काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसँग भएका नेता, कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आग्रह गरेका छन् । ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपालले अलमल्याएका, झुक्याएका, भ्रममा पारेका साथीहरु फर्किनुस् पार्टीमा । कार्यकर्ताहरु फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस्,’ काठमाडौं एमालेले बिहीबार गरेको कार्यक्रममा ओलीले भने, ‘माधव नेपाल, घरमा आगो लगाएर, खरानी धसेर तन्नम् भएर, तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । तर उहाँको व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तगत अहंकार, ईर्ष्याभाव, कुण्ठा र त्यसबाट ग्रसित भएर अनेकका जिन्दगीसँग माधव नेपालले जुन खेल खेल्नुभो, बहुतै डरलाग्दो ।’

अध्यक्ष ओलीले माधव नेपालका कारण आफ्नो भविष्य अफ्ठ्यारोमा नपार्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । ‘उहाँ पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । अब त जाने ठाउँ के छ र ? माथि कि कहाँ जाने ?,’ ओलीले प्रश्न गर्दै भने, ‘अरुको भविष्यसँग खेलबाड गर्ने ? देशको भविष्यसँग खेलबाड गर्ने ? म कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु, भ्रममा नपर्नुस् ।’

अध्यक्ष ओलीले मौरीको संगत गरेर मात्रै फूलबारी पुगिने भन्दै एमालेमा लाग्न आग्रह गरे । ‘मौरीको संगत लागेर गयो भने फूलबारी पुगिन्छ । झिंगाको पछि लागेर फूलबारी पुगिँदैन । फोहोरको डंगुरमा पुगिन्छ । त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया

RELATED POSTS