काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ‘स्क्रब टाइफस’ रोग देखिन थालेको छ । पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने स्क्रब टाइफसका बिरामी बढ्न थालेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार काठमाडौं उपत्यकामा समेत फाटफुट्ट स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. चालिसेले भने, ‘काठमाडौं उपत्यकामा पनि फाटफुट्ट यो रोगको संक्रमण देखिएको छ । काठमाडौं बाहिरबाट रोग पत्ता नलागेर आउने बिरामीमा समेत यो रोगको संक्रमण देखा परेको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लामा यसको संक्रमण देखिने बताए । ‘यो नयाँ रोग होइन । भूकम्प यता प्रत्येक वर्ष यो सिजनमा यसको संक्रमण देखा पर्दै आइरहेको छ ।’

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।

यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

के–के छन् लक्षणहरु ?

  • उच्च ज्वरो आउने
  • स्वास फेर्न गाह्रो हुने
  • धेरै टाउको दुख्ने
  • आँखा रातो हुने
  • जोर्नी र मांशपेशी दुख्ने
  • खोकी लाग्ने, वान्ता आउने, पेट दुख्ने र पखला लाग्ने
  • शरीरमा रातो बिमिरा आउने
  • टोकेको ठाउँमा कहिले कहीँ कालो दाग देखिने ।

कसरी सर्छ ?

खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुन्छ ।

कोभिड–१९ र स्क्रब टाइफसमा के छ समानता ?

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोभिड–१९ र स्क्रब टाइफसका बिरामीमा देखिने केही लक्षण मिल्दोजुल्दो छन् ।

  • ज्वरो आउने ।
  • श्वास फेर्न गाह्रो हुने ।

स्क्रब टाइफसको बिरामीमा ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा रातो बिमिरा देखा पर्ने लगायतका लक्षणहरु देखा पर्छन् । शरीरमा देखा परेको रातो बिमिराको वरिपरिको बीच भागमा कालो दाग देखिएमा स्क्रब टाइफसको संक्रमण भएको हुन सक्ने डा. पुन बताउँछन् ।

कसरी बच्ने ?

डा. पुनका अनुसार स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर समयमै उपचार नगरे यसले गम्भीर रुप लिएर मानिसको ज्यान समेत जान सक्छ ।

स्क्रब टाइफसबाट बच्न खाली खुट्टा खेतबारी वा जंगलमा जानु हुँदैन । खेतबारी वा जंगलमा जानै परे गमबुट लगाउने र शरीर पुरै ढाकिने गरी कपडा लगाउनुपर्छ । जसले गर्दा शरीरमा किर्ना प्रवेश गर्न पाउँदैन र त्यसको टोकाइबाट बच्न सकिन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

तीन दिनअघि मात्रै काठमाडौं बाहिरबाट ज्वरो आएर टेकु अस्पतालमा उपचार गराउन आएका ६ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको डा. पुन बताउँछन् ।

डा. पुनले अगाडि भने, ‘उनीहरु सबैमा ज्वरो थियो । तर शरीरमा रातो बिमिराका साथै रातो बिमिरा भएको बीच भागमा कालो दाग देखिएको थियो । शंका लागेर रगत परीक्षण गर्दा उनीहरु सबैमा स्क्रब टाइफसको संक्रमण देखियो ।’

यो रोगको लक्षण कोरोनासँग मिल्दोजुल्दो हुने भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपनि स्क्रब टाइफसको परीक्षण गर्न उनी सुझाव दिन्छन् । स्क्रब टाइफसको लक्षण देखिएमा समयमै परीक्षण गरी यसको पहिचान गर्न सके स्क्रब टाइफसबाट बच्न सकिने उनको भनाइ छ । घर वरिपरि घाँसहरु बढ्न नदिने, वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त ढंगले अन्नको भण्डारण गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS