अन्तिम परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधि प्रभावकारी देखिएको छ। अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ नामक कोरोनाविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार कोभिड भएर गम्भीर बिरामी भएका र ज्यान जानसक्ने अवस्थाका बिरामीलाईसमेत यो औषधि प्रभावकारी देखिएको हो।

परीक्षणको क्रममा ‘मोल्नापिराविर’ ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएको थियो। त्यसबाट नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ।

७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका र बाँकीलाई औषधिले निको भएको कम्पनीको भनाई छ।

अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीको तयारी छ। फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुनः मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेकोसमेत स्पष्ट पारेको छ।

कम्पनीले सुरुमा ‘मोल्नापिराविर’ औषधि इन्फ्लुएन्जाको उपचारका लागि विकास गरेको थियो। पछि यसलाई कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको कम्पनीले जनाएको छ। एजेन्सी

तपाईको प्रतिक्रिया

RELATED POSTS