एकजना फोटोग्राफर बिहे समारोहमा फोटोशूटका लागि गएका थिए । तर त्यहाँ ती फोटोग्राफरप्रति बेहुलाले यस्तो व्यवहार गरे कि रिसको झोँकमा फोटोग्राफरले बिहे समारोहका सबै तस्वीर ठाउँकाठाउँ डिलिट गरिदिए । फोटो सबै मेटाइदिएर फोटोग्राफर त्यहाँबाट कुलेलम ठोके ।  ती फोटोग्राफरले सोसल मिडिया साइट रेडिटमा यो घटना र आफूले त्यस्तो कदम उठाउनुपर्नाको कारणबारे लेखेका छन् ।

बिहे समारोहमा उनलाई खाना खान बन्देज लगाइएको हुनाले उनले दिनभरी भोकभोकै काम गरिरहेका थिए । तर भोको पेटले निरन्तर काममा जोतिनुपर्दा उनमा रिसको पारो बढ्दै गयो र बेहुलाकै अगाडि आफूले क्यामरामा खिचिएका सबै तस्वीर तथा भिडियोहरु डिलिट गरिदिए ।

वास्तवमा ती व्यक्ति पेशेवर फोटोग्राफर होइन रहेछन् । उनले कुकुरको हेरचाह गर्ने काम गर्दछन् । साथीले निकै कर गरेपछि उनी साथीको बिहेमा फोटो खिचिदिन गएका रहेछन् । २५० डलर रकम ज्यालामा बिहेको फोटो खिच्ने कामका लागि उनीसँग सम्झौता भएको रहेछ । त्यसअनुसार बिहेको दिन बिहान ११ बजेदेखि उनको काम सुरु भयो जुन रातको ८ बजेसम्म चल्नेवाला थियो ।

त्यसबीचमा बेलुकी पाँच बजेतिर पाहुनाहरूले खाना खान थाले । तर फोटोग्राफरका लागि भने खानाको बन्दोबस्त नै थिएन । उनलाई खाना नखाइकनै लगातार फोटो खिचिरहन भनियो ।

भोको पेटमा दिनभर काम गरिरहँदा थाकेर गलेपछि उनले आराम तथा खानपिनका लागि २० मिनेटको समय दिन बेहुलासँग आग्रह गरे । तर उनको आफ्नै साथीसमेत रहेका ती बेहुलाले भने लगातार फोटो नखिचेमा सम्झौता बमोजिको अढाइ सय डलर रकम नदिने भन्दै खाना खाने समय नदिने जवाफ दिए ।

भोक, थकान र गर्मीका कारण लखतरान परेका फोटोग्राफर बेहुलाको जवाफले आगो भए । उनले तत्कालै बेहुलाका अगाडि क्यामेराका सबै तस्वीर डिलिट गरिदिए ।

बेहुलाले दुई शब्द बोल्न नपाउँदै फोटोग्राफर त्यहाँबाट हिँडिहाले । ती फोटोग्राफरले रेडिटमा राखेको यो घटना विवरणको पोस्ट भाइरल नै बनेको छ । प्रतिक्रिया दिनेहरुमध्ये कतिपयले बेहुलालाई गाली गरेका छन् भने कतिपयले त्यसरी फोटो डिलिट गर्नु हुँदैनथ्यो भन्ने मत प्रकट गरेका छन् ।

घटना भएको ठाउँ तथा व्यक्तिहरुको वास्तविक पहिचान भने खुलाइएको छैन । एजेन्सी

तपाईको प्रतिक्रिया

RELATED POSTS