आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ। ओमानको अमिरत रंगशालामा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भयो।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका उनले १०५ बल खेलेर ५५ रन जोडे। त्यसक्रममा उनले ३ चौका हिर्काए।

ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके। कुशलले ४३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे। रोहित पौडेल २ रनमै पेभिलियन फर्के। विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भए।

डेब्यू खेलाडी गुल्शन झाले २८ रनको योगदान गरे। उनले ५३ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे। कुशल मल्ल भने शून्यमै आउट भए। यसअघिका चार खेलमा कुशलले तीन खेलमा एक रन र एक खेलमा चार रन मात्र जोड्न सकेका थिए।

सोमपाल कामी २ रनमा आउट हुँदा करण केसीले ११ बलमा २ चौका हिर्काउँदै १२ रन जोडे। सन्दीप लामिछाने १२ बल खेलेर ११ रनमा आउट भए। बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले ४ विकेट लिए। केल फिलिप्सले ३ विकेट हात पारे।

तपाईको प्रतिक्रिया

RELATED POSTS