काठमाडौं। एक व्यक्तिले बीमाको पैसा हात पार्नको लागि यो हदसम्मको षड्यन्त्र रचे कि त्यसबारे थाहा पाउने जो कोही अचम्ममा परे । उनले रेलको लिकमा सुतेर आफ्ना दुवै खुट्टा गुमाए ताकि बिमाको रकम पाउन सकुन् । उनले एक–दुईवटा होइन १४ वटा बिमा पोलिसी लिएका थिए । उनका यी बिमाको कूल रकम २.४ मिलियन पाउण्ड थियो । यो रकम पाउनको लागि हदैसम्मको प्रयास गरेको भए पनि उनले कैयौं वर्ष पछिसम्म बिमाको एक रुपैयाँ पनि पाउन सकेनन् ।

डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार हंगेरीको निरसास्जारीको जिल्ला अदालत हालै स्यान्डर सिएस नामका ती व्यक्तिले बिमाको रकम नपाउने फैसला गरेको छ । अदालतले स्यान्डर बिमाको रकम र मुआब्जा पाउनकै लागि जानीजानी ट्रेनअगाडि सुतेर दुवै खुट्टा कटाएको ठहर गर्दै उनले पैसा नपाउने फैसला गरेको हो । २०१४ मा भएको यो घटनामा ५४ वर्षीय स्यान्डरले आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

स्यान्डर विगत ७ वर्षदेखि कृत्रिम खुट्टा र ह्वीलचेयरको सहारामा बाँचिरहेका छन् । दुवै खुट्टा गुमाएपछि स्यान्डरले बिमा कम्पनीहरुलाई भुक्तानीको लागि सम्पर्क गरे । तर, उनको षड्यन्त्रको खुलासा भएको छ । खासमा जुन दिन स्यान्डरले आफ्ना दुवै खुट्टा गुमाएका थिए त्यसको केही दिन अगाडि मात्र उनले एक–दुई नभइ पूरै १४ वटा उच्च जोखिमयुक्त जीवन बिमा पोलिसी लिएका थिए ।

बिमा कम्पनीहरुले उनले यसरी बिमा पोलिसी लिएको थाहा पाएपछि उनीहरुलाई शंका भयो । उनीहरुले दावी गरिएको रकम दिन ढिलाइ गरे । बिमा कम्पनीहरुले ढिलाइ गरेपछि स्यान्डर अदालत गए । अदालतमा स्यान्डरले आफू काँचको टुक्रामा चिप्लिएर ट्रेनअगाडि पुगेर दुर्घटना भएको दावी गरेका थिए । तर, ७ वर्षसम्म चलेको अनुसन्धानमा उनी जानीजानी ट्रेनअगाडि गएको खुलासा भएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS