एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई यो उपाधि चाहिएको छैन भन्न सकेका छन्, न त केही चलचित्रकर्मी उनलाई ‘महानायक’ मान्न नै तयार छन् । यसैले, पनि हमाललाई दिइएको उपाधि बारम्बार विवादमा छ र यो विवाद समय–समयमा बल्झिने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दा यो बिषय विवादित बन्यो । दीपाश्रीको तर्कमा सहमत हुने थोरै र उनलाई गाली गर्ने धेरै देखिए ।

यसपटक भने नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नै ‘महानायक’को उपाधिमाथि प्रश्न उठाए । उसो त, भुवनले बेला–बेलामा यो बिषय उठान नगरेका होइनन् । भुवनलाई बारम्बार साथ दिएर यो बिबादमा तर्क पेश गर्ने चलचित्रकर्मीमा पर्छन्, निर्देशक शोभित बस्नेत । शोभितको बोली यसपटक पनि रोकिएन । तर, घुमाउरो शैलीमा यसपटक शिव श्रेष्ठले पनि ‘महानायक’ उपाधिको बिरोध गरे ।

भुवनले शिवलाई ‘महानायक’ भनेर सम्बोधन गर्दा शिवले पनि भुवन केसीको योगदानको चर्चा गरे । भुवन केसी नभएको भए चलचित्र क्षेत्र जमानामा बन्दै भैसक्ने तर्क शिवले गरे । यसलाई धेरैले शिव र भुवनले ‘महानायक’को उपाधिमाथि दाबी गरेको रुपमा वुझेका छन् भने कपितयले यी दुई नायकले समकालिन नायक राजेश हमाललाई ‘महानायक’ मान्न तयार नभएको तर्क पेश गरेका छन् ।

यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै भुवन केसीले भने–‘हामीले न त यो उपाधिमा दाबी गर्न खोजेको हो न त कसैको नामको अगाडि झुन्ड्याइएको यो शब्दमा आपत्ती नै जनाएको हो । तर, चलचित्र क्षेत्रलाई यो स्थानसम्म ल्याउनका लागि एक जना मात्र व्यक्तिको भूमिका छैन । यसका पछाडि थुप्रै हातहरु सक्रिय छन् । यसैले, एक जना व्यक्तिलाई मात्र यो उपाधि दिदा अन्य व्यक्तिहरुमाथि अन्याय हुन्छ भन्ने मेरो तर्क हो ।’

भुवनले ‘महानायक’को उपाधि केको आधारमा दिने भनेर समेत प्रश्न सोझाएका छन् । भन्छन्–‘कोही एकजना व्यक्तिले भनेको भरमा कोही महानायक हुँदैन । कि यसको मापदण्ड बनाएर उपाधि दिनु पर्यो । कि चलचित्र क्षेत्रका सबै व्यक्ति यसमा सहमत हुनुपर्यो । बारम्बार यो बिषयमा बिबाद हुनुको कारण पनि सबै सहमत नभएर त हो ।’

भुवनले चलचित्र क्षेत्रमा ‘महानायक’को विवादले अनावश्यक हल्ला भएको बताए । उनी भन्छन्–‘हामी सबै एक भएर बसेको यो क्षेत्रमा यो बिषयका कारणले गर्दा टुक्राउने काम भयो । महानायक देशका लागि उच्च योगदान दिने व्यक्तिलाई मान्नुपर्छ । चलचित्र क्षेत्रका लागि ‘महानायक’ शब्द नै सुहाउँदो छैन ।’

उनले, आफूहरुले कसैको विरोध नगरेको बताउँदै भने–‘चलचित्र क्षेत्रका लागि कसको योगदान कती छ, कसको चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने त भोलीको दिनमा फेरि थाहा भैहाल्छ । विभिन्न उपाधि लिने अनी हलमा दर्शक नआउने भयो भने त लिनेलाई नै लाज हुन्छ ।’

नायक राजेश हमाललाई प्राविधिक संघले दिएको ‘महानायक’ उपाधि र नायिका करिश्मा मानन्धरलाई एक संस्थाले दिएको ‘महानायिका’को उपाधि बारम्बार बिबादमा पर्ने गरेको छ । न त पाउनेले चाहिदैन भन्न सकेका छन्, न त सबैले स्विकार गर्न नै सकेका छन् । आखिर, कहिलेसम्म चलचित्र क्षेत्र यस्ता उपाधिको पछाडि रुमल्लिने हो ?

तपाईको प्रतिक्रिया

RELATED POSTS