म मोरङको बाहुनीमा जन्मिएँ । मेरो बाल्यकाल उतै बित्यो । विद्यार्थी जीवनमै चाडबाडमा आक्कलझुक्कल नाटक पनि खेलियो । कस्तो खेलियो थाहा छैन्, तर सबैले स्यावासी दिँदा उत्साहित भइन्थ्यो ।

त्यतिबेला कमलमणि नेपाल र आफ्नै दाजू अर्जुन कार्कीले नाटक गर्नुहुन्थ्यो । पछि दाईहरु काठमाडौं आउनुभयो । गाउँमा नाटकै हुन छाड्यो । मेरो पनि कलाकारितासँग सम्बन्ध टुट्यो ।

म पनि २०५५ मा एसएलसी सकेर काठमाडौं आएँ । ब्याचलर पढ्न थालेपछि कमलमणि दाईसँग पुनः भेटघाट हुन थाल्यो । उहाँकै पछिपछि लागेर नाटक हेर्न जान थालेँ । मैले नबिराइ नाटक हेर्थेँ । त्यहाँ सौगात मल्ल लगायत धेरै कलाकारसँग हिमचिम हुन थाल्यो । मैले विस्तारै नाटकमा सहायक भूमिका हुँदै प्रमुख भूमिका निर्वाह गर्न थालेँ । पछि फिल्महरु पनि खेलियो । मेरो अभिनय यात्रा संगतकै फल हो ।

म काठमाडौं आएपछि भाडाको घरमा बस्यौं । सुरुको बसाइ लाजिम्पाट थियो । अहिले पनि भाडाकै घरमा बस्छु, तर बसाइ सर्दै–सर्दै कोटेश्वर आइपुगेको छु । यो बिचमा सर्नैपर्ने विभिन्न बाध्यताले ठाउँ ठाउँमा सरियो । सुरुमा दाईहरु, मामा र आफन्तको घरमा बसेँ । काठमाडौंमा अभिभावक भएकैले बस्न समस्या परेन । जब मैले नाटक खेल्न थालेँ, मेरो कलाकारिता सुरु भयो । अनि, म गुरुकुलमै होस्टल बस्न थालेँ । करीव ८-९ बर्षजति गुरुकुल बसियो होला ।

म अहिले पनि भाडाकै घरमा बस्छु । अझै घर बनाउन सकिएको छैन । अर्थात्, त्यो समय आइपुगेको छैन । मिहेनत गर्नुपर्छ, त्यो दिन पक्कै आउँछ । भाडाको घरमा बस्दा महिना मर्ने वित्तिकै घरबेटीलाई भाडा बुझाउनुपर्छ । आफ्नो घर भएपछि भाडा तिर्नबाट मुक्त भइन्छ । महिना मर्ने बित्तिकै घरबेटीलाई भाडा तिर्नु पर्दैन भन्ने भएपछि ढुक्क पनि हुन्छ ।

तर, घरको सपना देखेर मात्र भएन । यथार्थ पनि मिल्नु प¥यो । यो अवसर एक्कासी मिल्ने होइन । मिहेनत गरी काम गर्दै जाँदा यथार्थको नजिक पुग्न सकिन्छ । मतलब, आफ्नै घर बनाउन सकिन्छ ।

म अहिले काममा फोकस्ड छु । कलाकारिता कहिल्यै सिकेर सकिदैन रैछ । सिक्दै अगाडि बढ्नुपर्ने रैछ । यो क्षेत्रमा पनि मिहिनेत पक्कै गर्नुपर्छ । जसले मिहिनेत गर्छ त्यो मात्र अगाडि बढ्छ । भाग्यले देला भनेर कोही हात बाँधेर बस्नु हुँदैन ।

म कलाकारितामै केन्द्रित छ, आफ्नो काममा केन्द्रित छु । आफूमा निखारता ल्याउन प्रयासरत छु । म अहिले घरमा फोकस्ड छैन । घरको सपना पनि देखेको छैन । सपना देख्दैमा घर किन्न वा बनाउन सकिने पनि होइन । त्यो समय आएपछि हुने कुरा हो । काम गरेर पैसा कमाएपछि यथार्थमा परिणत हुने हो । अहिले धेरै कलाकारले आफ्नै घर-गाडी जोड्नुभएको छ । त्यो उहाँहरुको मेहेनतको फल हो ।

मलाई लाग्छ, घरको सपना देखेर बस्नु समयको बर्बादी हो । त्यो समय काममा मिहिनेत गरे घर-गाडी चाँडै जोड्न सकिन्छ । म पनि घरको सपना वा कल्पनामा अल्मलिएर बसेको छैन । पक्कै पनि समय आउला । त्यो पनि पैसाकै खेल हो । जसले कमायो, त्यसले घर जोड्ने त हो नी । भाडाको घर पनि आफ्नै ठान्नुपर्छ । भाडामा पैसा तिर्नुपर्छ भन्ने पहिले नै थाहा हुन्छ । आफ्नै घर भयो भने मात्र घरभाडाबाट जोगिने हो । एउटा यथार्थ के हो भने, अरुको घरमा बस्दा महिना मरेपछि घरधनीलाई भाडा बुझाउनुपर्छ भन्ने मनमा परिरहन्छ ।

समयअनुसार मान्छेको जीवनशैली पनि फेरिंदै जान्छ । उसका इच्छा चाहना पनि बढ्दै जान्छन् । त्यसमा कमाइले पनि साथ दियो भने इच्छा चाहाना पनि पुरा हुँदै जान्छन् । मलाई पनि आफ्नै घर भइदिए हुन्थ्यो भन्ने महशुस हुन थालेको छ ।

जताबाट पनि पैसा नै अगाडि आउने रहेछ । जति कमाउँदै गयो, त्यति नै लाइफस्टाइल समृद्ध हुँदै जाने रहेछ । जति कमायो, लाइफस्टाइल पनि त्यसरी नै परिवर्तन हुँदै जाने हो । सबै कलाकारले कमाएर घर-गाडी जोड्न नसक्लान् । जसले मिहेनत गर्छ उसले पक्कै सफलता पाउँछ । अन्तिम यथार्थ भनेको आफ्नो कामप्रति इमान्दारिता र मिहेनत नै हो ।

यदि कोभिड नभएको भए सायद मेरो पनि घर हुन्थ्यो होला । किनभने, पछिल्लो समय म काममा निकै बिजी हुन थालिसकेको थिएँ । तर, बिचैमा कोभिड आइदियो । कलाकारितामा अनिश्चितता छाइदियो । आफुले चाहेजस्तै समय चलेको भए अहिले घरमा बसिरहेको हुन्थेँ होला ।

कोभिडले अनिश्चितता ल्याएको छ । अझै के हुने हो थाहा छैन । कोभिड मत्थर भएर सोँचेजस्तै काम फत्ते भयो भने चाँडै नै घर किनौंला भन्ने छ ।

(कार्कीसँग नेपालहोम्सले गरेको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

RELATED POSTS