नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्। नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।

उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक-पटक दोहोर्‍याए। नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए।

उनले भने, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैन है। सबै नेताहरूलाई हामी सम्मान गर्छौं। त्याग, तपस्या, कुर्वानी उहाँहरूले डेमोक्रेसी ल्याउनका लागि गर्नुभएको छ। त्यसप्रति सम्मान छ। तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ। यदि हामीले यो लथालिंग अवस्थामा १४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौं भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन है। त्यही कारणले गर्दाखेरि मैले अनुभव बोकेको छु, देखेको छु। पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाहिँ ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लूजन ड्र गरेर अब चाहिँ ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागिरहेको छु।’

नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क समेत गरे। उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताए। नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोश व्यक्त गरे।

तपाईको प्रतिक्रिया

RELATED POSTS