काठमाडौँ — भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का प्रभावशाली युवा नेता कन्हैया कुमार र दलित नेता जिग्नेश मेभानी कंग्रेस पार्टीमा प्रवेश गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यम ईन्डिया टुडेले स्रोतको हवाला दिँदै यसबारे समाचार बनाएको छ । ईन्डिया टुडेका अनुसार यसै महिनाको सुरुमा युवा नेता कन्हैया कुमारले कंग्रेसका नेता राहुल गान्धीसँग भेट गरेका थिए । जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्वविद्यार्थी नेता कन्हैया कुमार र जिग्नेश आगामी मंगलबार, सेप्टेम्बर २८ मा औपचारिक रुपमा कंग्रेसमा प्रवेश गर्ने ईन्डिया टुडेले जनाएको छ ।

यसअघि सेप्टेम्बर २७ मा सहिद भगत सिंहको जन्मदिनको अवसर पारेर पार्टी प्रवेश गर्ने तयारी भए पनि त्यस दिन कंग्रेसको देशव्यापी आन्दोलन घोषणा गरिएकाले सेप्टेम्बर २८ मा औपचारिक कार्यक्रमका बीच प्रवेश गर्ने तयारी गरेको बताइएको छ । कार्यक्रममा राहुल गान्धी, युवा नेता हार्दिक पटेल लगायतका नेताले सम्बोधन गर्ने ईन्डिया टुडेले उल्लेख गरेको छ ।

सीपीआईका युवा नेता कन्हैया कुमार धारा प्रवाह भाषण गर्ने युवा नेताको रुपमा चिनिन्छन् । २०१९ को लोकसभा निर्वाचनमा बिहारको बेगुसरायमा भारतीय जनता पार्टीका नेता गिरिराज सिंहसँग कन्हैया पराजित भएका थिए । कन्हैया कुमारको कंग्रेस प्रवेश तयारीलाई बिहारमा कंग्रेसलाई पुनर्जीवन दिने पार्टी नेतृत्वको रणनीतिका रुपमा समेत हेरिएको छ ।

यस्तै जिग्नेश मेभानी भारतमा दलित आन्दोलनका नेताको रुपमा चिनिन्छन् । साथै उनले गुजरातको बदगामबाट एमएलएका लागि उम्मेदवारी दिँदा त्यहाँ भाजपालाई ठूलो धक्का परेको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS