पोखरा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पहिले सम्झौता गर्ने र पछि पारित गर्न नहुने भनेर प्रचण्डले गिजोलेको आरोप लगाएका हुन् ।

‘एमसीसीको सम्झौता गर्‍या कसले ? (शेरबहादुर) देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कसले ? त्योचाहिँ प्रचण्डले मात्रै हो । अरुले गिजोलेको होइन, यता गिजोल्या’छ, उता गिजोल्या’छ’ उनले भने, ‘पदमा हुँदा एउटा कुरा गर्‍या’छ, बाहिर निस्किँदा अर्को कुरा गर्‍या’छ । केपी ओली हुँदा एउटा कुरा गर्‍या’छ, अर्को कुरा हुँदा अर्को कुरा गर्‍या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?’

प्रचण्डकै कारण एमसीसी सम्झौता संसदमा पेश हुन नसकेको उनले बताए । तत्कालिन सभामुख कृष्णबहादुर महरा र हालका सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता ढुसी पारेर राखेको उनले टिप्पणी गरे । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोज्दा सभामुखले रोकेको पनि बास्कोटाले बताए ।

‘कृष्णबहादुर महराजीले पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन’ उनले भने ।अहिले एमसीसी सम्झौता पारित गर्न सत्तारुढ दललाई एमालेको सहयोग नचाहिने पनि बास्कोटाले ‘हामीतिर फर्किनै पर्दैन । उहाँहरुको १ सय ६५ सिट छ । झन्डै २ तिहाइ छैन त ? गरे भइहाल्यो नि एमसीसी’ उनले भने । एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने सत्तापक्षको हातमा रहेको भन्दै बास्कोटाले संसदमा पेश गरेपछि एमालेले निर्णय गर्ने बताए ।

‘पहिले उहाँहरुले ल्याउनुस्, त्यसपछि हामी पढौंला, त्यसका जम्मै बुँदाबुँदा केलाउँला ।…सेनाले परेड खेल्नी हो कि ? बिजुलीको प्रशारण लाइनमात्रै बनाउने हो कि ? भारतको अनुमति किन चाहिनुपर्ने हो वा किन नचाहिनुपर्ने हो ? त्यो कुरा त छलफल गरौंला नि !’ उनले भने ।

सभामुखले प्रचण्डको इशारामा काम गरे

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इशारामा चलेको आरोप लगाएका छन् । मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले प्रचण्डकै इशारामा सभामुखले एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको बताए । ‘उहाँले हुँदै नभएको प्रचण्ड धारा प्रयोग गरेर कारबाही गर्न मिल्दैन भन्नुभयो उनले भने, ‘नमिल्ने भनेर कहाँ लेखेको छ ? प्रतिनिधिसभा नियमावलीमा छ ? कि कुन धारामा छ ?’

सभामुख सापकोटा आफ्नो मर्यादामा नबसेका कारण आफूहरुले संसद अवरुद्ध गरिरहेको बताए । सभामुखले जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्दा एकै घण्टामा र माओवादी केन्द्रले टोपबहादुर रायमाझी लगायत ४ सांसदलाई कारबाही गर्दा ४८ घण्टाभित्र सूचना जारी गरेको बास्कोटाले बताए । ‘एमालेको निर्णय मात्र अवज्ञा गर्नुपर्ने कहाँ लखेको छ ? सभामुख न्यायाधीश हो ? सभामुख फैसलाकर्ता हो ?’ नेता बास्कोटाले सभामुखले आफ्नो निर्णय सच्याउनुपर्ने नभए पद छाड्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS