उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत उक्त सेवा लिन सकिने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले बताए। ट्याक्सी सेवालाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले बुधबारबाट सेवा सुरू गरिएको उनको भनाइ छ। यो सेवा सुरू भएपछि अब सेवाग्राहीले न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाउँछन्।

अधिकतम शुल्क भने नतोकिएको तामाङले बताए। ‘एक किलोमिटर गुडेको ९९ रूपैयाँ र त्यसपछि थप प्रतिकिलोमिटर ३९ रूपैयाँ यात्रुले तिर्नुपर्छ,’ उनले सेतोपाटीसँग भने। कम्पनीले बुधबार (हिजो) देखि दुई सय ट्याक्सीमार्फत सेवा सुरू गरेको हो।

सेवा विस्तारका लागि ट्याक्सी थप गर्दै लगिने उनले बताए। भविष्यमा हजार बढी ट्याक्सीहरूमार्फत सेवा दिइने कम्पनीको योजना छ। ट्याक्सीहरूले एपमा रजिस्टर गरेर सेवा लिन सक्छन्।

चालकहरूका लागि निःशुल्क तेस्रो पक्ष बीमा व्यवस्था कम्पनीले मिलाएको छ। यात्रुहरूका लागि पाँच लाखसम्मको बीमा व्यवस्था गरिएको तामाङको भनाइ छ। उक्त सेवा काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा चौबीसै घन्टा सेवा दिइने कम्पनीले बताएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS