काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् । खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो ।

उदयपुर १ बाट निर्वाचित भएका ७२ वर्षे खड्का कांग्रेसका केन्द्रीय सदस्य हुन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका खड्का यसअघि सहरी विकासमन्त्री बनेका थिए ।

मंगलबार अपरान्ह भएको सत्तागठन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए । नेकपा (एस)का माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)ले त्यस विषयमा आपत्ति नजनाएपनि परराष्ट्रमन्त्रीको आका‌क्षी रहेका रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेको स्रोतले जनाएको छ । तर देउवाले परराष्ट्र मन्त्रालय कांग्रेसले लिने र त्यसको जिम्मेवारी खड्काले पाउने बैठकमा जनाकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS