सर्वसाधारणका लागि मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्रीमा ल्याउने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको कुल ९० लाख कित्ता सर्वसाधारण समूहको आइपिओ बिक्रीमा ल्याउन लागिएको हो।
यसमध्ये ४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। यसको आइपिओ ८ लाख १९ हजारले १० कित्ताका दरले पाउने छन्। आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर तथा आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिनेछ।

न्यूनतम १० कित्ता तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीले यसअघि आयोजना प्रभावित र जिल्लाबासीका लागि आइपिओ बाँडफाँड गरिसकेको छ।
कस्तो छ कम्पनी?
कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ। यसले कम्पनी औसतमा दायित्व पुरा गर्न सक्षम अर्थात राम्रो रहेको जनाउँछ।कम्पनीले सिन्धुपाल्चोकको भोटेकोसीबाट १०२ मेगावाट क्षमतामा बिद्युत उत्पादन गर्न सक्नेछ।
आयोजनाको लागत कम्पनीको प्रक्षेपित वित्तीय विवरण बमोजिम निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट करिब १६ करोड ६४ लाख रहने अनुमान छ।
आयोजनाको लागत निर्माण अवधिको ब्याज सहित कुल १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार लाग्ने अनुमान छ। २०७७ चैत मसान्तसम्म निर्माण अवधिको ब्याजबाहेक ८ अर्ब २६ करोड ५ लाख २९ हजार ३९ रुपैयाँ खर्च भएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ। आयोजना समग्रमा ५५ प्रतिशत सम्पन्न भएको छ।
कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर संस्थापक शेयरधनी रहेका छन्।
कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पुँजीको ३७ प्रतिशत चिलिमे जलविद्युत कम्पनी लिमिटेडलाई, १० प्रतिशत नेपाल विद्युत प्राधिकरणलाई, १ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीलाई, १ प्रतिशत सिन्धु इन्भेष्टमेन्ट कम्पनीलाई, १ प्रतिशत नेपाल अरनिको हाइड्रोपावर कम्पनीलाई र १ प्रतिशत आयोजनामा घरजग्गा परी अति प्रभावित मानिएका घरपरिवारबाट गठन भएको कम्पनी सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडलाई प्रदान गरिएको छ।
त्यस्तै १ प्रतिशत ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुलाई, ३.५ प्रतिशत संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई, १९.५ प्रतिशत कर्मचारी सञ्चयकोषका संचयकर्ताहरुलाई बाँडफाँट भइसकेको छ। साथै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत धितोपत्र निष्कासन तथा बाँडफाँट गर्ने व्यवस्था छ।