पोखरा । अन्य प्रदेशको तुलनामा गण्डकीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कमजोर छ । संघीय सांसदमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ एक्लै छन् भने प्रदेशसभामा यो दलको उपस्थिति शून्य छ । स्थानीय तहमा पनि निकै कम जनप्रतिनिधिले मात्र एमाले छाडेका छन् ।

पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालय उद्घाटनपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधव नेपालले भने एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्पणी गरेका छन् ।

‘आज देशको अवस्था किन यस्तो भयो ? एमालेको हविगत किन यस्तो भयो भनेर पहिल्याउनु पर्ने बेला भयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘अहिले एमालेको नाम लिनेबित्तिकै सबैले नाकमुख खुम्च्याउने गरेका छन् । जनताको नजरबाट तल खसिसकेको छ । यसको इज्जत प्रतिष्ठा गुमिसकेको छ ।’

केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको भन्दै उनले त्यसको जवाफ जनताले दिने बताए । ‘सांसदहरुले मेरो आदेश मानेनन्, म सबैको कत्लेआम् गर्दिन्छु भनेर (संसदको) हत्या गरियो,’ संसद भंगप्रति लक्षित  गर्दै उनले भने, ‘कतिपय देशमा यस्ता संविधानविरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ । हामीकहाँ पनि नेपाली जनताले सजाय दिँदैछन् ।’

काण्डैकाण्ड देख्या’छु, छानबिन होस् 

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली सरकारको पालामा भ्रष्टाचारका थुप्रै काण्ड भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

नेपाल एयरलाइन्स समेत बेच्न खोजेको भन्दै उनले यति समूहसँगको सम्बन्धबारे प्रश्न उठाए । ‘योभन्दा पहिलेको सरकार… भन्न पनि अप्ठ्यारो, एमालेको सरकार…! यति कम्पनीलाई कति काखी च्यापेको होला ?’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘त्यो (नेपाल) एयरलाइन्स पनि यतिलाई बेच्न खोज्याथ्यो ।’

वाइडबडी खरिद भ्रष्टाचार भएको थाहा पाएको, तर छानबिनका लागि फाइल पठाउँदा सुनुवाइ नभएको उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे छानबिन बनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् ।

नेपालको बोली जस्ताको तस्तै :

कोभिड महामारीको बेला पनि ओली सरकारले भ्याक्सिन ल्याउन कमिसनको चक्करमा किन ? अर्बौंको भ्रष्टाचारको कुरा तपाईं सुन्दै हुनुहुन्छ । वाइडबडीको कुरा भो । किन छानबिन हुँदैन ? यसमा कसैको संलग्नता छैन भने छानबिन किन अगाडि नबढेको ? होइन भने कुरा उठिसकेपछि छानबिन गर्नुपर्दैन ?  सरकारलाई भन्न चाहन्छु, प्रत्येकको छानबिन गर्ने काम शुरु गर्नुहोस् । देशलाई लुट्न पाइँदैन । कसले लुट्यो, कसले लुटेन, हामी अहिले भन्दैनौं । किनभने प्रमाणित नभएको कुरामा अरु बोल्न मिल्दैन ।

तर आफैं देख्या’छु वाइडबडीमा । आफैं देख्या’छु विमान खरिदमा …(भ्रष्टाचार भएको) । एउटा भाउ दिएकोे छ, पैसा त्योभन्दा बढी दिएको छ । हामीले फाइल पठाएका छौं, तर सरकारले फाइल दराजमा थन्काइदिएको छ । कराउँछौं, चिच्याउँछौं, सुन्दैसुन्दैन । समस्या कहाँ पर्‍यो भने न पार्टीभित्र सुनुवाइ छ न राज्यमा सुनुवाइ छ । किनभने जब निरंकुश प्रवृत्ति हाबी हुन्छ, जबसम्म जथाभावी हाबी हुन्छ । जब व्यक्तिवादी प्रवृत्ति हाबी हुन्छ, जब कसैलाई टेर्दैन । संविधानको माया हुँदैन । देशको माया हुँदैन । जनताको माया हुँदैन ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS