स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउन मिल्ने एक लाख डोज कोरोना खोप ल्याउन लागेको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले दसैंअगाडि नै उक्त खोप आइपुग्ने जनाए। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले बालबालिकालाई लगाउन मिल्ने ‘फाइजर’ खोप छिट्टै आइपुग्ने जानकारी दिए।

‘मन्त्रीज्यूले भन्नुभएको कुरा ठिक हो। बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६२० डोज खोप छिट्टै नै आउँदैछ,’ दाहालले भने। बालबालिकाका लागि आउने भनिएको यो खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई लगाउने सरकारको तयारी छ। तर सुरूमा एक लाख डोज खोप आउने भएकाले कस्ता बालबालिकाले सुरूमा उक्त खोप पाउने भनेर टुंगो भइसकेको छैन। यद्यपि जोखिम समूहमा रहेका बालबालिकालाई पहिलो प्राथमिकता दिइने डा. ढकालले बताए।

‘खोप आउने भएपछि सुरूमा कस्ता बालबालिकालाई लगाउने भनेर निर्णय भइसकेको छैन। त्यसका लागि हामीले एउटा सल्लाहाकार टिम बनाउँछौं र उहाँहरूले दिएको सुझावलाई मन्त्रालयलमा पेश गर्छौं र मन्त्रालयले कस्ता बालबालिकालाई सुरूमा खोप दिने भनेर निर्णय गर्छ,’ उनले भने।

डा. दाहालले यसअघि पनि जोखिमका हिसाबले उमेर बढी भएकाहरूलाई प्राथमिकता दिइएको भन्दै बालबालिकाको हकमा पनि सोही अनुसार हुनसक्ने बताए।

पहिलो चरणमा एक लाख डोज मात्र खोप आउने हुँदा सरकारलाई सबै बालबालिकालाई खोप पहुँचमा जोड्न अप्ठ्यारो भएको हो। सरकारले बालबालिकालाई लगाउने मिल्ने ४० लाख डोज खोपको सुनिश्चतता गरिएको बताएको छ। यद्यपि ती खोप ठ्याक्कै कुन-कुन समयमा आउने भनेर खुलाइएको छैन।

डा. दाहालले २०२१ को अन्तिम महिनासम्म वा २०२२ को पहिलो त्रैमासिकभित्र बालबालिकाका लागि खोप आइपुग्ने बताए। उनले खरिद सम्झौता भएको खोपको भुक्तानी पनि भइसकेको भन्दै अब कम्पनीले उत्पादन हेरेर खोप पठाउने जनाए। यद्यपि नेपालजस्तो गरिब देशलाई खोप निर्यातमा प्राथमिकतामा राखिदिन कम्पनीसँग निरन्तर कुराकानी भइरहेको उनले बताए।

सरकारले अहिले बालबालिकाका लागि लगाउन मिल्ने खोप ल्याउन ‘फाइजर’ र ‘मोडेर्ना’ कम्पनीसँग सहकार्य गरिराखेको छ। यी दुबै अमेरिकी कम्पनी हुन्।

तर बालबालिकाका लागि ल्याउन लागिएको खोपको व्यवस्थापन गर्न अन्य खोपको जस्तो सहज छैन। किनभने यो खोपलाई माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्छ। अहिले हामीसँग ती खोपलाई भण्डारण गर्नसक्ने मात्र चार वटा ‘कोल्ड चेन’ छन्।

डा. दाहालका अनुसार अहिले आउन लागेको एक लाख डोज खोप भण्डारणका लागि समस्या नहुने भए पनि थप खोप आउन थालेपछि ‘कोल्ड चेन’ पनि विस्तार गर्नुपर्ने हुन्छ। यसअघि जति पनि खोप नेपाल ल्याइएका छन्, ती खोप ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिन्थ्यो। जसले गर्दा भण्डारणमा कुनै समस्या भएको थिएन।

तपाईको प्रतिक्रिया

RELATED POSTS