काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दसौँ महाधिवेशनपछि फेरि नेतृत्वमा आउने चाहना व्यक्त गरेका छन् । पत्रकारहरुसँग मंगलबार काठमाडौंमा विधान महाधिवेशनबारे आयोजित अन्तर्क्रियामा ओलीले मंसिरमा हुने पार्टी महाधिवेशनबाट नेतृत्वमा आउने बताएका हुन् ।  पत्रकारहरुले महाधिवेशनपछि नेतृत्वमा ओलीले विगतमा ‘आफू एउटै कक्षामा पढ्ने विद्यार्थी नभएको’ दिएको अभिव्यक्तिलाई लिएर प्रश्न गरेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘मैले माथिल्लो क्लास नहुँदा त्यो विषयमा भनेको थिएँ । त्योभन्दा माथिल्लो क्लास छैन भनेर त्यसमै दोहोर्‍याएर पढ्दै गर्छु ।महाविद्यावारिधिपछि के हुन्छ ? गर्ने भनेको महाविद्यावारिधि नै हो ।’

एमालेको नवौं महाधिवेशनमा अध्यक्षमा निर्वाचितपछि २०७१ साउन १ गते बल्खुस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै ओलीले एक कार्यकालमात्रै अध्यक्ष बन्ने बताएका थिए । तर, पछिल्लो समयमा ओली निकट नेताहरुले अध्यक्ष ओली नै दोहोरिने बताउँदै आएका छन् ।

त्यसपछि पनि ओलीले आफू एउटै कक्षामा दोहोर्‍याएर पढ्ने विद्यार्थी नभएको बताउने गरेका थिए । एमालेको विधानले कुनै पनि नेतालाई एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन रोक लगाएको छ ।

शुक्रबारबाट सुरु हुने पहिलो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानमा कार्यकारी पदमा दुई कार्यकालमात्र निर्वाचित हुन पाउने र निर्वाचित हुन ७० वर्ष उमेर हद प्रस्ताव गरिएको छ । एमालेको नेतृत्व छनोट भने मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशन गर्नेछ । ओली आगामी फागुन ११ गते ७० वर्ष पूरा हुँदैछन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS