मानिसको शरीरमा रहेको फोहोर पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीरबाहिर पठाउने अंग हो मिर्गौला । प्रत्येक मिर्गौलाको आकार सिमीको गेडा जस्तो चारदेखि पाँच इन्च लामोसम्म हुन्छ । जसमा एउटा अति नै सानो फिल्टर हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर र बढी पानीलाई बाहिर पठाउने गर्छ ।

विभिन्न रिपोर्ट अनुसार नेपालमा करिब ३० लाख मानिसमा मिर्गौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको देखाएको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता छ । यही विषयमा मिर्गौला रोग विशेषज्ञसमेत रहेकी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)की डीन डा दिव्या सिंह शाहसँग मिर्गौला रोगको अहिलेको अवस्थामा अनलाइनखबरकर्मी सुदर्शन अर्यालले गरेको संक्षिप्त कुराकानी :

पछिल्लो समय मिर्गौला रोगीको संख्या बढेको हो ?

देशभर नै मिर्गौला रोगीको संख्या बढ्यो भनेर यकिनका साथ भन्नको लागि हामीसँग तथ्यांक त छैन । तर अस्पतालमा आएका मिर्गौला पीडितको संख्यालाई हेर्दा पछिल्लो समय संख्या बढेको देखिन्छ । मिर्गौला पीडितहरुमा पनि कतार, साउदी अरबजस्ता खाडी मुलुकबाट आउनेहरुमा मिर्गौलाको समस्या धेरै देखिएको छ । यो के कारणले भयो ? भन्ने बारेमा पनि अध्ययन भएको छ । जसबाट धेरै गर्मी र खाना खाने यकिन रुटिन नभएकाहरुमा समस्या देखिएको हो कि ? भन्नेमा अध्ययन हुँदा व्यवस्थित रुपमा खाना खाने र एसिमा बस्नेहरुमा पनि यस्तो समस्या भेटिएको छ ।

पछिल्लो समय संसारभर नै विकासशील मुलुकहरुमा मिर्गौला रोगीको संख्या बढेको छ । पहिले धनीमुलुकमा मुख्य समस्याको रुपमा रहेको रोग अहिले हाम्रोमा देखिएको छ । धनी मुलुकमा ६० वर्षपछि लाग्ने रोग अहिले नेपाल लगायतका मुलुकहरुमा ४० वर्षपछि नै देखिने गरेको छ । यसको कारण भनेको मधुमेह पनि हो । सन्तुलित भोजनहरुको कमी, तनाव बढी लिने, गाउँले जीवनशैलीबाट शहरीय जीवनशैली अपनाउनुले पनि यसको जोखिम बढाएको छ ।

खाडीबाट आउनेमा किन बढ्यो मिर्गाैलाको समस्या ?

नेपालको विभिन्न सरकारी अस्पतालमा आउने मिर्गौला रोगीहरुको संख्याको आधारमा हामीले बिरामीको संख्या बढेको बताएका हौं । यही अध्ययनमा खाडीबाट आउनेको संख्या बढेको पनि देखिएको छ । तर हाम्रो अध्ययन खाडीबाट आउनेमा किन बढ्यो भन्नेमा केन्द्रित नभएकोले यो अझै पनि खोजीको विषय हो ।

खाडी मुलुकबाट नेपाल आउनेहरुमा मिर्गौलाको समस्या नै बढेको हो कि उनीहरुको धेरै परीक्षण हुने भएर समस्या बढी देखिएको हो भन्ने नै यकिन भइसकेको छैन । अर्काे अध्ययनको विषय हो । हामीले तथ्यांकको आधारमा विश्लेषण गर्दा खाडीबाट आउनेहरुमा संख्यात्मक हिसाबले धेरै देखिएको भए पनि त्यो किन बढी भयो ? भन्ने विषय अझै खोजीको विषय हो ।

मिर्गौला रोग मूलतः के कारणले लाग्छ ?

मिर्गौलालाई असर गर्ने मुख्यतः केही कारणहरु छन् । मधुमेह मिर्गौलामा समस्या निम्त्याउने मुख्य कारण हो । यसले आँखा बिगार्ने, पक्षघात जस्ता समस्या पनि निम्त्याउँछ । त्यस्तै, रक्तचाप पनि मिर्गौला रोगको अर्काे कारण हो । हामीहरु कुनै समस्या भयो भने पेन किलर खाएर तत्कालीन दुखाइ कम गर्छाैं । चिकित्सकको प्रेस्किप्सनविना नै पेनकिलर जस्ता कडा औषधि खाँदा पनि यसले मिर्गौलामा समस्या निम्त्याउन सक्छ । जथाभावी जडीबुटीको धुलो खाने गरिन्छ । आयुर्वेदिक उपचार भन्दै मात्रा नमिलाई यस्ता औषधि खाँदा पनि यसले मिर्गौलामा समस्या निम्त्याउन सक्छ ।

मिर्गौलालाई एक जटिल रोगको रुपमा लिइन्छ, के यो त्यस्तै भयानक समस्या हो ?

यो रोग सुरुमै पत्ता लाग्यो भने सामान्य हो, तर धेरै पछि पत्ता लाग्यो भने धेरै जटिल पनि हुन सक्छ । कति मान्छेलाई मिर्गौला फेल भइसक्दा पनि समस्या थाहा हुँदैन । यस्तो अवस्थासम्म पुगेपछि या त जिन्दगीभर डायग्नोसिस गर्नुपर्छ या त मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । समयमा थाहा नहुँदा यो महँगो रोग हो र समयमै थाहा पाइयो भने सामान्य उपचार गरेर पनि यो निको हुन्छ

मिर्गौला रोग लागे/नलागेको कसरी थाहा हुन्छ ?

सबैमा मिर्गौला रोग लाग्दा लक्षण नदेखिन सक्छ । तर बिहान बिहान खुट्टा सुन्निने, आँखाको डिल सुन्निने, हिँड्दा धेरै थकाइ लाग्ने, पिसाब गर्दा फिँज आउन थाल्यो भने पनि मिर्गौलामा समस्या छ भन्ने हुन्छ । मिर्गौलामा समस्या आउँदा पिसाब धमिलो आउँछ, चिया जस्तो गाढा रंगको पिसाब आउँछ, पिसाब पोल्छ, पिसाब राम्ररी निस्कँदैन । यिनै समस्या देखियो भने मिर्गौला रोग लागेको हुन सक्छ, यस्तो देखियो भने तुरुन्त उपचार गर्न जानुपर्छ ।

मिर्गौला प्रत्यारोपणका लागि नेपालमा कति खर्च लाग्छ ?

नेपालमा सरकारी अस्पतालमा जाँदा सामान्य बाहेक खर्च लाग्दैन । तर निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने हो भने अहिले पनि १०/१५ लाख लाग्ने गर्छ । मिर्गौला रोगीलाई सरकारले पनि सहुलियत दिएको छ । अहिले सरकारले प्रत्येक बिरामीलाई प्रत्यारोपणमा पैसा पनि दिने गरेको छ । कसैले स्वास्थ्य बीमा गरेका छन् भने एक लाख रुपैयाँसम्मको औषधि पनि दिने गरेको छ ।

मिर्गौला प्रत्यारोपणपछि उनीहरु सामान्य जीवनमा फर्कन सक्छन् ?

मिर्गौला प्रत्यारोपणपछि मान्छे केही समयपछि नै सामान्य अवस्थामा फर्किन सक्छ । तर पनि शारीरिक स्वास्थ्यको बारेमा भने ध्यान दिनुपर्छ । तर प्रत्यारोपणपछि नियमित डायलासिसको समस्या भने देखिँदैन । अनलाइनखवर बाट

 

तपाईको प्रतिक्रिया

RELATED POSTS