तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था पछिल्लो हिन्दी वेब सिरिज ‘फ्यामेली म्यान २’ पछि थप चर्चामा छिन्। आफ्नो फिल्म र वेब सिरिजका कारण चर्चा बढिरहेको बेला सामन्था अभिनेता तथा श्रीमान् नागा चैतन्य अक्किनेनीसँगको सम्बन्धका कारण पनि खबरहरुमा छाएकी छिन्। अभिनेत्री सामन्था र नागा टलिउडका परिचित र मन पराइएका जोडीमध्ये पर्छन्। तर एकपछि अर्को खबरले यो जोडीको सम्बन्ध अन्त हुने देखाइरहेको छ।

केही समयअघि सामन्थाले सामाजिक मिडियामा आफ्नो नामबाट नागाको थर ‘अक्किनेनी’ हटाएकी थिइन्। यसपछि नै उनीहरुको वैवाहिक सम्बन्धमा प्रश्न उठ्न थालेको हो। कुरा यतिमै सेलाएन। सामन्था र नागा वैवाहिक परामर्श लिन गएको खबर बाहिर आएपछि यो विषय झनै ठूलो हुन थाल्यो। अब भने यी दुई एमअर्कासँग छुट्टिएर बस्ने कुरा मिडियामा छाएको छ। बलिउड हंगामाका अनुसार सामन्था र नागा अहिले एउटै घरमा बस्दैनन्। नागा घर छाडेर आफ्ना बुबा तथा नागर्जुन र कान्छी आमा अमालासँग बस्न गएका छन्। यता सामन्था भने बलिउडमा आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेकी छिन्।

‘यो दम्पतीको सम्बन्ध बचाउन दुवैतिरको परिवारले धेरै प्रयास गरे, तर सबै असफल भयो,’ तेलुगू फिल्म क्षेत्रका स्रोतले भनेका छन्, ‘सामन्थासँगै बसेको घर छोडेर नागा आफ्नो बुबाआमासँग बस्न गएका छन्।’ ‘द फ्यामली म्यान’ले पाएको सफलतासँगै सामन्थाको अभिनयलाई लिएर धेरै प्रशंसा भएको थियो।

बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन्। यता नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन्। योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।

यही फरक चाहनाको कारण सामन्था र नागाबिच मनमुटाव भएको उनीहरुको भित्री स्रोतले जनाएको छ। सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्योबेलादेखि नै उनीहरुको सम्बन्ध राम्रो थियो र दर्शकहरुले पनि यो जोडीलाई मन पराएका थिए।

उनीहरुबीच राम्रो बुझाइ भए पनि उनीहरु सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्। तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। बे्रकअपपछि सामन्था र नागा केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।

ncell in
यी दुई जोडीको सम्बन्ध विच्छेदको हल्ला फैलिएसँगै भारतीय फिल्म क्षेत्र र प्रशंसकहरु दुखी भएका छन्। कोही पनि उनीहरुको सम्बन्ध बिग्रियोस् भन्ने चाहिरहेका छैनन्, तर यी जोडीले आफ्नो बाटो छुट्टाइसकेको देखिन्छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS