सन् २०१४ को निर्वाचनमा भाजपाको विजयसँगै राष्ट्रिय राजनीतिमा आउनुअघि मोदी १२ वर्षसम्म गुजरातको मुख्यमन्त्री थिए।

तर मोदीपछि कुनै पनि मुख्यमन्त्रीले गुजरातमा पाँचवर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्। त्यसपछि नियुक्त दुवै मुख्यमन्त्रीले आफ्नो कार्यकाल पूरा नहुँदै पदबाट हट्नुपर्‍यो।

भाजपाले पदावधि सकिनु एक वर्षअघि नै मुख्यमन्त्री विजय रूपाणीलाई फिर्ता गरेर हालै भूपेन्द्र पटेललाई मुख्यमन्त्री नियुक्त गरेको छ।

यसअघिकी मुख्यमन्त्री आनन्दीबेन पटेललाई पनि निर्वाचनको केही महिनाअघि मात्र सन् २०१६ मा रूपाणीका लागि पद खाली गर्न लगाइएको थियो।

कारण के हो

केही विज्ञहरूका अनुसार कुनै पनि नेताहरूले यो राज्यमा मोदीको उचाइकै राजनीतिक नेतृत्व प्रदर्शन गर्न नसक्नु नै मुख्यमन्त्रीहरू कार्यकाल अघि नै हट्नुपर्ने एउटा कारण हो।

राजनीतिक विश्लेषक जतिन देसाई यसअघिका मुख्यमन्त्रीहरू पटेल र रूपाणी दुवैलाई मोदीसँग तुलना गरिएको बताउँछन्।

“मोदीले मुख्यमन्त्रीको कार्यकालभरि भाजपाको राज्य वा केन्द्रीय स्तरबाट कहिल्यै चुनौती सामना गर्नुपरेन। उनले विकासप्रेमी नेताको छवि बनाएका थिए र अरू कोही पनि नेताहरू उनीसँग प्रतिस्पर्धामा आएका थिएनन्,” देसाईले बीबीसी गुजरातीसँग भने।

मोदीले दललाई एकताबद्ध राख्नुका साथै असन्तुष्टहरूलाई पनि सहजै समाधान गरेको विश्लेषक देसाईको दाबी छ। उनका उत्तराधिकारीले चाहिँ “समान” क्षमता प्रदर्शन गर्न नसकेको उनी बताउँछन्।

विरासत जोगाउने मोदीको रणनीति

तर कतिपय अन्य विश्लेषकहरू आफ्नो राज्यबाट अरू नेताहरूको उदयलाई रोक्न मुख्यमन्त्री परिवर्तन गरिरहेको ठान्छन्।

दशकदेखि गुजरातको राजनीति पछ्याइरहेका डाक्टर हरि देसाई भन्छन् – प्रधानमन्त्री मोदी गुजरातमा आफ्नो मात्रै विरासत कायम राख्न चाहन्छन्।

“यो रणनीति पनि पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जस्तै आफ्नो नेतृत्वलाई चुनौती दिनेहरूलाई रोक्ने किसिमको देखिन्छ। मोदी र भाजपाले त्यही रणनीति लिएका छन्,” उनले भने।

भाजपाले गुजरात जस्तै नेपालको पश्चिमी सीमावर्ती राज्य उत्तराखण्ड र दक्षिणी भारतको कर्णाटकमा पनि अर्को वर्ष हुने निर्वाचनअघि मुख्यमन्त्री परिवर्तन गरेको छ।

गुजरातको ताजा राजनीतिक अवस्थालाई मोदी प्रधानमन्त्री बनेदेखि जारी राजनीतिक अनिश्चयकै निरन्तरता भएको सङ्केतका रूपमा बुझिएको छ।

पटेल समुदायको प्रभाव

मोदीकी पहिलो उत्तराधिकारी पटेलले पद सम्हालेको छोटो समयमै त्यहाँको प्रभावशाली पाटीदार भनेर चिनिने पटेल समुदायको आन्दोलन सामना गर्नुपर्‍यो।

परम्परागत रूपमै भाजपालाई समर्थन गर्दै आएको यो समुदायले सरकारी सेवामा आरक्षण कोटाको माग गरेको थियो।

विश्लेषकहरू पटेल समुदायको आन्दोलन नियन्त्रण गर्न नसकेकै कारण उनलाई पार्टीले राजीनामा दिन आग्रह गरेको बताउँछन्।

उनलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने निर्णयले भाजपालाई फाइदै गर्‍यो। सन् २०१७ मा भएको विधान सभामा पनि भाजपाले गुजरातमा विजय हासिल गर्‍यो। अर्को वर्ष निर्वाचन आउँदै गर्दा भाजपाले पुनः त्यही रणनीति दोहोर्‍याउँदै मुख्यमन्त्री परिवर्तन गरेको हुनसक्ने विश्लेषण गरिएको छ।

पहिलो पटक विधायक बनेका र यसअघि कुनै पनि राजकीय अनुभव नभएका पटेललाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने भाजपाको निर्णयले विश्लेषकहरू आश्चर्यचकित भएका छन्।

अघिल्लो निर्वाचनमा घातलोडिया क्षेत्रबाट पहिलो पटक निर्वाचित भएपछि ५९ वर्षीय पटेल विधायक भएका हुन्।

गुजरात गृहराज्य भएका प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाह दुवैको रोजाई पटेल भएको बताइन्छ।

गुजरातका स्वास्थ्यमन्त्री मनसुख माण्डव्य र लक्ष्यदीप टापुका विवादास्पद प्रशासक प्रफुल खोदा पटेलजस्ता अग्रगामी नेताहरूभन्दा पटेललाई मुख्यमन्त्री छानिएको थियो।

चुनावी रणनीति

तर विज्ञहरूका अनुसार यो निकै सोचेर गरिएको निर्णय हो। नयाँ मुख्यमन्त्री पटेल गुजरातको २० प्रतिशत जनसङ्ख्या ओगटेको प्रभावशाली पाटीदार समुदायको प्रतिनिधित्व गर्ने नेता हुन्।

वर्षौँदेखि भाजपालाई भोट हाल्दै आएको यो समुदाय सरकारमा आफ्नो समुदायको प्रतिनिधित्व नभएको भन्दै पछिल्लो समय रुष्ट छ।

विगत दुई दशकदेखि निरन्तर गुजरातमा शासन गरिरहेको भाजपाका लागि यो राज्यले ठूलो महत्त्व राख्ने गरेको छ।

मोदीलाई प्रधानमन्त्रीको उम्मेदवारसम्म बनाउन सहयोग गरेको यो राज्यमा पटेल समुदायका मुख्यमन्त्री बनाउनुमा चुनावी रणनीति पनि कारण रहेको विश्लेषकहरूको बुझाइ छ।

नवनियुक्त मुख्यमन्त्री पटेललाई समर्थन गर्दै निवर्तमान मुख्यमन्त्री रूपाणीले आइतवार उनको नेतृत्वमा सफलतापूर्वक निर्वाचन सम्पन्न हुने बताएका छन्।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS