काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हुन् । उनीहरुले विभिन्न १८ बुँदे मागहरु अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियार दुरुपयोग गरी बजार घटाउन लागिरहेको उनीहरुको गम्भीर आरोप छ । १८ बुँदाको पहिलो नम्बरमा नै उनीहरुले सुनियोजित रुपमा बजार घटाउन लागिपरेको, नीतिगत भ्रष्टाचारमा लिप्त भएको भन्दै गभर्नर अधिकारीको विषयमा छानविन गरी कारबाही हुनुपर्ने माग राखेका छन् ।

राष्ट्र बैंककै कारण अहिले बजारमा लगानीयोग्य रकम अभाव भएको र यसले ब्याजदर बढाएको उनीहरुको तर्क छ । ब्याजदर बढेका कारण शेयर बजारमा यसको गम्भीर असर परेको आन्दोलनका अगुवा दीपेन्द्र अग्रवाल बताउँछन् । लगानीकर्ताहरु २ वर्ष अघि बजार सुधार र विस्तारको लागि भन्दै आमरण अनसन नै बसेका थिए । त्यसपछि सरकारले एउटा अध्ययन समिति बनाएको थियो । सो समितिले दिएको ५८ बुँदे सुझाव कार्यान्वयनका लागि पनि उनीहरुको माग राखेका छन् । उनीहरुले केही नीतिगत सुधारहरु तत्कालै गर्नु पर्ने माग अघि सारेका छन् ।

लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस शेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्व राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, १ प्रतिशतबाट १.३ प्रतिशत हुनेगरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १ प्रतिशत नै कायम गर्नुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरी १२० दिनको औसत मूल्य कायम गर्नुपर्न र अरु क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै सेयर कर्जालाई पनि टोटल लेन्डिङ फण्डमा समावेश गर्नुपर्ने लगानीकर्ताहरुको माग छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS