काठमाडौं । छोरीको नाममा शेयर खरीद गरेर विवादमा तानिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मप्रसाद ढुंगानाले भ्रष्टाचारको आरोप आकर्षित हुने काम गरेको खुलेको छ । अर्थ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको कागजात र अन्य प्रमाणले ढुंगानाका गतिविधि शंकास्पद देखिन्छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरेका मुख्य तीन क्रियाकलापहरू भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कानून आकर्षित हुने खालका छन् । एक, छोरी रेविका ढुंगानाको शेयर कारोबारमा उनी वित्तीय रूपमा जोडिएको तथ्य फेला परेको छ । साथै भ्रष्टाचारको आरोप आकर्षित हुने गरी उनका आर्थिक कारोबार समेत शंकाको घेरामा परेका छन् ।

दोस्रो, उनले पदीय आचरण र पेशागत मर्यादा विपरीत नातेदारका नाममा शेयर खरीद गरेका छन् । तेस्रो, सार्वजनिक वित्तीय अनुशासन विपरीत हुने गरी बोर्डका लागि जग्गा खरीद भन्दै रकम भुक्तानी गरेका छन् र त्यसबाट बोर्डलाई प्रत्यक्ष नोक्सानी भइरहेको छ । अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा भने उनले आफूमाथि लागेका सबै आरोप गलत भएको बताए ।

नियामक निकायको प्रमुख भएर छोरीको नाममा शेयर खरीद गरेको भनी हिमालखबरडटकमले खुलासा गरेपछि ढुंगाना विवादमा तानिएका थिए । चौतर्फी प्रश्न उठेपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा अर्थशास्त्री प्रा.डा. नारायणप्रसाद पौडेल र कानूनका सहसचिव अर्जुन खड्का सदस्य रहेको जाँचबुझ समिति गठन गरेको थियो ।

समितिले ढुंगानामाथि धितोपत्र बोर्ड ऐन अनुसार तत्काल पदमुक्त गर्न सुझाव दिएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीलाई दुई प्रति प्रतिवेदन बुझाएकोमा अख्तियारले अध्ययनका लागि भन्दै अनौपचारिक रूपमा त्यसको ‘कपी’ लगिसकेको छ ।

छोरीको नाममा शेयर

सर्वोत्तम सिमेन्ट प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई बुक बिल्डिङ प्रक्रिया मार्फत सार्वजनिक शेयर निष्कासनमा जान चाहन्थ्यो । बुक बिल्डिङको अवधारणा अनुसार, नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले यसको अभ्यास थाल्ने तयारी थियो । त्यो प्रक्रियामा जान पब्लिक कम्पनीको रूपमा घोषणा भएको एक वर्ष पूरा हुनुपर्छ भने कम्तीमा पनि एउटा लेखा परीक्षण प्रतिवेदन पेश भएको हुनुपर्छ । कम्पनीले त्यसबारे अनुमति लिन धितोपत्र बोर्डमा प्रस्ताव लैजानुअघि नै मौखिक सरसल्लाह भएको बोर्ड सम्बद्ध स्रोतले बतायो ।

त्यसपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मप्रसाद ढुंगानाले आफ्नी छोरी रेविका ढुंगानाको नाममा शेयर खरीद गरेको विवरण सार्वजनिक भयो । करीब ७५० रुपैयाँ मूल्य तोक्ने तयारी भएर प्रक्रिया अघि बढेको अवस्थामा सर्वोत्तम सिमेन्टको संस्थापक शेयरमा भित्री कारोबार गरेको विवरण सार्वजनिक भयो ।

त्यसमा प्रतिकित्ता २५० रुपैयाँका दरले खरीद भएको छानबीन प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले पनि पत्नी सुशीला बोहराको नाममा शेयर खरीद गरेको भेटियो । १० हजार कित्ता खरीद गरी लाभांशको शेयर थपिंदा १२ हजार पुगेको दाबी गरिए पनि सुशीलाको नाममा त्योभन्दा बढी शेयर भेटिने स्रोतको दाबी छ ।

पूर्वन्यायाधीश डुम्रे नेतृत्वको छानबिन समितिको प्रतिवेदन उद्धृत गर्दै अख्तियार स्रोतले बताए अनुसार, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले आफूले नभई छोरी रेविकाले अमेरिकाबाट नै शेयर खरीद गरेको दाबी गरेका थिए । यो विषयवस्तुलाई शुरूमा सतहमा ल्याएको हिमालखबरडटकमसँगको कुराकानीमा ढुंगानाले अमेरिकाबाट छोरीले पैसा पठाएर किनेको प्रतिक्रिया दिएका थिए । अनलाइनखबरसँगको कुराकानीमा भने अध्यक्ष ढुंगानाले बोली फेरे र, आफूले छोरीलाई शेयर किन्न ऋण सापटी दिएको बताए ।

छानबीन प्रतिवेदन अनुसार, शेयरको रकम भुक्तानीमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको प्रत्यक्ष संलग्नता छ । कानून अनुसार विवाहित छोरी आफ्नो परिवारको सदस्य नभएकाले शेयर किन्न नमिल्ने भन्ने कहीं उल्लेख नभएको दाबी गर्ने उनी कारोबारमा भने प्रत्यक्ष संलग्न भएको खुल्छ । ढुंगानाले आफ्नो खाताबाट छोरीको खातामा रकम ट्रान्सफर गरेको विवरण छानबीन समितिले फेला पारेको छ ।

तर ढुंगानाले अनलाइनखबरसँगको प्रतिक्रियामा आफूलाई छोरीले रकम पठाएको र आफूले उनको खातामा ऋण तिरेको दाबी गरे । ‘छोरीले मलाई पैसा पठाइरहेको हुन्छ । त्यो पैसा उसले मागेको बेलामा मैले तिर्नुपर्ने हुन्छ’ ढुंगानाले भने, ‘उसले मागेको बेला मैले खातामा हालिदिएको हो । छोरीले मलाई पठाएको कागजात मसँग छ ।’ उनले छानबीनका क्रममा समितिले विवरण नमागेकाले आफूले नदिएको बताए ।

तर अर्थसम्वद्ध स्रोतले यो दाबीलाई विश्वास गर्दैन । ‘बाबु भीष्मको खाताबाट छोरी रेविकाको खातामा रकम हस्तान्तरण भएको छ, रेविकाको चेक मार्फत खाताबाट शिखा अग्रवालको खातामा भुक्तानी भएको देखिन्छ’ अर्थ मन्त्रालय सम्बद्ध स्रोतले भन्यो, ‘अमेरिकामा बसेकी छोरीले नेपालमा कसरी चेकमा हस्ताक्षर गरिन् र रकम भुक्तानी भयो, अचम्मको विषय छ ।’

छानबीन समितिका पदाधिकारीहरूले कतै रेविकाको नक्कली हस्ताक्षरका भरमा त चेकबाट रकम हस्तान्तरण भएको होइन भनी शंका समेत गर्छन् । किनभने राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ढुंगानाले बैंकका सञ्चालकहरूलाई प्रभावित पार्नु कुनै अनौठो थिएन ।

तर ढुंगाना अमेरिकाबाटै कागजात आदानप्रदान गर्नु कुनै अनौठो नभएको प्रतिक्रिया दिन्छन् । ‘संसार यति सानो भइरहेको छ कि कागजातहरू सहजै हस्तान्तरण गर्न सकिन्छ’ ढुंगानाले भने, ‘मान्छेहरू आउजाउ गरिरहन्छन्, उसले कुनै किसिमले व्यवस्था गरी होली । यो अहिले मैले यसरी, यति र उति भनेर बोल्न भएन । थप कुरा नगरौं होला ।’

यसरी शेयर दिलाए बापत कम्तीमा पनि ६०/७० लाख रुपैयाँ गैरकानूनी लाभ भएको अर्थसम्बद्ध स्रोत बताउँछ । बजारमा ७५० रुपैयाँका दरले बिक्री गर्ने तयारी भएको शेयर प्रतिकित्ता २५० रुपैयाँका दरले पाउनु भनेको एककित्ता शेयरमा करीब ५०० रुपैयाँ गैरकानूनी रूपमा लाभ गर्नु हो । १२ हजार कित्ता शेयर पाएकी रेविकाले बुक बिल्डिङ मार्फत बजारमा सर्वसाधारणलाई शेयर प्रवाह हुनासाथ प्रतिकित्ता ५०० रुपैयाँ अतिरिक्त लाभ लिई कम्तीमा ६० लाख रुपैयाँ अतिरिक्त आर्जन गर्ने देखिन्छ ।

छानबीन समितिले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको बारेमा अनुसन्धान गर्न सकेन । समिति गठनका क्रममा नै कार्यादेश नभएकाले उनीमाथि अनुसन्धान नभएको समितिका एक सदस्यले बताए । तर साउदले आफ्नै पत्नी सुशीला बोहराको नाममा १२ हजार कित्ता शेयर खरीद गरेको भनी सार्वजनिक भएको विवरण छानबीनका क्रममा अनौपचारिक रूपमा पुष्टि भयो ।

ढुंगानाकै सरह मान्दा उनीहरूले पनि स्वार्थको द्वन्द्व हुने गरी शेयर खरीद गर्दा कम्तीमा ६० लाख रुपैयाँ गैरकानूनी रूपमा लाभ लिएको देखिन्छ । अरू शेयर पनि खरीद गरिएको आशंका भएकाले पदको दुरुपयोग गरी लिइएको शेयरबाट थप आर्जन गरेको हुनसक्ने सम्भावना छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डमा सदस्य भएका चन्द्र ढकाल समूहको पनि सर्वोत्तम सिमेन्टमा शेयर भेटिएको छ । उनका भाइ हेमराजको नाममा करीब १ लाख २० हजार कित्ता शेयर छ । छानबीन प्रतिवेदनमा, धितोपत्र बोर्डकै सदस्य संलग्न रहेको ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएकाले पनि प्रश्न उठाइएको छ । सस्तोमा शेयर लिएका कारण बुक बिल्डिङबाट बजारमा ७५० रुपैयाँका दरले शेयर कारोबार भएमा ढकाल समूहले ६ करोड रुपैयाँ अतिरिक्त आर्जन गर्ने सम्भावना देखिन्छ ।

छोरीको आवरणमा कारोबार र जग्गा खरीद

शुरुमा निःशुल्क शेयर लिएको अनुमानका साथ छानबीन समितिले बोर्ड अध्यक्ष ढुंगानाकी छोरी रेविकाको नामको खातापाता अनुसन्धान गर्‍यो । ‘निःशुल्क रूपमा शेयर लिएको त देखिएन, तर बोर्ड अध्यक्ष ढुंगानाको अस्वाभाविक कारोबार र लेनदेन स्पष्टै देखियो’ प्रतिवेदन अध्ययन गरेका अर्थ मन्त्रालयका एक उपसचिवले अनलाइनखबरसँग भने, ‘१०औं लाख नाघ्ने उनका कारोबार थुप्रै छन्, केही कारोबार करोड सेरोफेरोका छन् । नियमित रूपमा यस्ता कारोबार भएकाले शंका गर्ने ठाउँ पर्याप्त छ ।’ ती आरोपको प्रतिवाद गर्दै ढुंगानाले अनलाइनखबरसँग भने, ‘ती केही पनि कुरा सत्य होइनन्, सबै हावा गफ हुन् ।’

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको यस्तो कारोबार र शेयरको भित्री कारोबारमा हुने उनको संलग्नताले थप शंका बढेको ती उपसचिवको भनाइ छ । ढुंगानाले अमेरिकाबाट छोरीले आफूलाई पैसा पठाइदिएको दाबी गरेपनि त्यसको पुष्टि हुने विवरण छानबीन समितिलाई बुझाउन सकेका थिएनन् ।

दैनिक १० अर्ब सेरोफेरोको रकम कारोबार हुने पूँजीबजारको नियामक निकायको प्रमुखको अस्वाभाविक कारोबार शंकास्पद भएको भनी अख्तियारमा समेत उजुरी परेको छ । अख्तियारमा त ससुराली खलकका आफन्त र साथीहरूको नाममा शेयर नै उठाएको भनी उजुरी परेको थियो । हुन पनि सर्वोत्तम सिमेन्टमा विवादित समयमा उनको थर मिल्ने अरू नाममा पनि शेयर कारोबार भएको भेटिएको थियो ।

सर्वोत्तम सिमेन्टको शेयर खरीदबिक्री पनि शंकास्पद देखिएको छ । बुक बिल्डिङ प्रक्रिया शुरू हुनासाथ ढुंगाना थरका केही व्यक्तिहरूले शेयर खरीद गरेको भेटिएकाले भीष्मले नजिकका नातेदार र आफन्तको प्रयोग गरेको हुनसक्ने आशंका छ । अर्थसम्बद्ध स्रोतको भनाइमा, ‘कुनै क, ख, ग थरको पनि त शेयर किनबेच हुनसक्थ्यो होला । निश्चित थरका व्यक्तिहरूको किनबेच देखिएकाले शंका बढेको हो ।’

पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको नेतृत्व गर्ने अध्यक्ष आफैंमा सार्वजनिक पद हो । त्यो पदमा बसेर अस्वाभाविक कारोबार गर्नु आफैंमा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको शंकालाई बलियो बनाउनु हो । अर्कोतर्फ नियमित रूपमा हुने अस्वाभाविक कारोबारले सम्पत्ति शुद्धीकरणको अभियोग समेत आकर्षित हुनसक्ने स्रोतको भनाइ छ । अख्तियारमा उनी विरुद्ध परेको उजुरीमा ‘शेयरबजारका खेलाडीबाट पैसा उठाएको’ आरोप छ ।

आफ्नै जग्गा र भवन नभएको धितोपत्र बोर्डले केही महीनाअघि जग्गा खरीद प्रक्रिया थालेको थियो । एकीकृत मनोहरा जग्गा विकास आयोजनामा ७ रोपनी जग्गा खरीद गर्न करीब ४५ करोड रुपैयाँ समेत भुक्तानी दिइसक्यो । त्यसबारे अहिले आएर समस्या शुरू भएको छ । आयोजनाले जग्गा प्लानिङका क्रममा मापदण्ड अनुसार ठाउँ नछाडेको भनेर प्रश्न उठेपछि छानबीन हुँदा केही ठाउँ छाड्नुपर्ने भएको छ । त्यसले गर्दा करीब ७ रोपनी जग्गा खरीदका लागि रकम भुक्तानी गरिसकेको आयोजनाले अब पाँच रोपनीभन्दा बढी जग्गा दिन नसक्ने भनी प्रत्युत्तर पठाइसकेको छ ।

‘केही सानो हिस्सा रकम बैना बापत दिनु फरक विषय हो, तर जग्गा खरीदको टुंगो नलाग्दै सबै रकम भुक्तानी गर्नु त अनियमितता हो’ छानबीन प्रतिवेदन उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब न आयोजनाले रकम फिर्ता गर्छ, न भने जति जग्गा पाउने अवस्था नै छ । यो सरासर अनियमितता भयो ।’ ढुंगानाको निर्णयका कारण धितोपत्र बोर्डलाई दैनिक ८१ हजार रुपैयाँ नोक्सान भइरहेको छानबीन प्रतिवेदन उद्धृत गर्दै स्रोत बताउँछ । त्यो भनेको मासिक २४ लाख र वार्षिक करीब ३ करोड नोक्सानी हो ।

भित्री कारोबारमै संलग्न

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि पूँजीबजारमा स्वच्छ कारोबारको वातावरण बनाउनुपर्नेमा उल्टै भित्री कारोबारमा सघाएको र संलग्न भएको आरोप थियो । छानबीनका क्रममा त्यो आरोप सहजै पुष्टि समेत भयो । ‘बजारलाई नियमन गर्ने ठूलो अधिकार भएको संस्थामा त्यस अनुसारको काम नगरेको र मिलिभगत भएको छानबीनका क्रममा भेटियो’ प्रतिवेदन अध्ययन गरेको स्रोतको भनाइमा, ‘पूँजीबजारका ठूला लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्ष लगायत केहीलाई प्रभावित बनाएको र आफू अनुकूल चलाएको आरोप थियो, त्यो हो रहेछ ।’

२०७८ जेठ अन्तिम साता शेयर कारोबार मापक (नेप्से परिसूचक) अस्वाभाविक रूपमा आकाशिंदै थियो । धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरूको अवस्था राम्रो नभएको भनी विवरण निकाल्यो । त्यसको एक साताअघि ती कम्पनीहरूको शेयर बढेको थियो । ठूला कारोबारीहरूले अस्वाभाविक रूपमा शेयर बेचेपछि धितोपत्र बोर्डले ती कम्पनीको अवस्था गतिलो नभएको भनी विवरण निकाल्यो । र फेरि केही दिनको अवधिमा निकै सस्तो भएको शेयर तिनै ‘खेलाडी’ले उठाए ।

त्यतिबेला स्वाभाविक रूपमा बिक्री हुँदाको तुलनामा ८० गुणाभन्दा बढी शेयर संख्याको कारोबार भएको थियो । त्यसभन्दा अघि अस्वाभाविक कारोबार भएका पाँच कम्पनीका बारेमा प्रस्ताव पेश भएको थियो, तर कुनै निर्णय नभएको छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ ।

जाँचबुझ समितिले यसलाई निकै गम्भीर विषय मानेको छ । छानबीन प्रतिवेदनमा भनिएको छ, ‘कुन कम्पनी जोखिममा छन्, कुन छैनन् भनेर घोषणा गर्ने अधिकार धितोपत्र बोर्डलाई छैन ।’ सैद्धान्तिक विषयवस्तु उठाउनुपर्ने र लगानीकर्तालाई सचेत बनाउनुपर्नेमा कैफियत भएका कम्पनीहरूको सूची निकालेर आतंकित पार्ने काम भयो’ प्रतिवेदन उद्धृत गर्दै स्रोतल भन्यो, ‘बोर्डले ५१ कम्पनीबारे सूचना निकालेपछि त्यसपछि ठूला लगानीकर्ता र खेलाडीले ती शेयर छुँदै छोएनन् । भित्री कारोबारको यो जतिको स्पष्ट उदाहरण अरू भेटिंदैनन् ।’

शेयरबजारलाई प्रत्यक्ष प्रभावित पार्ने खालका नीतिगत निर्णय गर्नुपर्‍यो भने धितोपत्र बोर्डमा बिहीबार बेलुकी ३ बजेपछि निर्णय गर्ने अभ्यास छ । किनभने बिहीबारको कारोबार भइसकेपछि निर्णय गर्दा लगानीकर्ताले शुक्रबार र शनिबार पर्याप्त अध्ययन गर्ने मौका पाउँछन् । तर असार १ गते बोर्डले मंगलबारका दिन सूचना सार्वजनिक गरेको थियो ।

बोर्डले केही कम्पनीहरूलाई जोखिमयुक्त त भन्यो, तर त्यसको पर्याप्त आधार र कारण नखुलाइएको र विश्लेषण पनि नगरिएको छानबीन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालय स्रोतले भन्यो, ‘यसमा एक त अध्यक्ष ढुंगानाको प्रत्यक्ष संलग्नता देखियो भने अर्कोतर्फ निर्णय नै नभएको विषयलाई आफ्नो संस्था (धितोपत्र बोर्ड)को संरचना प्रयोग गरेर सूचना प्रवाहित गर्ने र लगानीकर्तालाई आतंकित पार्ने काम भयो ।’

छानबीन प्रतिवेदनले यो कामलाई गैरकानूनी, अधिकारको दुरुपयोग गरिएको र गलत अभ्यासयुक्त समेत भनेको छ । अजोड इन्स्योरेन्सको भित्री कारोबारको उजुरी पर्दा कारबाही नगरेको तर स्वयं भित्री कारोबारमा संलग्न भएको आरोप पनि छानबीनका क्रममा पुष्टि भएको छ ।

छानबीन समितिले करीब २५० पेजको प्रतिवेदन मार्फत धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई भित्री कारोबारमा संलग्न हुनुका साथै नियामक निकायको प्रमुखका रूपमा भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ ।

स्रोतका अनुसार, उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ (७) अनुसारको कसुरमा कारबाही गर्न सिफारिश छ । उक्त उपदफामा ‘अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजीबजारको विकास विपरीत हुने गरी कामकारबाही गरेमा सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी समितिको सिफारिशमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्नेछ’ भन्ने व्यवस्था छ ।

प्रतिवेदनमा अर्को प्रक्रिया अनुसार पनि कारबाहीको सिफारिश छ । ऐनको दफा ११ मा शेयर कारोबारमा संलग्न व्यक्ति अध्यक्ष र सदस्य हुन मिल्दैन भन्ने व्यवस्था छ । प्रतिवेदनमा दफा १२ अनुसार पनि कारबाही हुनुपर्ने भनिएको छ ।

दफा १२ मा, धितोपत्र कारोबारमा संलग्नका साथै पूँजी बजारको हानिनोक्सानी हुने काम गरेमा अनि कार्यक्षमताको अभाव भएमा पनि अध्यक्ष तथा सदस्य पदमुक्त हुने व्यवस्था छ । समितिको निष्कर्षबारे स्रोतले भन्यो, ‘छानबीनका क्रममा ढुंगानामाथि पूँजी बजारको विकासमा प्रतिकूल प्रभाव पारेको र आफैं शेयर कारोबारमा संलग्न भएको देखिएकाले पदमुक्त गर्नुपर्ने सिफारिश भएको हो ।’

छानबीन समितिसम्बद्ध स्रोतका अनुसार, ढुंगानालाई बोर्डका अध्यक्ष पदबाट पदमुक्त गर्न अहिलेको जाँचबुझ प्रतिवेदन पर्याप्त भएपछि उनीमाथिका अरू आरोप छानबीनका लागि भने सम्बन्धित निकायले नै हेर्नुपर्ने हुन्छ । पदको दुरुपयोग गरी आफ्नो र आफन्तको नाममा लाभ लिएको विषयमा भ्रष्टाचारको आरोप आकर्षित हुन्छ ।

त्यसका लागि सरकारले प्रतिवेदन अख्तियारमा पठाउनुपर्छ वा अख्तियारले प्रतिवेदन माग्नुपर्छ । ढुंगानाको अस्वाभाविक र शंकास्पद कारोबारमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गर्न सक्छ । ‘हिजो यस्तै प्रकरणमा मुछिएका राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर उन्मुक्ति दिइयो’ अर्थसम्बद्ध स्रोतले भन्यो, ‘अब पनि त्यही प्रवृत्ति नदोहोरिएला भन्न सकिन्न ।’ अनलाइनखबर बाट 

तपाईको प्रतिक्रिया

RELATED POSTS