्वजनिक घोषणा पनि गरेनन् ।

यो कदम ठूलो टाउको दुखाइ थियो । २००९ आसपास एक्युएपीका नेता कासिम अल रेमीले अल कायदाको नेतृत्वलाई पत्र लेखेका थिए । त्यस पत्रमा उनले आफु र आफ्नो समूहका शीर्ष सदस्यहरु अनुभवको कमीले प्रताडित बनेको लेखेका थिए । उनले नेतृत्व तथा प्रशासनमा संकट देखिएको उल्लेख गरेका थिए । ‘कहिले, कतिबेला र कहाँ हान्ने’ भन्नेबारे आफु स्वयम् तयार नरहेको उनको स्विकारोक्ती थियो । तर, अनुभवको कमीले एक्युएपीका शीर्ष नेता नसिर अल वुुहायशीलाई छेकेन । उनले यमनमा ईस्लामिक राज्य बनाउन चाहेको घोषणा २०१० मा गरे । वुहायशीलाई निरुत्साहित गर्नका लागि अल कायदाका नेताहरुले ठूलै असरत गर्नुपरेको थियो । एक्युएपी आफैंले आफुलाई जिहादी संगठन घोषणा गरेको बिन लादेनलाई चित्त बुझेको थियो ।

‘के तिमीहरुले साँच्चै जिहादको योजना र तयारी गरेका छौं ?’ लादेनले तिखो भाषामा वुहायसीलाई पत्रमार्फत सोधेका थिए,‘वा सरकारले गरेका थोरै आक्रमणको नतिजा र त्यसमा दाजुभाईले देखाएको प्रतिक्रियाको उपस्थिती हो यो । र, यो प्रतिक्रियावादी लडाइँको मध्यमा यसलाई निरन्तरता दिनुपर्छ भन्ने तिमीहरुलाई लागेको हो ?’

यसपछि वुहायशीले पनि लादेनलाई पत्र पठाएका थिए, जसलाई पढ्दा उनी नेतृत्वले दिएको सल्लाह र निर्देशनबाट आक्रोशित थिए भन्ने बुझिन्छ ।

अलकायदाले यमनमा हुथीलाई निशाना बनाएर आक्रमण नगर्न र यमनी सरकारसँगको लडाइँ बन्द गर्न भनेको थियो । ईस्लामिक स्टेट घोषणा गर्ने आफ्नो योजनाबाट पछाडि हटेपनि वुहायाशीले अल कायदाका वरिष्ठ नेताहरुका अन्य निर्देशन अवज्ञा गरे ।

अलकायदाका नयाँ बाई–प्रडक्टमध्ये ‘उत्तर अफ्रिकी समूह ‘अलकायदा इन द इस्लामिक मगरेब’ ले लादेनलाई खासै समस्या दिएको थिएन । अन्य सहयोगीहरुले जसरी उसले राज्य घोषणा गर्न चाहेको थिएन, बरु पश्चिमा सरकारले बन्दी बनाएका जिहादीहरुलाई रिहा गराउनका लागि पश्चिमा नागरिकहरुलाई नै बन्दी बनाउनेमा केन्द्रीत थियो ।

यो रणनीतिले पश्चिमा सर्वसाधारणमाझ आफ्नो प्रभाव देखाउनसक्ने लादेनको बुझाई थियो र उनले एक्युआईएमका नेता अबु मुसाब अब्दुल बादुदको प्रसंशा गरेका थिए ।

तर, पनि भनेको समयमा एक्युआईएमका नेतासँग कुराकानी गर्न लादेन असमर्थ थिए, किनकी कुरियरको तालिकामा उनको सञ्चार निर्भर हुन्थ्यो । कहिलेकाँही उनको सूचना निकै ढिलो आइपुग्थ्यों र उल्टै संगठनका लागि घातक साबित हुन्थ्यों ।

एकपटक लादेनकै हस्तक्षेपले गर्दा पश्चिमा बन्धकहरूलाई रिहा गर्ने सहमति बन्न सकेन, जबकी यो एक्युआईएमकै लागि फलदायी थियो ।

२००९ सम्म अलकायदाका धेरैजसो वरिष्ठ नेताहरु उनीहरुका असंयोजित सहयोगीहरुबाट हैरान भइसकेका थिए । यही वर्ष सोमाली जिहादी समूह अल सबाबका नेता मुख्तर अबु अल जुबायरले अलकायदासँग मिसिने निर्णय गर्दा बिन लादेनले गाह्रोगरी खुसी प्रकट गरेका थिए । जुबायरले पनि इस्लामिक स्टेटको घोषणा गर्न चाहेका थिए । जुबायरलाई अतियाले पठाएको पत्रमा लादेनप्रतिको आफ्नो बफादारीतालाई गोप्य राख्नु नै उत्तम हुने उल्लेख छ । यता, बिन लादेनले सार्वजनिक रुपमा एकिकरण गर्ने विषय अस्विकार गर्दै जुबायरलाई राज्यबाट इमिरेटमा झर्न तथा यी सबै काम सुस्तसँग गर्न भनेका छन् ।

लादेनको इच्छाका कारण जुबायर चुप रहन बाध्य बने, तर उनको प्रतिक्रियाले उनी समस्यामा छन् भन्ने देखिन्थ्यों । उनले आफु र आफ्नो समूहलाई दुश्मन र समर्थकहरु दुबैले अल कायदाकै हिस्साका रुपमा हेर्न थालिसकेको विषय औल्याएका थिए ।

लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको नेतृत्व लिए, त्यसपछि उनले अल सबाबलाई अल कायदामा मिसाए ।

लादेनले जीवनको अन्तिम वर्षमा आफ्ना सहयोगीहरु नै विश्वव्यापी जिहादका लागि खतरा बनेको उल्लेख गरेका छन् । उनले ती समूहहरुले गर्ने केही आक्रमणले अनावश्यक रुपमा सर्वसाधारणको ज्यान लिएको उल्लेख गरेका छन् । त्योभन्दा खराब, मुस्लिम विश्व नै यस्ता आक्रमणबाट स्तब्ध बनेको उनले उल्लेख गरेका छन् ।

जिहादीहरुको नयाँ पुस्ताले आफ्नो बाटो बिर्सिएको उनको निष्कर्ष थियो ।

२०१०–११ को हिउँदमा अरब आन्दोलनका नाममा सुरु भएको विद्रोहले लादेनलाई केही आशा दिएको थियो । ट्युनिसिया, इजिप्ट र लिबियामा निरङ्कुश सत्ता ढाल्नेहरुलाई उनले ‘क्रान्तिकारी’ भनेका थिए, र उनीहरुको सफलतामा खुसी थिए ।

तर चाडैं नै उनी समस्यामा परे । आफ्ना परिवारका सदस्यहरुसँगको कुराकानीमा उनले यी विद्रोहहरु अपरिपक्व रुपमै जन्मिएको भनेर चिन्ता जताउँथे । त्यसैगरी अलकायदा र अन्य जिहादी समूहहरु पूर्ण रुपमा छाँयामा परेको उनको चिन्ता थियो ।

उनले भनेका थिए, ‘हामीले प्रार्थनालाई तीव्र बनाउनेबाहेक अरु केही गर्न सक्दैनौँ ।’

तर, यी विद्रोहहरुको रक्षा गर्न लादेन प्रतिबद्ध थिए । र, उनले सार्वजनिक विज्ञप्तिहरुमार्फत आन्दोलनकारीहरुलाई सल्लाह दिने मनसाय पनि राखेका थिए ।

अरब विद्रोहबारे आफ्नो एकमात्रै प्रतिक्रियालाई प्रारम्भिक रुपमा रेकर्ड गर्नुअघि उनले कम्तिमा १६ वटा मस्यौदा लेखेका थिए । र, उनका छोरीहरु सुमया र मरयमले शब्द संयोजन गर्ने काम गरेका थिए, लादेनले अन्तिम वर्षहरुमा जारी गर्ने धेरैजसो सार्वजनिक सन्देश उनीहरुले नै लेखेका थिए । अप्रिल २०११ को अन्त्यतिर, अन्तिम रेकर्डिङअघि एक चरण फेरि यसमा सम्पादन गर्ने उनीहरुको योजना थियो । तर समय सकिइसकेको थियो । अमेरिकी सेनाले अबोट्टाबादस्थित कम्पाउन्डमा आक्रमण ग–यो । यतिबेलासम्म यो रेकर्डिङ त्यही थियो ।

र, अमेरिकी सेनाले यसलाई सार्वजनिक गरेको थियो । सायद, यहाँ आक्रमण भएको थियो भनेर पुष्टि गर्नका लागि यो रेकर्डिङले सहयोग गर्ने थियो । र, त्यही समय चलिरहेका लादेन मरेका छैन भनेर चलेका विभिन्न अफवाहहरुलाई गलत साबित गर्नुथियो ।

यो आक्रमण सुनियोजित रुपमा कार्यान्वयन भयो । ‘न्याय प्राप्त भएको छ,’ लादेनको मृत्यु घोषणा गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने । ९/११ को आक्रमणमा संलग्न व्यक्तिको मृत्यु भएको र मध्यपूर्वका तानाशाहहरुविरुद्ध शान्तिपूर्ण र धर्म–निरपेक्ष प्रदर्शन चलिरहेको हेर्दा यो क्षण जिहादी अभियान सकिएजस्तो लाग्थ्यों ।

छोटो समय बाँचेको खलिफा

वासिङटनमा ओबामा प्रशासनले बुसको ‘आतङ्कवादविरुद्धको युद्ध’ नामलाई छाडिसकेको थियो । तर, ओबामाले अलकायदाप्रतिको पूर्ववर्ती सरकारको फोकसलाई कायमै राखे । र, उनको टिम जिहादीहरुमा आएको विभाजनलाई छुट्टयाउन असफल रह्यो, यो महंगो प–यो । ईराकमा युद्ध गर्ने निर्णय लिदाँ बुस प्रशासनले यस देशसँग अल कायदाको सम्बन्धलाई अतिरन्जित गरेको थियो, सद्दामको सत्तालाई हटाउँदा आतङ्कवाद निरोधमा हुने फाइदालाई यर्थाथभन्दा बढी आँकेको थियो ।

यता, ओबामा प्रशासनले बिन लादेनको मृत्यु र ईराकबाट अमेरिकी सेना निकाल्दा जिहादीविरुद्धको युद्धमा पर्ने सकारात्मक प्रभावलाई धेरै आँक्यो । ‘ईराकबाट सेना निकाल्दा हामीलाई अल कायदाविरुद्धको युद्धमा केन्द्रीत हुन र यसको नेतृत्वविरुद्ध विजय हासिल गर्न सहज हुन्छ,’ ओबामाले अक्टुबर २०११ मा भनेका थिए ।

यही समय ईराकस्थित अलकायदाको अन्तिम सहयोगी आईएसआई नयाँ पुस्ताका नेताहरुसहित उदाइरहेको थियो ।

ओबामा प्रशासन र अन्य पश्चिमा सरकारहरु यो बढ्दो खतरालाई देख्न असफल भए । २०१० मा आईएसआईको नेतृत्वमा आफैंलाई अबु बकर अल बग्दादी दाबी गर्ने एक व्यक्ति आए, यी व्यक्ति को हुन् भन्ने स्पष्ट थिएन । ईराक सरकारको साम्प्रदायिक सोच र भ्रस्टाचारले आईएसआईलाई पुनर्गठन हुन र फर्कने अवसर मिलयो ।

२०१०–११ मा बग्दादीले ईराकी क्रिष्ट्रियन र सिया समुदायमाथि शृंखलावद्ध रुपमा आक्रमणहरु गरे । यो अभियानबाट अलकायदाका नेताहरु आक्रोशित थिए । ‘मैले बुझ्न सकिँन,’ लादेनमाथि आक्रमण हुनभन्दा केही महिनाअघिमात्रै जवाहिरीले उनलाई लेखेको पत्रमा उल्लेख छ,‘ के हाम्रा दाजुभाईहरु अहिलेको दुश्मनको संख्याले सन्तुष्ट छैनन् ? के उनीहरु यो सुचीमा नयाँ नाम थप्न आतुर छन् ?’

सिया समुदायलाई निशाना बनाउने काम बन्द गर्नका लागि आईएसआईका नेताहरुलाई निर्देशन दिनुपर्ने तर्क उनले लादेनलाई लेखेको पत्रमा उल्लेख छ । त्यसैगरी क्रिष्ट्रियनहरुमाथिको आक्रमण पनि बन्द गर्नुपर्ने उल्लेख छ ।

तर आईएसआईमाथि लादेनको कुनै प्रभाव बाँकी थिए । यो ईराकी समूह निकै अघि बढिसकेको थियो । यो अवस्था भने छोटो थियो । २०११ देखि २०१३ सम्म आईएसआई सिरियामा पनि बिस्तार भयो, यो देशमा आईएसआई छिर्नुअघि नै अरब विद्रोहको प्रभाव परिसकेको थियो, बसर अल असदको सरकार संकटमा परेपछि यहाँ रक्तपातपूर्ण गृहयुद्ध चलेको थियो ।

जुन २०१४ मा ईराक र सिरियाका धेरै भूभाग कब्जामा लिइसकेपछि आईएसआईका प्रवक्ता अबु मुहम्मद अल अदनानीले बग्दादी नै नयाँ खलिफाको नेता रहेको दाबी गरे । र यो समूहले भौगोलिक उपमाहरु त्याग्दै आफैंलाई ‘इस्लामिक स्टेट’ का रुपमा नामाकरण ग–यो ।

१० वटाभन्दा धेरै देशमा सक्रिय रहेका जिहादी संगठनहरुले नयाँ खालिफाप्रति बफादार रहने वाचा गरे । बदलामा, ईस्लामिक स्टेट (आईएसआईएस) ले पनि यी समूहहरुलाई ‘प्रान्त’ वा ‘खलिफाका सैनिक’ नाम दियो ।

बिन लादेनको मृत्युपछि अलकायदाले जवाहिरीको नेतृत्वमा काम गर्न थाल्यो, तर यतिबेलासम्म आईएसआईसले उसलाई छायाँमा पारिसकेको थियो । जसरी बिन लादेन आतङ्कवादको सीमाबारे बेखबर थिए, त्यसैगरी बग्दादी पनि राज्य सञ्चालन गर्ने मामिलामा जानकार देखिएनन् । उनको लक्ष्य एउटै फाइटर जेट पनि नउडाई अन्य राज्य कब्जा गर्ने थियो ।

२०१४ मा ओबामा प्रशासनले आईएसआईएसलाई कमजोर बनाउने र अन्तत परास्त गर्नेगरी ८३ वटा देशहरुसँग गठबन्धन ग–यो । २०१६ सम्म आईएसआईएसको पतन हुन थालिसकेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युद्धलाई जारी राख्यो, तर अन्तत गठबन्धनले आईएसआईएसको कब्जामा रहेका भूभागलाई कब्जामुक्त ग–यो ।

बग्दादीले लुकेर लडाँइ गर्ने बिन लादेनको रणनीतिलाई अस्विकार गरेका थिए, उनी साम्राज्य बनाउन चाहन्थें र विश्वव्यापी जिहादवादको अनुहारका रुपमा बिन लादेनको साटो आफुलाई उभ्याउन सफल भए । तर, पनि दुबैको नियति उस्तै रह्यो । अक्टुबर २०१९ मा अमेरिकी सेनाले उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तस्थित बग्दादीको कम्पाउन्ड घेरेर आक्रमण ग–यो । अमेरिकी सैन्य कुकुरहरुले बग्दादीलाई सुरुङसम्म लखेटे । बग्दादीले लगाइराखेको कपडामा आत्मघाती बम थियो, उक्त बम विस्फोट भएर उनी आफैं मरे । ‘विश्व अब सुरक्षित स्थान बनेको छ,’ ट्रम्पले घोषणा गरे ।

त्रासको निरर्थकता

बग्दादीको पतनको दुई वर्षपछि पनि जिहादी धरातल विभाजित अवस्थामा छ । जिहादी संगठनहरु बन्ने क्रम जारी छ, तर अलकायदा र आईएसआईएसले कुनै समय जारी प्रभाव जमाएका थिए, त्यसरी कुनै पनि समूहले प्रभूत्व कायम गर्न सकेको छैन । अहिले उनीहरुको क्षमता कम से कम एकपटक खतरा सिर्जना गर्ने, आत्मघाती अभियान चलाउने, कार पड्काउनेलगायतमै सिमित छ । जब, अर्को चरणको संघर्षको कुरा आउँछ, तब सबैको आँखा अफगानिस्तानमा अडिएको छ ।

अलकायदा, आईएसआईएस र अन्य धेरै समूहहरु यस देशमा सक्रिय छन् । तर, अफगानिस्तान सरकार र तालिबानबीचको बहृद द्वन्द्वका कारण उनीहरु छाँया परका थिए । अमेरिकी सेना फर्किएपछि देशमा कसले प्रभूत्व जमाउने भनेर उनीहरु संघर्षमा थिए । (अपडेट ः तालिबानले काबुल कब्जा गरेर आफ्नो सरकार गठन गरिसकेको छ । अमेरिकी सेना फर्किसकेको छ ।)

२०२० मा अमेरिका र तालिबानबीच दोहामा शान्ति सम्झौता भएको थियो, जसअनुसार अल कायदासहितका कुनै पनि समूह वा व्यक्तिलाई अमेरिका वा उसका सहयोगीमाथि खतरा पैदा गर्नेगरी आफ्नो भूमी प्रयोग गर्न नदिने वाचा तालिबानले गरेको छ ।

के आफ्नो वाचा तालिबानले कायम राख्छ ?

अबोट्टाबादमा भेटिएका दस्तावेजको मुल्याङ्कन गर्दा अल कायदाको नजरमा सबै तालिबानी सदस्यहरु कहिल्यै समान थिएनन् । तालिबानका केही गुटहरुले अमेरिकासँग वार्ता गर्न खोजिरहेको आशंका अल कायदाका नेताहरुले लामो समयदेखि गरिरहेका थिए । ‘तालिबानभित्रका दस्ताहरुले आतङ्कवादको आरोपबाट बच्नका लागि तालिबानसँग दूरी बनाइरहेका छन्,’ २००७ मा अतियाले बिन लादेनलाई लेखको पत्रमा उल्लेख छ । र, अल कायदालाई शक्तिहिन बनाउने सम्झौता स्विकार्न मानसिक रुपमा तालिबान तयार भएजस्तो देखिएको भन्दै २०१० मा जवाहिरीले लादेनलाई पत्रमार्फत सतर्क बनाएका थिए ।

९/११ यता तालिबानमा देखिएको गुटबन्दीका कारण अमेरिकासँग २०२० मा गरेको सम्झौतालाई लागु गराउन यस समूहका नेताहरुलाई कठिन हुनसक्छ । अमेरिकाका लागि तालिबानको गुटबन्दी कठिन समस्या प्रमाणित हुनसक्छ । तर, ९/११ यताको अल कायदाको अनुभव हेर्दा अफगानिस्तानमा शरण खोज्ने आतङ्ककारीहरुलाई पनि यो गुटबन्दीले समस्या पार्ने देखिन्छ ।

सद्भाव राख्ने सत्ता पनि सुरक्षित स्वर्ग हुनसक्छ भन्ने कुनै निश्चितता छैन ।

बिन लादेनले यो पाठ कठोर ढंगले बुझे । र, बग्दादीले कालान्तरमा भूभागमाथि नियन्त्रण जमाउनु अझै मुस्किल रहेछ भन्ने बुझे । वासिङटन र उसका सहयोगीहरुले पनि अन्त्य बिनाको आतङ्कवादविरुद्धको युद्ध निरर्थक छ भनेर महसुस गरेका छन् वा, कम्तिमासफल आतङ्कवाद निरोधक नीतिले वैध राजनीतिक गुनासोहरुलाई सम्बोधन गर्नुपर्छ भनेर उनीहरुले बुझ्नुपर्छ ।

वासिङटनले अल कायदा र उसको वर्गविरुद्ध अहिल्यै विजय घोषणा गर्न सक्दैन । यस समूहले अहिले पनि घातक आक्रमणका लागि प्रेरित गर्नसक्छ, चाहे त्यो सानै स्तरको किन नहोस् । यद्यपी, साना जिहादी समूहहरुले आशा गर्ने उपलब्धिको सीमा कति हुन्छ भनेर पछिल्ला दुई दशकले स्पष्ट देखाइसकेको छ । अमेरिकालाई घुँडामा टेकाउनेभन्दा उनीहरु स्वर्ग पुग्ने सम्भावना धेरै छ ।

स्रोत : https://www.foreignaffairs.com/

अनुवाद : अन्वेषण अधिकारी

तपाईको प्रतिक्रिया

RELATED POSTS