भारतीय व्यापारी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा जमानतमा छुटेका छन्। भारतीय सञ्चारमाध्यम एएनआइका अनुसार राजले पक्राउ परेको दुई महिनापछि मुम्बई अदालतबाट जमानत पाएका हुन्। अश्लील भिडिओ सुटिङ तथा प्रसारण गरेको आरोपमा पक्राउ परेका राजलाई ५० हजार भारू धरौटीमा जमानत दिइएको एएनआइले उल्लेख गरेको छ।

गत बिहीबार मुम्बई प्रहरीले राजविरूद्ध करिब १४ सय पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो। राजले शनिबार अनुसन्धान सकिएको र अभियोग पत्र बुझाइसकेको भन्दै जमानतका लागि अपील गरेका थिए। एएनआइका अनुसार उनको जमानत अपीलमा उनले आफूमाथि षड्यन्त्र भएको र आफूले अश्लील फिल्म बनाएकोमा कुनै प्रमाण नभएको पनि उल्लेख गरेका छन्।

राज गत जुलाइ १९ मा पक्राउ परेका थिए। उनले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए। यसअघि पनि उनले धेरैपटक जमानतका लागि अपील गरे पनि अदालतले अस्वीकार गरेको थियो। तर प्रहरीको अभियोग पत्रमा राजलाई अश्लील फिल्म बनाउने ‘मुख्य योजनाकार’ भनिएको छ। उनले फिल्म दुनियाँमा संघर्ष गरिरहेका युवतीहरूलाई प्रलोभन दिएर अश्लील भिडिओमा खेलाएको आरोप छ। उनले बनाएका भिडिओहरू विभिन्न एपहरू र वेबसाइटहरूमार्फत् प्रसारण गरिएको आरोप पनि उनीमाथि छ।

प्रहरीको अभियोग पत्रमा ४३ जना साक्षी समावेश छन् जसमा उनका कर्मचारी, साथीभाइसँगै उनकी श्रीमती शिल्पा शेट्टीको पनि नाम भएको एएनआइले लेखेको छ। शिल्पा र राजको सन् २००९ मा बिहे भएको थियो। उनीहरूका एक छोरा र एक छोरी छन्। राजको अनुसन्धान क्रममा प्रहरीले शिल्पासँग पनि सोधपुछ गरेको थियो। तर यो काममा हालसम्म शिल्पाको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।

‘सुपर डान्सर-४’ की निर्णायक समेत रहेकी शिल्पाले करिब एक महिना कार्यक्रमबाट विश्राम लिएकी थिइन्। अहिले उनी कार्यक्रममा फर्किसकेकी छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS