सुदूरपूर्वको झापा जिल्ला कम्युनिस्टको खानी त हो नै, काँग्रेसको पनि मलिलो जिल्ला हो । सीपी मैनालीदेखि केपी शर्मा ओलीसम्मका एमाले नेता जन्माउने झापाले नेपाली काँग्रेसका वैचारिक नेता सिके प्रसाईदेखि कृष्णप्रसाद सिटौला हुँदै युवा नेता विश्वप्रकाश शर्मासम्म जन्माएको छ । यहाँको रोचक पक्ष के छ भने १४ औँ महाधिवेशनको सँघारमा रहेको नेपाली काँग्रेसमा देउवा पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा चलिरहेका बेला झापामा चाहिँ न देउवा पक्षको प्रभाव छ, न पौडेल पक्षको । न त यहाँ कोइराला पक्षको गुट नै छ । काँग्रेसका झापाली नेता भन्छन्– यहाँ त सिटौला पक्ष र शर्मा पक्ष मात्र छ ।
झापाका काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले यसपटक पनि केन्द्रीय सभापतिमा चुनाव लड्ने इच्छा देखाएका छन् । १३ औँ अधिवेशनमा गगन थापासहित बेग्लै समूह बनाएर चुनावमा होमिएका सिटौला यसपटक पनि गृह जिल्ला पुगेर आफ्नो शक्ति आँकलन गरिरहेका छन् । अर्कोतर्फ झापाबाटै राजनीतिमा उदाएका प्रवक्ता विश्वप्रकाश शर्माले देउवा समूहबाट टाढिएर महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिलेसम्म एक नदीका दुई किनाराजस्तै देखिएका सिटौला र शर्माले आफ्नो गृहजिल्लामा एक अर्काका प्रतिस्पर्धी गुट चलाइरहेका छन् ।

शर्मा र सिटौलाका अगाडि झापामा देउवा समूह र पौडेल समूह फिक्का देखिएका छन् । सिटौलाका सामु विगतमा कमजोर देखिएका शर्माले जिल्लामा आफ्नो शक्ति बढाएको उनी निकट दाबी गरेका छन् । झापा जिल्लाबाट १३१ जनाले १४ औँ महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । जिल्लाबाट ३ हजार ३६८ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । यिनै क्षेत्रीय प्रतिनिधिमध्येबाट १३१ जना महाधिवेशन प्रतिनिधि चुनिन्छन् ।
१३१ मध्ये शर्मा र सिटौलाबीच ४०/६० को अवस्था हुन सक्ने शर्मा निकट नेताहरूको दाबी छ । तर, सिटौला पक्षले भने झापामा आफ्नो पुरानै वर्चस्व रहने दाबी गरेको छ । झापा जिल्लामा पहिले र सिटौला र शर्माको अवस्था २५/७५ को स्थिति थियो । क्षेत्रीय प्रतिनिधिहरूको पछिल्लो मत परिणामले ४५/५५ को अवस्थामा पुर्याएको दाबी शर्मा निकटस्थहरूको छ । त्यति नै नपुगे पनि सिटौला र शर्माबीच ६०/४० को शक्ति सन्तुलन बनेको नेताहरू बताउँछन् ।
यसैबीच, १५ वटा स्थानीय तहको अधिवेशनमा भने शर्मामाथि सिटौला हाबी भएका छन् ।
१५ स्थानीय तहमा रस्साकस्सी
झापाका कुल १५ वटा स्थानीय तहका अधिवेशन सकिँदा सिटौला बलियो देखिएका छन् । १५ मध्ये चारवटा स्थानीय तहमा सहमतिमै नेतृत्व छानिएको छ भने बाँकी ११ वटामा चुनाव भएको छ । १५ जना स्थानीय सभापतिमध्ये विश्वप्रकाशतर्फ खुलेका कमल, बुद्ध शान्ति र शिव सताक्षीका गरी तीनजना छन् । बाँकी प्रायः सिटौला पक्षका छन् । १५ स्थानीय तहमा छानिएका काँग्रेस सभापतिहरूको विवरण यस्तो छ–
१. हल्दीबारी गाउँपालिका– गंगा प्रसाईं
२. बाह्रदशी गाउँपालिका – इन्द्र बस्नेत
३. कचनकवल गाउँपालिका– तुलाराम अधिकारी
४. कमल गाउँपालिका–बुद्धि नेउपाने
५. झापा गाउँपालिका– सागिरथ गणेश
६. गौरीगञ्ज गाउँपालिका–अघनप्रसाद राजबंसी
७. बुद्ध शान्ति गाउँपालिका– चक्र सेर्मा
८. भद्रपुर नगरपालिका– राम बहादुर कँडेल
९. कन्काई नगरपालिका– दुर्गा प्रसाईं
१०. दमक नगरपालिका– प्रकाश प्रसाईं
११. मेचिनगर नगरपालिका– सुदय पनेरू
१२. अर्जुन धारा नगरपालिका– हेमराज खरेल
१३. गौरादह नगरपालिका– यादवराज सेढाई
१४. शिवसतासी नगरपालिका– अशोक बस्नेत
१५. बिर्तामोड नगरपालिका– भोजराज सिटौला