पारिवारिक कारण देखाएर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका पूर्व अस्ट्रेलियन क्रिकेटर डेभ व्हाटमोर भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशक नियुक्त भएका छन्। व्हाटमोरले यसै महिना ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअघि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए।

६७ वर्षीय व्हाटमोरले आगामी घरेलु सिजनबाट टिम सम्हाल्नेछन्। उनी बरोडा पुगिसकेका छन् र स्थानीय प्रशिक्षकसँग मिटिङ र अभ्यास सुविधाको निरीक्षणसमेत गरिसकेका छन्। यसअघि व्हाटमोरले सन् २०१७/१८ को सिजनमा भारतकै अर्को रन्जी टिम केरलाको प्रशिक्षण सम्हालेका थिए जुन क्रममा केरला पहिलो पटक क्वार्टरफाइनल पुग्न सफल भएको थियो।

यस्तै उनले २०१० मा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। उनले पाकिस्तान, बंगलादेश र जिम्बाब्वेको प्रशिक्षण गरिसकेका छन् भने भारतीय यु-१९ टिमको समेत प्रशिक्षक रहेका थिए। यसअघि उनी गत पुसमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी एक वर्षका लागि नेपाली टिम सम्हाल्नेका थिए।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे। वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने।

सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी-२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो।त्यसपछि उनी भारत फर्किए। भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए। पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने।

तपाईको प्रतिक्रिया

RELATED POSTS