प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न विहीबार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।

‘विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक राख्नुभएको छ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा रहेका गोविन्द परियारले रातोपाटीसँग भने, ‘सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्त्याइएको छ ।’

बिहीबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने–नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS