शुक्रबार बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताहरूले नेतृत्वसमक्ष १० बुँदे सहमति कार्यान्वयन हुने आधार खोजेका छन् । यसक्रममा अध्यक्ष केपी ओली र केही नेताहरूबीच सवाल जवाफ नै हुन पुगेको छ । विधान महाधिवेशनअघि नै १० बुँदेको अक्षरशः कार्यान्वयन हुनुपर्ने तेस्रो धारका नेताहरुको माग र अध्यक्ष ओलीको त्यसप्रति अरुचिका कारण तेस्रो धारका नेताहरू शनिबारको बैठकमा सहभागी हुने–नहुने दोधारमा पुगेका छन् ।

शुक्रबारको बैठकमा खासगरी उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयनको माग अगाडि बढाएपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा यो मागबारे छलफल हुन नसक्ने जवाफ दिएका थिए । ओलीले स्थायी कमिटी बैठकमै यसबारे छलफल गर्न सकिने भनेर दिएको जवाफमा तेस्रो धारका नेताहरू विश्वस्त हुन सकेका छैनन् । यसै सन्दर्भमा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई बैठकमा खास के भएको हो भनेर रातोपाटीले प्रश्न गरेको छ । रातोपाटीको प्रश्नमा जोशीको जवाफ यस्तो छ–

एमाले बैठकमा के भएको हो ? तपाईंहरुले के माग राख्नुभयो ?

हाम्रो पार्टीको स्थायी कमिटीको भदौ ८ र भदौ १० मा केन्द्रीय कमिटीको बैठक बस्यो । ती दुवै बैठकले १० बुँदे सहमति प्रस्तावलाई अनुमोदन गर्यो । त्यसपछि पार्टीले अन्तरपार्टी निर्देशन (अपानी १२ ) जारी पनि गर्यो । त्यसअनुसार पार्टी मूलत २०७५ जेठ २ मा फर्कनेछ भनियो । पार्टीमात्रै होइन, जनसंगठन र विभागहरु पनि त्यसैमा फर्कने भनियो । तर, त्यो अनुसार पार्टी र विभाग तथा जनसंगठनहरुमा जेठ २ लागु भएन, विशेष गरी सुदूरपश्चिमको हकमा । त्यसकारण सुदूरपश्चिममा एउटा बैठक पनि सुरु भएन, यसो भएकाले यसविषयमा छलफल गरियोस् र किनारा लगाइयोस भनेर हामीले बैठकमा माग गर्यौं । विधान महाधिवेशन आइसक्यो त्यो भन्दा अघि अरू छलफल गर्नुभन्दा यसबारे निर्णय हुनुपर्यो भन्ने कुरा मैले बैठकमा गरेको हो ।

आफ्नो मागमा बेवास्ता गरे बैठकमा सहभागी नहुने चेतावनी दिएको हो ?

यदि त्यो विषयमा छलफल नै भएन भने अरू छलफल र बैठकमा भाग लिनुको के अर्थ रहन्छ र ? भनेर प्रश्न उठाएको हो ।

अध्यक्षले के जवाफ दिनुभयो, तपाईंहरु अब आश्वस्त हुनुभयो त ?

अध्यक्षज्यूले ठिकै छ, त्यसमा हामीले सोचेका छौँ, विचार गरेका छौँ भन्नुभयो । यसपछि यो विषयमा हामी बरु छलफल गर्छौैं, समस्या आउँदै जान्छन्, समाधान पनि हुँदै जान्छन् भन्नुभयो । यसले खासै हामी विश्वस्त हुन सकेका छैनौँ ।

१० बुँदे कार्यान्वयनमा सुदूरपश्चिमका नेताहरूको मात्रै आपत्ति हो कि अन्य प्रदेशमा पनि ?

अन्य प्रदेशका साथीहरूको पनि हाम्रो मागमा सहमति छ । घनश्याम भुसाल, सुरेन्द्र मानन्धरलगायत सबैको समर्थन छ । कसरी हुन्छ, चाँडोभन्दा चाँडो समस्या समाधान भएन भने अझै गम्भीर हुनुपर्ने अवस्था आउला ।

शनिबारको केन्द्रीय समिति बैठकमा सहभागी हुनुहुन्छ कि हुन्न ?

भोलिको बैठकमा सहभागी हुने–नहुने हामी साथीहरू छलफल गर्छौ । भीम रावलसहित हामी छलफल गरेर निर्णय गर्छौं । हाम्रो भनाइ यो साझा समस्या हो । यसमा सबै साथीहरूको पार्टीका निर्णय कार्यान्वयन नहुनु भनेको दुखद् कुरा हो भन्ने नै छ । रातोपाटी बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS