भारतीय अधिकारीहरूले अफगानिस्तानबाट आएको तीन खर्ब रुपैयाँभन्दा बढी मूल्यको हिरोइन नियन्त्रणमा लिएका छन्। भारतीय समाचार पत्र द हिन्दुका अनुसार केही दिनअघि पश्चिमी राज्य गुजरातको मुन्द्रा बन्दरगाहमा राजश्व अनुसन्धान निर्देशनालयका अधिकारीहरूले झन्डै तीन हजार किलोग्राम हिरोइन नियन्त्रणमा लिएका हुन्। उक्त हिरोइनको बजार मूल्य २.७ अर्ब अमेरिकी डलर (तीन खर्ब १७ अर्ब बढी रुपैयाँ) छ।

आन्द्र प्रदेशको आशी ट्रेडिङ कम्पनीले ल्याउन लागेको सामानमा हिरोइन भएको गोप्य सूचनाका आधारमा  निर्देशनालयका अधिकारीहरू  बन्दरगाहमा निगरानी गर्न पुगेका थिए। हिरोइनसँगै दुई जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। उनीहरूले एउटा कन्टेनरमा २ हजार र अर्कोमा १ हजार किलोग्राम हिरोइन हालेर ल्याएका थिए। ती कन्टेनर इरानको बान्दर अब्बास बन्दरगाहबाट मुन्द्रा आइपुगेको भए पनि हिरोइन अफगानिस्तानमा उत्पादन भएको भारतीय अधिकारीहरूले बताएका छन्।

यति ठूलो परिणामको हिरोइन ओसारपसारमा अफगान नागरिकको पनि संलग्नता हुने आशंका गरिएको छ तर अहिलेसम्म कोही पनि अफगान पक्राउ परेका छैनन्। अफगानिस्तानले संसारभरि खपत हुने हिरोइनको ८० देखि ९० प्रतिशत हिस्सा ओगट्छ।

पछिल्ला वर्षहरूमा विद्रोही समूह तालिबानले हिरोइनलाई आम्दानीको मुख्य स्रोत बनाएका अफगानिस्तानमा हिरोइनको उत्पादन बढेको थियो।  अहिले तालिबानहरू सत्तामा पुगेका छन्।

अमेरिकालगायत अरू पश्चिमा मुलुकले वर्षौंसम्म अफगानिस्तानबाट हिरोइनको उत्पादन र व्यापार बन्द गर्न गरेका प्रयास असफल भएका थिए।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS