सबैजसो जिन्स पाइन्टमा सानो खल्ती बनाइएको हुन्छ। आजभोलि आउने विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ।  सामान्यतया हामी यसमा सिक्का, चाबी, पेन ड्राइभ जस्ता साना सामान राख्छौं। तर, यो गोजी बनाउनुको खास प्रयोजन अर्कै थियो। यो खासमा ‘पकेट वाच (गोजी घडी)’ राख्न बनाइएको हो।

पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी बोक्थे। अनि त्यही घडी सहज तरिकाले राख्न भनेर जिन्स पाइन्टमा सानो गोजी बनाइएको लेभिसले जानकारी दिएको छ। सबैभन्दा पुरानो जिन्स कम्पनी लेभिसले आफ्नो ब्लगमा यसबारे जानकारी दिएको थियो। उक्त ब्लगका अनुसार विश्वकै पहिलो ‘ब्लु जिन्स’मा ४ गोजी थिएः एउटा पछाडि, दुइटा अगाडि र अगाडि नै एउटा सानो।

टुडे डटकमका अनुसार पहिले पहिले जिन्स विशेषगरी विभिन्न कारखाना, खानीहरूमा काम गर्ने कामदारले लगाउँथे। जिन्स बलियो हुने भएकाले उनीहरूका लागि उपयुक्त पनि मानिन्थ्यो। अनि ती कामदारले आफ्नो घडी राख्न यही गोजी प्रयोग गर्थे।

तर लेभिसले आफ्नो ब्लगमा अहिले यसको प्रयोग र औचित्य दुवै पूर्ण परिवर्तन भएको बताएको छ। अचेल जिन्समा यो गोजी डिजाइनकै रूपमा रहँदै आएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS